
जनकपुरधाम : प्रदेश २ का प्रदेश सभा सदस्य एवं भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले पुजारीको हत्या भएको ठाउँमा हनुमान मन्दिर र पुजारीको शालिक निर्माण गर्ने घोषणा गरेका हुन्।
रौतहटबाट प्रदेश सांसदमा निर्वाचित भएका कृषि राज्यमन्त्री योगेन्द्र यादव र माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्र यादवले संयुक्त रूपमै पुजारीको गोली हानी हत्या गरिएको ठाउँ माधवनारायण नगरपालिका-२ खेसरहियामा हनुमान मन्दिर र शालिक निर्माण गर्ने घोषणा गरेका हुन्।
केही दिनअघि राति खाना खाइरहेको समयमा खेसारहियस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहलाई गोली हानी हत्या गरिएको थियो।
पुजारीको हत्या गरिएको ठाउँमा आज कृषि राज्यमन्त्री योगेन्द्र यादव र मेयर यादव पुगेर पुजारीको सम्मान स्वरूप उक्त ठाउँमा संयुक्त रूपमा हनुमान मन्दिर र उनको शालिक निर्माण गर्ने घोषणा गरेका हुन्।
जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका कृषि राज्यमन्त्री योगेन्द्र यादवले पुजारीको हत्या भएको ठाउँलाई आफूले सौन्दर्यकरण तथा संरक्षणका निमित्त प्रदेश सरकारसँग विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
पुजारीको हत्या भएको ठाउँलाई विकसित बनाउन र पर्यटकीय स्थलको रूपमा विकास गर्न आफू कुनै कसर बाँकी नराख्ने मन्त्री योगेन्द्र यादवले प्रतिबद्धता जनाए।