काठमाडौं : पाँच महिनापछि आजबाट अन्तर्राष्ट्रिय नियमित उडान खुला भएको छ। सरकारले भदौ १६ देखि शर्तसहित अन्तर्राष्ट्रियतर्फ नियमित र उद्धार उडान नियमित गर्ने निर्णय गरेको हो।
नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुने पहिलो दिन नेपाल वायु सेवा निगमको एक मात्र उडान तालिका रहेको छ। निगमको वाइड बडी जहाजले आज राति १:०० बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ। आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन। चार्टर्डतर्फ आज पाँच उडान हुनेछन्।
नेपाल एयरलाइन्सको जहाज बिहान गन्तव्यतर्फ उडिसकेको छ भने हिमालयको जहाज पनि उड्ने तयारीमा छन्। नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ। एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच दिनअघि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने मिति घोषणा गर्दै उडान तालिकासमेत सार्वजनिक गरिसकेको छ। तालिका अनुसार मलेसियाको क्वालालम्पुर, टर्कीको इस्तानबुल, कोरियाको सोल, चीनका छन्दु, गोन्जाओ र छोङ्चिन्, युएईको सारजाहा, दुबई, अबुधाबी, कतार, हङकङ, र जापानको नारिताबाट नियमित रूपमा काठमाडौंका उडान हुनेछन्।
नेपाल वायुसेवा निगमले जापान, युएई, मलेसिया, हङकङका लागि नियमित उडान भर्ने र हिमालय एयरलाइन्सले चीनको छोङ्चिन्, मलेसिया, अबुधाबीका लागि नियमित उडान भर्ने उडान समय तालिका छ।
त्यस्तै खुला गरिएका गन्तव्यबाट अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुले काठमाडौंका लागि उडान भर्ने छन्। जसमध्ये चीनका एयर चाइना र चाइना साउदर्न, कोरियन एयर, मालिन्दो, टर्किस एयरलाइन्स, क्याथे ड्रयागन, एयर अरेबिया, कतार एयर, फ्लाइ दुबई र मलेसियन एयरलाइन्स छन्।
यो महिना सरकारले २७ वटा चार्टर्ड उद्धार उडानमार्फत विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने उद्देश्यले अनुमति दिएको जनाएको छ। मंगलबार नेपाल वायुसेवा निगमले काठमाडौं-नारितातर्फ नियमित उडान गर्न लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। उडानको समय राती १ बजे छ।
सोमबार उद्धार उडानका लागि दोहा उडान गरिएका हिमालय र नेपाल वायुसेवा निगमको दुईवटा जहाज केही समयमै यात्रु लिएर काठमाडौं अवतरण हुन लागेको विमानस्थलले जनाएको छ।
पछिल्लो समय सरकारले गरेको निर्णय अनुसार दैनिक उद्धार र नियमित उडानमार्फत आठ सय जना यात्रुलाई सेवा दिइनेछ। सरकारले जारी गरेको सर्त अनुसार उडान बन्द गर्नुपरेको अवस्थामा जुनसुकै बेला पूर्व जानकारी दिइ अथवा नदिइ यी उडानहरु बन्द गरिनेछ।
यस्ता छन् शर्तहरु:
- उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रुहरु मात्र ल्याउन पाइने छ। पीसीआर नेगेटिभ भएको सुनिश्चितता गरीमात्र सम्बन्धित वायुसेवाले बोर्डिङ पास उपलव्ध गराउनुपर्ने छ।
- एउटै उडानबाट पीसीआर नेगेटिभ भएका सबै यात्रुहरु नेपाल आएपछि १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्नेछ। यी यात्रुहरुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड - १९ संकट व्यबस्थापन केन्द्र (एलसीसीएमसी) ले गर्नेछ। साथै यात्रुहरुले आफ्नो स्वास्थ्य स्थितिको जानकारी सम्बन्धित स्थानिय तह र स्थानीय तह कोभिड - १९ संकट व्यवस्थापन केन्द्रलाई गराउनुपर्नेछ।
- नियमित उडानमार्फत आउने सबै यात्रुले जहाज चढ्नुभन्दा ७२ घण्टाभित्रको आरटी-पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेबसाइट मा रहेको अनलाइन फर्म भरेर सो को बारकोड वा प्रिन्ट कपी साथमा लिई आउनुपर्नेछ। कुनै कारणवश त्यस्तो फर्म भर्न छुट भएको रहेछ भने सम्बन्धित वायुसेवाले अनबोर्ड गर्दाकै अवस्थामा त्यस्तो फारम यात्रुलाई उपलब्ध गराउनु पर्नेछ।
- एउटै उडानमा आरटी-पीसीआर गरेको र नगरेको यात्रुहरु मिसाएर ल्याउन पाइने छैन । कुनै वायुसेवाले मिसाएर ल्याएको पाइएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुहरुलाई सात दिन होटल क्वारेन्टाइनमा अनिवार्य राख्ने व्यवस्था गर्नुपर्नेछ।
- नियमित उडानमा आरटी-पीसीआर परिक्षण नगराएका, आरटी-पीसीआर पोजेटिभ भएका वा नेपाल सरकारले जारी गरेको अन्य शर्त वा आदेश पुरा नगरेका कुनै यात्रु लिएर आएको वा अन्य कुनै अनियमितता गरेको पाइएमा सम्बन्धित वायुसेवा संस्थालाई प्रचलित कानुन बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कारवाही गर्नेछ। साथै त्यसरी ल्याएका यात्रुको खर्च वायुसेवाले व्यहोर्नु पर्नेछ।
- कुटनैतिक नियोगमा कार्यरत कर्मचारीहरु, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधिहरु, संयुक्त राष्ट्र संघका नियोगहरुमा कार्यरत कर्मचारी र तिनका परिवार मात्र ल्याउन पाइनेछ। सम्बन्धित वायुसेवा बोर्डिङ पास दिदा परराष्ट्र मन्त्रालय, कन्सुलर विभागले जारी गरेको परिचय र पासपोर्ट समेत जाँच गर्नुपर्नेछ। कन्सुलर विभागले जारी गरेको परिचयपत्र नभएमा माथि उल्लेखित निकायले जारी गरेको परिचयपत्रलाई आधार लिन सकिनेछ।
- बुँदा ६ बमोजिम नेपाल आउनुपर्ने कुटनैतिक कर्मचारी, पदाधिकारी तथा तिनका परिवारको भिषाको हकमा अध्यागमन विभागले जारी गरेको निर्देशन अनुरुप हुनेछ।
- कूटनैतिक वा पदीय जिम्मेवारी सम्हाल्न पहिलो पटक नेपाल आउने व्यक्तिको हकमा निजको नियुक्ति पत्र र पासपोर्टको आधारमा जाँच गर्नुपर्नेछ।
- नेपाल आउने यात्रुको हकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्छ।
- अन्य विषय नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको निर्देशिका बमोजिम हुने छ।
- जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रबाट होटल क्वारेन्टाइनका लागि सूचिकृत होटलहरुको विवरण प्रयटन मन्त्रालयको वेबसाइट र जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटमा हेर्न सकिने छ।
- नेपाल सरकारबाट नियमित उडान रोक्ने गरी कुनै निर्णय भएमा संस्कृति, तथा नागरिक उड्डयन मन्त्रालयले पूर्व जानकारी दिइ वा नदिइ जुनसुकै बेला पनि उडान स्थगित गर्न सक्ने छ।
