![प्रदेश २ मा कोरोना संक्रमण भन्दा आत्महत्याबाट बढी मानिसको मृत्यु](https://pahilopost.com/assets/upload/contentthumb/State-210.jpg)
जनकपुरधाम : कोरोना संक्रमण रोकथामको लागि सरकारले चैत ११ गते लकडाउन लागू गर्यो। १२० दिनपछि लकडाउन अन्त्य गर्यो। तर संक्रमण बढ्दै गएसँगै विभिन्न जिल्लाहरुमा अहिले निषेधाज्ञा लागू गरिएको छ। तर संक्रमणको ग्राफ रोकिएको छैन।
प्रदेश २ को तथ्यांक हेर्दा लकडाउन सुरु भएदेखि हालसम्म कोरोना संक्रमणबाट भन्दा पनि आत्महत्याको कारणबाट बढी मानिसको मृत्यु भएको छ।
प्रदेश २ मा लकडाउनयता कोरोना संक्रमणबाट हालसम्म ९५ जनाको मृत्यु भइसकेको छ। यही समयमा यहाँ २ सय ७४ जनाले आत्महत्या गरेका छन्। गत चैत्र ११ गतेदेखि भदौ १६ गतेसम्म २ नम्बर प्रदेश प्रहरी कार्यालयमा दर्ता भएको विवरण अनुसार प्रदेश २ मा यस अवधिमा २ सय ७४ जनाले आत्महत्या गरेका हुन्।
आत्महत्या गर्नेमा वृद्धादेखि बालिकासम्म रहेका छन्। यस अवधिमा अपराधिक मुद्दा कम दर्ता भएपनि आत्महत्याका घटना भने लकडाउनको समयमा धेरै भएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक अंशु कुमार सिंह बताउँछन्।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले दिएको तथ्यांक अनुसार लकडाउन शुरु भएदेखि अहिलेसम्म सबै भन्दा बढी धनुषामा ५१ जनाले आत्महत्या गरेका छन्। यस्तै, सिरहामा ४७ जना, सर्लाहीमा ३५ जना, सप्तरीमा ३४ जना, बारामा ३१ जना, रौतहटमा ३० जना, पर्सामा २६ जना र महोत्तरीमा २० जनाले आत्महत्या गरेका छन्।
त्यस्तै, यस प्रदेशमा चैत ११ गतेदेखि भदौ १६ गतेसम्ममा ७ सय ९२ वटा घरेलु हिंसाका उजुरीहरु परेका छन्। हालसम्म प्रदेशको सबैभन्दा बढी धनुषाको १ सय ८१ जनाले घरेलु हिंसा सम्बन्धी प्रहरी कहाँ उजुरी दिएकोे प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, सप्तरीका ४४, सिरहाका १ सय ७, महोत्तरीका ४५, सर्लाहीका ७, रौतहटका १ सय ७, बाराका १ सय ६१ र पर्साका १ सय ३६ जनाले प्रहरी कार्यालयमा घरेलु हिंसा सम्बन्धी उजुरी दिएका छन्।
त्यस्तै, सप्तरीमा १८, सिरहामा २४, धनुषामा १७, महोत्तरीमा १७, सर्लाहीमा १७, रौतहटमा १४, बारामा १५ र पर्सामा १५ गरी १ सय ३७ वटा जबरजस्ती करणीका घटनाहरु घटेको प्रदेश प्रहरीले जनाएको छ।
प्रदेश २ मा जबरजस्ती करणी उद्योगका २७, बहुविवाह सम्बन्धी घटनाको २१, बालविवाह ४, अवैध गर्भपतन ५, बोक्सीको आरोप सम्बन्धी ८, बालयौन दूराचार १६ र अप्राकृतिक मैथुन सम्बन्धी ३ वटा उजुरीहरुको परेको प्रहरीले जानकारी दिएको छ।