जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले रौतहट घटनाका दोषीहरुलाई कडा भन्दा कडा सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
रौतहटको गरुडा र माधवनारायण नपामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारहरुसँगको भेटघाटमा मुख्यमन्त्री राउतले दोषी जो र जुन दर्जाको भए पनि सजाय भोग्नु पर्ने बताए। मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत समेत उपलब्ध गराउने घोषणा गरे।
गरुडाको जिङ्गडियामा हत्या भएको राम परिवार सङ्गको भेटमा उनले गरुडाघटना बारे सूक्ष्म छानबिनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षता उच्च स्तरीय छानबिन समिति गठन भइसकेको र समितिको प्रतिवेदनका आधारमा दोषीलाई कडा भन्दा कडा कारबाही गरिने उल्लेख गरे।
उक्त अवसरमा आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र कुमार यादवले दोषी प्रहरीहरुलाई निलम्बन गरेर कारबाही प्रक्रिया शुरु भइसकेको उल्लेख गर्दै न्याय पाउनेमा विश्वस्त रहन पीडित परिवारलाई आग्रह गरे।
यसैगरी, माधवनारायणमा हत्या भएको पुजारी राम साहको हत्या स्थल समेत पुगेका मुख्यमन्त्री राउतले बाबाको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गराउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा आन्तरिक मामिलामन्त्री यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न आफूहरु प्रतिबद्ध रहेको बताए। उक्त अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले अपराधलाई राजनीतिकरण नगर्न विपक्षीलाई चेतावनी समेत दिए।
उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले आजै खेसरिया बजारमा मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीले संयुक्त रुपमा प्रहरी चौकीको भवन शिलान्यास गर्नुका साथै पोखरी सौन्दर्यीकरणको शिलान्यास समेत गरे।
शिलान्यास कार्यक्रममा प्रदेस सभा सदस्य शेख अबुल कलाम, राम किसोर यादव, बाबुलाल साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, स्थानीय तहका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको सहभागिता रहेको थियो।