जनकपुरधाम : कोरोना संक्रमणका कारण अन्य रोगका बिरामीहरु उपचार पाउन समस्या भई रहेको समयमा स्कुल अफ डेमोक्रेसी कोभिड-१९ क्विक रेस्पोन्स टिमले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
स्कुल अफ डेमोक्रेसीले कोरोना महामारीका कारण अन्य प्रकृतिका बिरामीहरुले उपचार पाउन गाह्रो परिरहेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ धर्मवान टोलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। शनिवार वडा नम्बर १ मा आयोजना गरिएको स्वास्थ्य शिविरमा एक सय ४७ जना बिरामीले उपचार सेवा पाएको स्कुल अफ डेमोक्रेसीका राकेश बिक्रम साहले जानकारी दिए। स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीहरु उपचार सेवा पाएको उनले बताए। यसका साथै बिरामीहरुलाई जाँच गरेर औषधीहरु समेत उपलब्ध गराइएको थियो।
निःशुल्क स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउन सोही स्थलमा ल्याबको समेत व्यवस्था गरिएको थियो। यो अभियान प्रत्येक साता शनिवार निरन्तर चलि रहने साहले जानकारी दिए। उनले अलग अलग वडामा प्रत्येक साता निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने बताए।
निःशुल्क स्वास्थ्य शिविरमा डा शरद यादव, बिपिन यादव, अभिजित साह, दाँत मुख विशेषज्ञ डा सज्जन ठाकुर, गाइनोका डा मनिषा भारद्वाज, अर्थोका डा कुमार सम्भव, अमित रन्जन मिश्रा, साइकेट्रीक रबिन झा, बाल रोग विशेषज्ञ विकास कुमार साह, नाक कान घाँटी विशेषज्ञ सन्तोष साह, सर्जन बिजय कुमा साह, फिजियोथेरेपिष्ट राजु साहलगायतका चिकित्सकहरुले बिरामीहरुलाई उपचार गरेका थिए।