PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

काँग्रेस लोकतन्त्रको गुरुकुल हो तर देउवाले भताभुंग पार्न खोजे : गुरुराज घिमिरे



काँग्रेस लोकतन्त्रको गुरुकुल हो तर देउवाले भताभुंग पार्न खोजे : गुरुराज घिमिरे

काठमाडौं : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले काँग्रेस लोकतन्त्रको गुरुकुल भएको बताएका छन्।

घिमिरेले पार्टी अरु दलका लागि लोकतन्त्रको गुरुकुल र पाठशाला भए पनि वर्तमान सभापति शेरबहादुर देउवाको व्यवहारले भने त्यो नदेखाएको दाबी गरे।

'काँग्रेस अरुको लागि गुरुकुल हो। पाठशाला हो,' पहिलोपोस्टसँग उनले भने, 'सिद्धान्त ठीकठाक छ। तर नेतृत्वको व्यवहारले त्यस्तो देखाउँदैन।'

सभापति देउवाले महाधिवेशन नजिकिँदा अवैधानिक कदममरु चालेर लोकतन्त्रको जग भत्काउने प्रयास गरेको दाबी उनले गरे।

भने, 'सभापतिले त्यस्तो गर्न मिल्दैन नि। विवेकशीलताको आधारमा केही गरेको छैन। लोकतन्त्र फलाक्ने गीत मात्र हैन। यसले गणतन्त्रलाई नै खतरामा पार्न सक्छ।'

पछिल्लो पटक देउवाले आफ्ना पक्षकालाई क्रियाशिल सदस्य बाँड्नेदेखि विभागमा जथाभावी पद दिएको भन्दै देउवाइतरका नेताहरु रुष्ट बनेका छन्।

त्यसयता देउवाइतरका नेताहरु नियमित छलफलमा जुटेका छन्। देउवाको कदम सच्याउन माग गर्दै नेताहरुले अल्टिमेटमसमेत बुझाउने तयारी गरेका छन्। यसका लागि उनीहरुले शनिवार बेविनारमा छलफलसमेत गरेका थिए।

'बैठकले केही सुझावहरु दिएको छ। विभिन्न घटनाहरु आएका छन्। जुन विधि विधान मिचिएर आएका छन्। त्यसलाई सार्वजनिक गर्ने कुरा पनि भयो,' छलफलबारे घिमिरेले भने, 'एक हप्ते अल्टिमेटम दिने भन्न कुरा छ। दुई तीन दिनमा यो प्रक्रिया पुरा होला।'

केन्द्रीय समितिमा बहुमतबाट विभाग गठन गरेदेखि देउवासँग असन्तुष्टि जनाउँदै आएको पौडेल पक्षका कारण विभाग गठन पुरा भएको छैन।

घिमिरेले विभाग गठन पुरै अवैधानिक भएकोले रामचन्द्र पौडेल पक्षकाले नाम नदिएको स्पष्ट पारे। 'महाधिवेशन नजिकिँदा गठन भएको विभागको कुनै औचित्य छैन। यो पहिलो त अवैधानिक छ। दोस्रो प्रोटोकल मिचेर जथाभावी पद बाँडिएको छ,' उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell