जनकपुरधाम : धनुषामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको समयावधि पुनः एक हप्ताका लागि थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरि कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयावधि भदौ २८ गते राति १२ बजेसम्मका लागि थप गरिएको जानकारी दिए।
प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभरि निषेधाज्ञाको समयावधि थपिएको प्रजिअ भट्टराईले जानकारी दिए।
खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूधडेरी, हार्डवेयर, कपडा पसल लगायतका पसल व्यवसाय सञ्चालकले ग्राहकहरुको तापक्रम नाप्ने, २ मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क स्यानिटाइजरको प्रयोग गर्ने, नेपाल सरकारबाट जारी भएको जनस्वास्थ्य र सुरक्षा मापदण्ड लगायतका अन्य मापदण्डहरुको समेत पालना गरी अर्को सूचना नभएसम्मका लागि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ। सो को अनुगमन उद्योग वाणिज्य संघले गरी दैनिक विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने र अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु शनिवार पूर्ण रुपमा बन्द गर्ने निर्णय समेत गरिएको हो।
त्यस्तै, होटेल तथा रेस्टुरेन्टको हकमा पीसीआर नेगेटिभ भएका व्यक्तिमार्फत मात्र अनलाइन अर्डरका होम डेलिभरी तथा ग्राहक स्वयं आएर प्याकिङ गरी लैजान पाउने र टेकअवे विधिलाई प्रयोग गरी सेवा सञ्चालन गर्न आग्रह गर्नुका साथै होटेलमा भेटघाट तथा जमघट हुनेगरी भिडभाड नगर्न निर्देशन समेत दिइएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सैलुन, ब्युटीपार्लर, हटिया, सब्जीमण्डी, जिमखाना, सिनेमा हल, पार्टी प्यालेस तथा सपिङ मलहरु बन्द राख्न सूचना मार्फत जानकारी गराएको छ। साथै जिल्लाभरका कुनैपनि स्थानमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल नगर्न तथा १० वर्ष भन्दा मुनिका बालबालिका र ६० वर्ष भन्दा माथिका व्यक्तिलाई कुनैपनि कामले घर बाहिर ननिस्कन आग्रह गरेको छ।
सार्वजनिक तथा निजी सवारी साधन अर्को सूचना नभएसम्मका लागि सञ्चालन नगर्ने र मोटरसाइकल तथा सिटी रिक्साको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्रणाली अनुसार यातायात मापदण्ड पालना गरी बढिमा २ जना यात्रु मात्र राख्न निर्देशन दिइएको छ।
व्यापारीले व्यवसाय सञ्चालन गर्दा पञ्जा, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्ने तथा ग्राहकलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न प्रजिअ भट्टराईले आग्रह गरेका छन्। प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
धनुषामा आइतवारसम्म १ हजार ७ सय ३७ जना संक्रमित भइसकेका छन् भने एक भारतीय सहित १३ जनाको मृत्यु समेत भइसकेको छ। जिल्लाका ९ सय २१ जना संक्रमितहरु डिस्चार्ज भई घर फर्किसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या ८ सय १६ रहेको छ।