जनकपुरधाम : प्रदेश २ यो वर्ष गत वर्षभन्दा बढी धान उत्पादन हुने प्रदेशको कृषि विकास निर्देशनालयले आंकलन गरेको छ। निर्देशनालयका निर्देशक डा. रतनकुमार झाले यस वर्ष गत वर्षभन्दा १५ प्रतिशत बढी धान उत्पादन हुने दाबी गरेका हुन्। यो वर्ष पहिला भन्दा बढी क्षेत्रफलमा धान रोपाइ भएको र समयमै नै पर्याप्त वर्षा भएकाले धान उत्पादनमा वृद्धि हुने उनले बताए।
झाले भने ‘यो वर्ष समयमै पर्याप्त मात्रामा वर्षा भयो। खेतीयोग्य ९९ प्रतिशत क्षेत्रफलमा धान रोपाइ पनि भयो। धानमा कीरा वा अन्य रोगको संक्रमण पनि अन्य वर्ष भन्दा कम देखिएको छ। त्यसकारण गएको वर्षभन्दा यो वर्ष धान उत्पादन १५ प्रतिशतसम्म बढ्ने अनुमान गरेका छौं।’
प्रदेशमा यो करिब वर्ष ४ लाख हेक्टर जमिनमा धान खेती भएको छ। गत वर्ष ३ लाख ५७ हजार हेक्टर जमिनमा मात्र धान खेती भएको झाले बताए।
‘प्रदेश २ मा ७० प्रतिशत जमिनमा आकाशे पानीको भरमा धानखेती हुन्छ,’ उनले भने, ‘त्यसैले आउँदो हप्तासम्म पनि परेन भने धान उत्पादनको अनुमानित लक्ष्य हासिल नहुन पनि सक्छ।’
यस्तै, कृषि अनुसन्धान निर्देशनालय प्रदेश २ का निर्देशक डा. रामवरण यादवले पनि गतवर्ष भन्दा यो वर्ष धान उत्पादन करिब १५ प्रतिशत बढ्ने आंकलन गरेका छन्। उनका अनुसार गएको वर्ष प्रति हेक्टर ३ दशमलव ५ मेट्रिक टन धान उत्पादन भएको थियो। तर यो वर्ष प्रति हेक्टर ३ दशमलव ७ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। यस्तै कुनै जिल्लामा प्रतिहेक्टर ४ मेट्रिक टनसम्म उत्पादन पनि हुन सक्ने उनको भनाइ छ। प्रदेश २ मा देशभरमा सबैभन्दा बढी धान उत्पादन हुँदै आएको छ।
अन्य जिल्लाको तुलनामा धनुषा प्रदेशकै अब्बल
प्रदेश २ का ८ जिल्लामध्ये सबैभन्दा बढी धान उत्पादन धनुषामा हुँदै आएको छ। गएको वर्ष धनुषामा प्रति हेक्टर ४ मेट्रिक टन धान उत्पादन भएको थियो। गतवर्ष चैते र असारे गरी जिल्लामा करीब ६५ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो।
‘अन्य जिल्लाको तुलनामा धनुषामा सिँचाइको उपलब्धता पनि बढी भएकोले बढी धान उत्पादन हुने गर्छ। यस जिल्लामा धान खेतीका लागि उर्वर भूमि पनि छ’ निर्देशक यादवले भने ‘सीमा नाकासँग जोडिएकाले जिल्लामा मल अभाव हुनेबित्तिकै भारतबाट ल्याएर किसानले समयमै मल छर्छन्।’
धनुषामा कमला, नक्टाझिज र सिर्सिया गरी तीनओटा सिँचाइ आयोजना सञ्चालनमा रहेकोले पनि बढी उत्पादन हुने गरेको यादव बताउँछन्। अन्य जिल्लामा प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिक टन धान उत्पादन भए पनि धनुषामा भने कम्तीमा ३ दशमलव ७ मेट्रिक टन उत्पादन हुने गरेको यादवले बताए।