ज्वरोले थलिएर एक दिने बिदामा बसिन् शशी पौड्याल। भोलिपल्ट बिहान कार्यालय जाने तयारी गर्दै थिइन्। मेसेज आयो – ‘हाम्रो बैंकको क्रेडिट अफिसरमा कोरोना देखियो।‘
शशीको डर त ह्वात्तै चुलियो। उनले आफ्नै निधार छामिन्। लामो सास फेरिन्। अनि भनिन् – ‘होइन। मलाई त संक्रमण हुनै सक्दैन। भाइरल ज्वरो र खोकी मात्र हो।‘
सँगै बस्ने अनि एउटै बैंकमा काम गर्ने रोजिना श्रेष्ठले सही थापिन्। किनकि सधैं सँगै हिँडडुल गर्दा पनि रोजिनालाई न ज्वरो थियो न खोकी नै। एकअर्कालाई ढुक्क महसुस गराएर कार्यालय पुगे उनीहरू।
सबैमा एक किसिमको सन्त्रास छाएको थियो। तर, एकदिन अघिल्लो दिन मात्र क्रेडिट अफिसरसँगै परीक्षण गराएका ३ कर्मचारीको रिपोर्ट नेगेटिभ आउनुले आशावादी हुने ठाउँ दिएको थियो।
कार्यालय समयमा सेवाग्राहीसँग सामाजिक दूरी कायम गरेका थिए। मास्क, स्यानिटाइजर र पञ्जाको प्रयोग नियमित गरेका थिए। कन्ट्याक ट्रेसिङमा परे पनि थपमा कोरोना भाइरस संक्रमण नदेखिने आशा र कामना गरे उनीहरूले।
सबैको परीक्षण आवश्यक चाहिँ थियो। किनकि महामारी र लकडाउन बीच पनि करिब २० जना कर्मचारी नियमित सेवामा खटिएका थिए। तर, कन्ट्याक्ट ट्रेसिङ एक साता पछि मात्र हुने जानकारी आयो। बैंकले कुरेर बसेन। बरु, सोही दिन सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरायो।
‘म ढुक्क थिएँ मलाई संक्रमण छैन भन्नेमा। सहकर्मीलाई चाहिँ कसरी सर्यो होला। उहाँबाट अरु कतिजनामा सर्यो होला? भन्ने प्रश्न चाहिँ मनमा खेलिरह्यो,’ शशीले सुनाइन्।
भोलिपल्ट शनिवार। बिदाको दिन। केही आराम अनि राहतको सास फेर्नुअघि खबर आयो – गार्ड दाइसहित १२ जनामा भाइरस देखियो। संक्रमितको सूचीमा थिए शशी र रोजिना पनि।
त्यसपछि बैंक ‘सिल।’
प्राय कर्मचारीमा लक्षण नदेखिएकाले ‘होम आइसोलेसन’मा बस्ने निर्देशन दिइएको थियो। तर, सम्भव भएन। किनकि धेरैजना अन्य ठाउँबाट सरुवा भएर भैरहवा ब्रान्चमा खटिएकाहरू थिए। आफ्नो घरमा थिएनन्। संक्रमण पुष्टि भएको थाहा पाए पछि उनीहरूका घरबेटीको एउटै प्रश्न : ‘आइसोलेसनमा कहिले जाने?’
सायद संक्रमण फैलने डर थियो।
तर, जाने कहाँ?
बैंकले निकै पहल गर्दा पनि दुई दिनसम्म कुनै होटल तयार भएनन्, आइसोलेसन बनाउनका लागि।
शशी र रोजिनाका लागि भने घरमै वातावरण सहज थियो। तर, सोमवार अर्थात् भदौ १ गते संक्रमित सबै कर्मचारीलाई बैंकले स्थानीय होटलमा लग्यो।
‘मलाई त केही दिन अघि देखि नै लक्षण देखिएको थियो। तर, होटलमा पुगे पछि चाहिँ संक्रमित भएको महसुस गरेँ। डर बढ्यो। आत्तिएँ। घर जानै पो नपाइने हो कि जस्तो भयो,’ रित्तो कोठामा एक्लै हुँदाको अनुभव सुनाइन् शशीले।
त्यो रित्तोपन भरिदिए टाढा रहेर पनि नजिक रहेका परिवारले। काठमाडौंमा रहेका आमा बुबा अनि श्रीमान्। जर्मनीमा रहेका दाजुले हौसला दिए। फोनमा सधैंभन्दा बढी समय बिताए। सबैकुरा सामान्य छ भन्ने आभाष दिलाए।
कोरोना भाइरसका कारण स्वास्थ्यस्थिति गम्भीर नबन्ला तर मानसिक रुपमा मान्छे गल्ने र तनावग्रस्त हुने रहेछ भन्ने बुझिन् उनले। भनिन्,’मानिसहरू कोरोना केही होइन भन्छन्। तर लक्षण नै नदेखिए पनि मनोवैज्ञानिक असर त पर्छ नै। जसलाई कम गर्न परिवार वा आफन्त वा वरपर भएका मानिसहरूको साथ अति आवश्यक रहेछ।‘
आइसोलेसनमा एक्लै रहँदा शशीले खुब सोचिन् : संक्रमण मुक्त कहिले हुने होला? अनि आखिर बैंकमा संक्रमण फैलियो चाहिँ कसरी?
उनीसँगै सबैको ठम्याइ एउटै रह्यो।
२०७७ साल, साउन १८ गते। जनै पूर्णिमाको अघिल्लो दिन। भैरहवास्थित एक बैंकमा मानिसहरूको ठूलो भिड थियो। हरेक महिना भारतीय सेनाका अवकाश प्राप्तहरूलाई सोही बैंकमार्फत् पेन्सन आउँछ। त्यस दिन पेन्सन लिन आउने लाममा वृद्धहरू बढी थिए। भोलिपल्ट सार्वजनिक बिदा भएका कारण करिब साढे ३ सय जना एकै दिन आए।
बैंकको सुरक्षाकर्मीलाई मात्र त्यो भिड नियन्त्रण हम्मेहम्मे पर्यो। त्यसैले छिनछिनमा प्रहरी समेत आएका थिए। ‘सामाजिक दूरी’ कम गर्ने निर्देशन दिँइरहेका थिए। उमेरका कारण कान कम सुन्ने, आँखा धुमिल देख्नेहरू ती सेवाग्राही केहीबेर संयमित हुन्थे। फेरि उस्तै चहल पहल। हेर्दाहेर्दै लाइन बिग्रिन्थ्यो। गफ गर्दागर्दै नाकको मास्क चिउँडोमा पुगिसकेको हुन्थ्यो।
त्यसको दुई साता नबित्दै हो सोही बैंकका ४ जना कर्मचारीमा कोरोना भाइरस संक्रमणको परीक्षण भएको।
साउन २९ गते ३ जनाको रिपोर्ट आयो। नेगेटिभ। परीक्षणका लागि सँगै स्वाब संकलन गरेकोमध्य एकको रिपोर्ट नआउनु शंकास्पद बन्यो।
शशीका लागि पनि। तर, उनी स्वयं आफ्ना साथीहरूसँग आइसोलेसनमा पुगिन्। अथक काममा खट्ने उनीहरूका लागि १४ दिन लामो त्यो बसाइ झन् पट्यारलाग्दो बन्यो।
‘अरु संक्रमितलाई जस्तो पीडा थिएन। तर मान्छे मानसिक रुपमा ढुक्क नभएसम्म अवस्था सहज नबन्ने रहेछ’, उनले सुनाइन्,’कोरोना यति त्रासदीपूर्ण बनेको छ कि ढुक्क हुन समाजले पनि दिँदैन।‘
कोठामा बस्दा बस्दा गुम्सिएका उनीहरू बरण्डामा निस्कँदा समेत छिमेकीहरूले स्थानीय तहमा गुनासो पोखेछन्। खबर होटलसम्म पुग्यो। उनीहरूलाई कोठामा रहन निर्देशन दिइयो।
‘संक्रमित भने पछि अर्कै ग्रहबाट आएको सोच्ने धेरै हुँदा रहेछन्।’
धन्न कोठामा रहँदा पनि ‘कस्ट्युमर’ सर्भिसमा जुटिन् उनी। आवश्यक जानकारी दिइन्। आपत्कालीन सेवाका लागि नजिकका शाखाहरूमा सम्पर्क गर्ने, ग्राहकलाई बुझाउने गरिन्। खाली हुँदा सामाजिक सञ्जालमा र पारिवारसँग समय बिताइन्।
समूहमा सबैको दोस्रो रिपोर्ट नै नेगेटिभ आयो। आइसोलेसन बसाइको १४ औं दिन घर फर्किए सबै। १५ औं दिन काममा।
संक्रमणमुक्त हुनु भनेको पुन: जीवन जित्नु रहेछ। समाजले कोरोना भाइरस संक्रमितलाई हेर्ने नजरभन्दा माथि उठ्नु रहेछ। त्यसैले वरपरको समाजले जे गर्छ त्यही दोहोर्याउने पक्षमा छैनन् शशी अनि उनका साथीहरू पनि।
‘मलाई होटलको बन्द कोठाबाट बाहिर हेर्दामात्र मानिसहरू निस्किरहेका छन्। भिड गरिरहेका छन् भन्ने लाग्यो,’ उनको बोलीमा आत्मालोचना सुनियो, ’आखिर केही दिन अघिसम्म त म पनि त्यही भिडमा मिसिएको हुन्थेँ। कहिले तरकारी किन्न। कहिले अन्य सामान किन्न।'
संक्रमण देखिनु अघि आफूहरूले ग्राहकसँग कायम गरेको जस्तै दूरी सहकर्मीसँग पनि कायम राख्न प्रतिवद्ध छिन् उनी। देशभरका खटिएका अन्य बैंकर्सलाई पनि उस्तै सुझाव दिन्छिन् उनी। जो घण्टौं एउटै ग्राहकसँग ‘डिल’ गर्न बाध्य हुन्छन्। सयौं ग्राहकसँग डिल गरेका सहकर्मीसँग समय साट्छन्। कहिले काहीँ जिम्मेवारी पनि बाँड्छन्।
'आफूसँगै काम गर्ने, बस्ने, खाने, हिँड्ने सबै संक्रमित हुन् भनेर जोगिनु पर्ने रहेछ। आफूमा संक्रमण छ भन्ने सोचेर आफ्नालाई जोगाउनु पर्छ रहेछ,‘ उनले भनिन्।
जोगिनु र जोगाउनुको अर्थ छि:छि: दुरदुर गर्नु होइन। मास्क, पञ्जा र स्यानिटाइजरको उचित प्रयोग। भिडभाडमा नजाने। आफू पनि भिडभाड नबनाउने। किनकि उनले बुझिन् - ‘कोरोना भाइरस बाजा बजाएर आउँदैन।‘
हाल शशी कार्यरत् बैंकका कर्मचारी एकएक दिन आलोपालो गर्छन्। खाजा घरबाटै बोकेर आउँछन्। कोरोना संक्रमण पुन: फैलन नदिन प्रतिवद्ध छन् सबै। उनीहरूलाई लागेको थियो – सबै कर्मचारीमा संक्रमण देखिए पछि सेवाग्राही बिरलै आउलान्।
तर, सेवाग्राहीलाई त बैंक खुल्नु नै राहत बनेको छ। कोही सोधपुछका लागि आउँछन्। कोही दुई दिनको अन्तरालमा ५/५ हजार डिपोजिट गर्न। घरमा राखे हराउने डर भन्दै डिपोजिट गर्न आउनेहरू पनि हुन्छन्।
अनि यो महिना पनि उस्तै गरी आए बुढा पेन्सनरहरू। हातेमालो गर्दै। यो पटक सुरक्षाकर्मी केही कडा प्रस्तुत भए पछि भने लाइन मिचेनन्। नाकको मास्क चिउँडोमा झारेनन्।