जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको चुनौतीलाई स्वास्थ्य संस्थाहरुको सुधार गर्ने अवसरको रुपमा प्रयोग गर्न प्रदेशस्थित अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुलाई निर्देशन दिएका छन्।
अस्पतालहरुको वर्तमान अवस्था र आगामी दिनहरुमा गर्नु पर्ने सुधारबारे छलफल गर्ने उद्देश्यका साथ मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मेडिकल सुपरिटेन्डेन्टहरुसहितको प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन्।
उनले अस्पतालको सुधारका लागि प्रदेश सरकार स्थापनाकालदेखि नै प्रयासरत रहे पनि पछिल्लो समयमा कोरोना महामारीले थप सुधारको आवश्यकता देखाएको हुँदा त्यसै अनुरुप प्रदेश सरकार अघि बढेको स्पष्ट पारे। उनले गत आर्थिक वर्षमा प्रदेश सरकारले अस्पतालको सुधारका लागि पठाएको रकम सदुपयोग हुन नसकेको उल्लेख गरे। चालु आवमा पठाइएको रकमको सत प्रतिशत सदुपयोग गर्न र थप आवश्यक सुधारबारे सुझाव दिन आग्रह समेत गरे।
मुख्मन्त्री राउतले भने, ‘हाम्रो प्रदेशमा स्वास्थ्य संस्थाहरुको अवस्था विगतदेखि नै दयनीय छ। हामी सुधारका प्रयासहरु थालेका छौँ, अहिलेको कोरोना महामारी चुनौतीको रुपमा रहे पनि स्वास्थ्य संस्थाहरुको सुधारको लागि यसलाई हामीले अवसरको रुपमा प्रयोग गर्नु पर्दछ।’
कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्दै राउतले अग्रणी भूमिकामा रहेका स्वास्थ्यकर्मी चिकित्सकहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरे।
कार्यक्रममा सामाजिक विकासमन्त्री नवल किशोर साहले अस्पतालहरुको सुधारमा प्रदेश सरकार हरसम्भव लगानी गर्न तयार रहेको उल्लेख गर्दै कोरोना महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा संघीय सांसद एवं विज्ञ समूहका सदस्य डा सुरेन्द्र यादवले अस्पतालहरुमा रहेको स्रोत साधनहरुलाई अधिकतम प्रयोग गर्न सुझाव दिए।
कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराज, भारदह अस्पताल, लहान अस्पताल, सिरहा अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम, जलेश्वर अस्पताल, बर्दिवास अस्पताल, मलंगवा अस्पताल, चन्द्रपुर अस्पताल, कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्टहरुले अस्पतालको वर्तमान अवस्था र आगामी दिनमा गर्नु पर्ने सुधारहरु बारे प्रस्तुति गरेका थिए।