PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विपीको आदर्श र बरालिएको अहिलेको काँग्रेस



विपीको आदर्श र बरालिएको अहिलेको काँग्रेस

  • ताराप्रसाद ओली

जननेता विपी कोइराला नेपाली काँग्रेसका मात्र नेता होइनन्, समग्र नेपालीकै प्रिय र आदर्श नेता हुन्। दक्षिण एसियामा बेग्लै पहिचान बनाएका अग्लो उचाइका नेता हुन्। नेपालमा लोकतन्त्रको स्थापना र जनाधिकारका लागि संघर्ष गरेका स्वच्छ छविका दागरहित नेता हुन्। नेपाली राजनीति र साहित्य क्षेत्रमा समानान्तर योगदान पुर्‍याएका कोइराला नेपालमा प्रजातन्त्रको जग बसाउने अग्रणी व्यक्तित्व हुन्। उनी नेपाल र नेपालीका लागि गर्व गर्न लायक नेता हुन्।

विपीको देहावसानपछि नेपालको राजनीतिमा अनेकन उतारचढाव आइसकेका छन्, ऐतिहासिक र युगान्तकारी परिवर्तनहरु भएका छन्। शाहवंशीय राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। एकतात्मक राज्य व्यवस्थाको ठाउँमा संघीय प्रणालीको शुरुवात भएको छ, नेपाल हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष राज्य घोषित भइसकेको छ। परिवर्तनका दौरान बागमतिमा धेरै पानी बगिसकेको छ, राजनीतिमा नयाँ नयाँ नेतृत्वको उदय भएको छ। तर विपी विचार र आर्दशको सान्दर्भिकता झन बढ्दै गइरहेको छ। विपी कोइरालाको १०७ औँ जन्मजयन्ती मनाइरहदा विपीले अंगालेको बाटो र विचारको बारेमा चर्चा भएको छ। यो अवसरमा उनी आवद्ध पार्टी कांग्रेसले केही सानातिना कार्यक्रमहरु गरेर कर्मकाण्ड पुरा गरेको छ, कांग्रेसका नेता कार्यकर्ताहरु सञ्चार माध्यम र सामाजिक सञ्जालमा विपीले नेपाली राजनीतिमा पुर्‍याएको योगदान बारे चर्चा, परिचर्चा गरिरहेका छन्। कांग्रेसजनहरुले विपीको विचार, आदर्श र योगदानको बारेमा बखान गरिरहँदा स्वयं कांग्रेस आज कहाँ छ? विपी कोइरालाले देखाएको बाटोमा कांग्रेस हिडिरहेको छ कि छैन्? यो आलेख यिनै कुराहरुमा केन्द्रित छ।

विपी को पालाको कांग्रेस र अहिलेको कांग्रेस

विपी कोइरालाको कांग्रेस जनताको प्रिय पार्टी थियो, जनताको दिल दिमाग, मन मस्तिष्कमा डेरा जमाएको कांग्रेस थियो। कांग्रेसप्रति जनताको आकर्षण थियो, भरोसा थियो, आस्था थियो, आशा थियो। दुई तिहाईको प्रचण्ड बहुमत सहितको विशाल पार्टी थियो। नेपाली राजनीतिको मियो पार्टी थियो। विपी व्यक्तित्व अग्लो थियो, अन्तर्राष्ट्रिय मञ्चमा बेग्लै पहिचान थियो। विपीको लोकप्रियता देखेर तत्कालिन राजा महाराजाहरुलाई खपि नसक्नु भएको थियो। नेपाली राजनीतिमा कांग्रेसको छुट्टै रापताप थियो। राणा शासनको अन्त्य गर्दै उदाएको कांग्रेसले २०१५ सालमा भएको आम निर्वाचनमा एक्लैले दुई तिहाई मत पाएको थियो, १०९ मध्ये ७४ सिट प्राप्त गरेको थियो।

अहिलेको कांग्रेस पार्टीको चमक हराएको छ, जनतासँग सम्वाद टुटेको छ। नागरिकसँगको सम्बन्ध चिसिएको छ। मधेश कांग्रेससँग रिसाएको छ, पहाड चिढिएको छ, हिमाल ठुस्केर बसेको छ। गत निर्वाचनमा कांग्रेसले मधेशमा हावा खायो, हिमाल पहाडमा धुलो चाट्न पुग्यो। अहिले दुई तिहाइको नजिकमा कम्युनिस्ट छन्, मधेशमा क्षेत्रीय पार्टीहरुको बोलवाला छ। जनताले कांग्रेसलाई सजाय दिएका छन्, प्रतिपक्षको रुपमा सडकमा पठाएका छन्। दलित, जनजाति, गरिब, किसानहरु कांग्रेससँग अंकमाल गर्न आएका छैनन्। विपीको पालामा दुई तिहाइ बहुमतमा रहेको पार्टी देउवाको पालामा आइपुग्दा दुइ तिहाइको अल्पमतमा पुगेको छ। अझै पनि जनताको कांग्रेसप्रति गुनासो छ, शंका छ, जनताको अविश्वास छ। कांग्रेस कस्तो पार्टी, कसको पार्टी भन्ने बहसको थालनी भएको छ।

कांग्रेस र राष्ट्रिय मेलमिलाप नीति

समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता, औचित्यता र आवश्यकता आजका दिनमा पनि उत्तिकै छ। हरेक कांग्रेसीहरुको जिब्रोमा विपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति झुण्डिएको छ, भाषणको लागि मञ्च पाएमा कांग्रेसजनहरु मेलमिलाप नीतिको बारेमा चर्चा गर्न छुटाउँदैनन्। तर राष्ट्रिय मेलमिलाप नीतिको चर्चा गर्ने कांग्रेस पार्टीभित्र नै मेलमिलाप छैन। कांग्रेसभित्र चरम गुटबन्दी छ, व्यक्तिवाद छ। पार्टी अहिले नातावाद, कृपावाद र चाकडीवादमा निर्लिप्त छ। पद प्राप्तिको लागि, अवसर प्राप्तिको लागि चर्को होडबाजी छ, एक अर्कालाई हिलो छ्याप्ने प्रवृत्ति छ।

कांग्रेसको यो हाल हुनुका पछाडि कांग्रेसका नेता, कार्यकर्ताको हैसियत अनुसार उत्तिकै भूमिका छ, तर कोही पनि जिम्मेवारी लिन तयार छैनन्। पार्टी सभापतिको सिंहासनमा बसेका स्वयं सभापति शेरबहादुर देउवा समेत कांग्रेस यो हविगत र पराजयको जवाफदेहिता बहन गर्न तयार छैनन्। नेताहरुले अरुतिर नै औँला ठड्याइरहेका छन्, चोरहरुको बीचमा साधु बन्ने गज्जबको प्रतिस्पर्धा चलिरहेको छ। कांग्रेसका भातृसंस्थाहरु पुर्ण छैनन्, सक्रिय छैनन्, जीवन्त छैनन्। कांग्रेसभित्र नै मेलमिलाप छैन, जुन पार्टीभित्र एकता नै छैन त्यो पार्टीले राष्ट्रिय मेलमिलापको चर्चा परिचर्चा गरेको सुहाँउदैन। सहमति, सहकार्य र एकताका नारा केवल चिया गफका विषयमा सिमित हुन थालेका छन्।

कमजोर बन्दै गएको आन्तरिक लोकतन्त्र

विपी कोइरालाको लोकतन्त्रप्रति आस्था थियो, विश्वास थियो। प्रतिस्पर्धात्मक राजनीतिप्रति लगाव थियो। राजनीति सही दिशामा रहनका लागि प्रतिपक्ष पनि चाहिन्छ भन्ने कोइरालाको बुझाई थियो। स्वयं कोइराला पनि नेतृत्वमा निर्वाचित भएर नै आउन चाहे। आफ्नो विरुद्धमा प्रतिस्पर्धा गर्न प्रोत्साहित गरे, आफैँले उम्मेदवार खडा गरे। उ बेला विपीले डा. भुदेव राईलाई प्रतिस्पर्धा गर्न लगाएका थिए, प्रजातन्त्रको जग बसाउनको लागि यो महत्वपूर्ण कदम थियो।

अहिले कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर अवस्थामा पुगेको छ। पार्टीभित्र फरक मत राख्ने असहमत पक्षलाई सकाउने खेलको शुरुवात भएको छ। घात, प्रतिघात र अन्तर्घातको सिलसिला जारी छ। स्वस्थ र मर्यादित प्रतिस्पर्धी भावनाको विकास हुन सकेको छैन, जीत र हारलाई स्वभाविक रुपले पचाउने परिपाटी अहिले कांग्रेसभित्र छैन्। विचार, क्षमता, दृष्टिकोण, कार्यक्रमको आधारमा नेतृत्वमा पुग्ने संस्कार बसेको छैन। संस्थागत निर्णयहरु हुन छाडेका छन्, नेतृत्वको स्वेच्छाचारीता बढ्दै गएको छ। आफैले योजनावद्ध रुपमा छानेका कार्यकर्ताबाट निर्वाचित हुने अवस्थाको सिर्जना हुन गएको छ। नेता र कार्यकर्ताबीच हार्दिकता छैन, भाइचारा छैन। दाई कांग्रेस र भाई कांग्रेसबीच मालिक र नोकरको जस्तो असमान सम्बन्ध छ, कार्यकर्ता र जनताबीच समेत फराकिलो दुरी छ।

समावेशीता र विपी कोइराला

अहिले समावेशीकरणको वहस चर्को रुपमा उठिरहेको छ, सो अनुकुलका नीतिहरु तर्जुमा गरिएका छन्। नेपालको संविधान र कानूनहरुमा समावेशीकणका प्रावधानहरु राखिएका छन्। त्यतिखेर समावेशीकरण चर्का चर्का नाराहरु लागेका थिएनन् तर प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको मन्त्रीमण्डल समावेशी थियो। त्यहाँ महिला अटाएका थिए, थारु अटाएका थिए, जनजाती अटाएका थिए, मधेशी समुदाय समेटिएका थिए। रामनारायण मिश्र, परशुनारायण चौधरी, सुर्यनाथ दास यादव, मीनबहादुर गुरुङ, जमानसिंह गुरुङ, दिवानसिंह राई देखि द्वारिकादेवी ठकुरानीसम्म मन्त्रीमण्डलमा समेटिएका थिए। विपीले बोलीले होइन, व्यबहारले सबैलाई स्थान दिनुभएको थियो, सबैको प्रतिनिधित्व गराउनुभएको थियो। अहिलेको समावेशीकरण भाइभतिजावाद र फरियावादमा रुपान्तरण हुँदै गएको छ।

विपीको समाजवाद र आजको कांग्रेस

कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो आदर्श मान्छ। ती आदर्शहरु केवल विधानमा सीमित छन्, समाजवादको बारेमा कांग्रेस छलफल, विचार विमर्श, बहस गर्न तयार छैन। बोल्नको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाई यहाँनेर सान्दर्भिक भइरहेको छ। नेपाली कांग्रेसले बोकिरहेको विचार पुरानो, थोत्रो, भुत्ते र असान्दर्भिक भयो भन्ने आरोप लागिरहँदा पनि कांग्रेसीहरु वैचारिक बहसमा खरो उत्रन सकिरहेका छैनन्। प्रदीप गिरी, मनमोहन भट्टराई, गगन थापा, विश्वप्रकाश शर्मा लगायतका २/४ नेताहरुमा मात्र वैचारिक मन्थनमा रुचि रहेको छ, अन्य नेताहरुको दिल दिमागमा विचारको बहस छैन। पार्टी टिक्ने, बिक्ने, सुफल हुने अस्त्र भनेको नै पार्टीले बोकिरहेको सिद्धान्त, विचार, नीति, कार्यक्रम र व्यवहार हो, तर यतातर्फ कांग्रेसका नेताहरुको रुचि देखिँदैन, चासो पाइँदैन।

कांग्रेसले भनेको समाजवाद भनेको के हो? यो समाजवादी व्यवस्थामा कसरी पुगिन्छ भनेर कांग्रेसजनहरु बताउन सकिरहेका छैनन्। तर विपी कोइरालाले समाजवादलाई सरल ढंगले एक वाक्यमा नै व्याख्या गरिदिनुभयो र भन्नुभयो, ‘समाजवादबाट प्रजातन्त्र झिके साम्यवाद हुन्छ र साम्यवादमा प्रजातन्त्र थपे समाजवाद हुन्छ।’ कांग्रेसको समाजवादले निजी क्षेत्रको भूमिकालाई अस्वीकार गर्दैन, आर्थिक उदारीकरण तथा बजारीकरणलाई पनि अस्वीकार गर्दैन, प्रतिस्पर्धालाई पनि निस्तेज गर्दैन। न त राज्यको भूमिकालाई नै इन्कार गर्छ, कांग्रेसको समाजवादी दर्शनले लोककल्याणकारी राज्यको वकालत गर्छ। धनी पनि बाँच्ने, गरिब पनि बाँच्ने व्यवस्थाको पक्षपोषण गर्छ। नाफा व्यक्तिको पनि हो, राज्यको पनि हो, कांग्रेसको विचारले यही भन्छ। समाजका शोषित, पीडित जनताको लागि सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमहरु तर्जुमा गर्नुपर्छ, समाजवादको मान्यता यही हो।

सैद्धान्तिक पाटो यो भए पनि कांग्रेस उदारवादको चुंगुलमा फसेको देखिन्छ, पुँजीवादको समर्थक जस्तो देखिएको छ, राज्यका संस्थानहरु बेचेर खाएको आरोप खेप्न परिरहेको छ, बजारले राज्य नियन्त्रण गर्ने परिस्थिति सिर्जना गरेको आरोप लागेको छ। कांग्रेसको समाजवादले गरिब, भोकानांगा जनताको जीवनस्तर उकास्ने कुराको वकालत गर्छ, हुने खानेबाट कर उठाएर हुँदा खानेहरुको जीविकोर्पाजनको लागि योगदान दिनुपर्ने मान्यता राख्छ।

वर्तमान संविधानमै लेखिएको छ, नेपाल समाजवाद उन्मुख राज्य हो। प्रस्तावनामै लोकतान्त्रिक मुल्य मान्यतामा आधारित समाजवादप्रतिको प्रतिवद्धता जनाइएको छ। फरकफरक राजनीतिक दर्शन, स्कुलिङ र कार्यक्रमबाट आएका पार्टीहरु बीच समाजवादको व्याख्यामा निश्चय पनि फरकपन आउँछ। संविधानमै लोकतान्त्रिक समाजवाद प्रतिको प्रतिबद्धताले नै प्रष्ट पार्छ, हामीले खोजेको समाजवाद अधिनायकवाद होइन, सबैलाई बराबर गरिब बनाउने साम्यवाद होइन। कांग्रेसको आर्दशको रुपमा रहेको समाजवादको बाटोमा कांग्रेस छैन, बाटो विराएको छ।

दुहुनो गाई, हलो जोतिरहेको किसान र कांग्रेस

समय परिवर्तनशील छ, विज्ञान र प्रविधिले अभूतपूर्व परिवर्तन ल्याइदिएको छ। छ दशक अघि विपी कोइरालाले हरेक नेपालीको घरमा दुहुनो गाई होस भनेर गरेको परिकल्पना प्रतिकात्मक हुन सक्छ। नेपालमा पटकपटक राजनीतिक क्रान्ति भए पनि जनताको जीवनस्तरमा अझै पनि तात्विक फरक आएको छैन। मैलो लुगा लगाएका गरिब किसानहरुको दिनचर्या फेरिएको छैन।

आफ्नो अगाडि गरिब किसानको फोटो राखेर योजना बनाउन विपी कोइरालाको सुझाव आजका दिनमा उत्तिके महत्वपूर्ण रहेको छ। विपी कोइरालाको कांग्रेस दिनदु:खीहरुको कांग्रेस थियो, शोषित पीडितहरुको कांग्रेस थियो, दुई छाक हातमुख जोर्न धौ धौ पर्ने भुइमान्छेहरुको कांग्रेस थियो। दलित, जनजाति, महिला, मधेशीहरुको कांग्रेस थियो, परिश्रमी किसानहरुको कांग्रेस थियो। गरिब जनताकै कांग्रेस भएकै कारण विपी कोइरालाले हरेक नेपालीको घरमा दुहुनो गाई होस भन्ने सपना देखे। मैलो, फाटेको, थोत्रो लुगा लगाएर हलो जोतिरहेको किसानलाई केन्द्रविन्दुमा राखेर योजना बनाउनुपर्छ भन्ने कुराको आवश्यकताबोध गरे।

अहिले जबरजस्त कांग्रेसलाई धनीमानीहरुको पार्टीको कित्तामा पुर्‍याइएको छ, कांग्रेस हुने खानेहरुको पार्टी हो भन्ने परिचय स्थापित गरिएको छ। कांग्रेस हुने खानेहरुको पनि पार्टी हो, हुँदा खानेहरुको पनि पार्टी हो, हुँदा खानेहरुलाई हुने खाने बनाउने सपना बोकेको पार्टी हो भनेर जनताको बीचमा स्थापित गर्न सकेको छैन। यस्तो छवि बन्नुमा नेताहरुका विलासी, तडक भडकपूर्ण जीवनशैली र कार्यशैली पनि उत्तिकै जिम्मेवार छन्।

राष्ट्र, राष्ट्रियता र विपी कोइराला

जनता नै राष्ट्र हुन भन्ने विपी कोइरालाको भनाईको विशेष अर्थ छ। राष्ट्रियता खतरामा परेको संकेत पाएपछि विपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किए र राजासँग घाटी जोडिएको अभिव्यक्ति दिए। विपीको यहीँ भनाइलाई लिएर कांग्रेस स्वेच्छाले गणतन्त्रमा गएको आरोप लाग्ने गरेको छ। समय, सन्दर्भ र परिवेशको बारेमा अध्ययन नगरी विपीको बदनाम गर्ने उद्देश्यको साथ यस्तो आरोप लगाउने गरिन्छ।

अहिले देश र जनताभन्दा पार्टी र नेताको हित एवं स्वार्थलाई सर्वोपरी ठान्ने गरिएको छ। मौसमी र खोक्रो राष्ट्रवादको सिजन शुरु भएको छ, चुनावी एजेण्डामा मात्र राष्ट्रवादको नारा लाग्ने गरेको छ। राष्ट्रवादको आफूखुसी र आफू अनुकुलको व्याख्याले मधेश रिसाएको छ, मधेशी जनता विच्किएका छन् र मधेशमा कांग्रेसको जनाधार खस्किएको छ।

विपी र सुकिलामुकिलाविरुद्ध संघर्षको आवश्यकता

विपी कोइराला भविष्यद्रष्टा थिए, दुरदर्शी थिए। खुला र उदार प्रजातन्त्रमा सुकिला मुकिलाहरुकै बोलबोला हुन्छ भन्ने जानकारी विपीलाई राम्रोसँग थियो। प्रजातन्त्रका दुर्गुण पक्षहरुका बारेका शायद विपी जानकार थिए, त्यसैले पार्टीमा विचौलियाहरुको रजगज चल्ने कुराको आंकलन उनमा थियो। प्रजातन्त्र स्थापना भएपछि धनाढ्यहरु, पुँजीपतिहरु, विचौलियाहरु र दलालहरुले पार्टी कब्जा गर्नेछन् भन्ने अनुमान विपीलाई पहिले नै थियो।

जब प्रजातन्त्र आयो, विपी भनाई चरितार्थ भयो। पार्टीमा धनवाद र डनवाद हावी भयो। चैते कांग्रेसीहरुको पार्टीमा रजगज चल्न थाल्यो। इमान्दार कार्यकर्ता पाखा लाग्न थाले, सच्चा कांग्रेसीहरुको कालापहाड र महाराष्ट्रको यात्रा तय भयो। जुन दिन कांग्रेसमा कुनै योगदान, भूमिका, लगानी, त्याग र तपस्या नभएकाहरु हावी भए, त्यसै दिनदेखि कांग्रेसका दशाका दिनहरु शुरु भए, कांग्रेसका ओराला दिनहरु शुरु भए, अन्ततः अहिले यो अवस्थामा आइपुग्यो।

अन्त्यमा,

कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर हुदैँ गयो, जनताहरु टाढा हुँदै गए। पार्टीभित्रको छलछाम, षडयन्त्र र तानाबुना सामु टिक्न नसकेर कार्यकर्ताहरु पाखा लाग्दै गए। कांग्रेसका समर्थकहरु धमाधम पलायन भइरहँदा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कांग्रेसलाई विशाल समुद्रको संज्ञा दिइरहे, समुद्रबाट एक लोटा पानी निकाल्दैमा केही फरक नपर्ने अभिव्यक्ति दिइरहे। हरेक दिन एक लोटा पानी निकालिरहदा कांग्रेस अहिले विशाल समुद्रबाट नदीमा परिणत भइसकेको छ, अझै पनि प्रत्येक दिन एक एक लोटा पानी निकाल्दै जाने हो भने कुनै दिन जनकपुरतिर घरै पिच्छे पाइने पोखरी, ताल तलैयामा परिणत हुन बेर छैन। कांग्रेसको मुहान नै सुकिरहेको छ, युवाहरुको कांग्रेसप्रति वितृष्णा छ, आकर्षण छैन। यतातिर नेतृत्वले गम्भीर भएर सोच्न जरुरी भइसकेको छ।

आज विपीको १०७ औँ जन्मजयन्ती हो, विपी यसै भन्नुहुन्थ्यो भन्ने दिवस होइन। मुलुकको पुरानो, ऐतिहासिक, लोकतान्त्रिक पार्टीले विपीको गौरवगाथा मात्र गाएर पुग्दैन, विपीका सिद्धान्तलाई व्यवहारमा लागु गुर्नुपर्छ। जनताको भावनाको प्रतिनिधित्व गर्नुपर्छ, समयानुकूल परिवर्तन हुन सक्नुपर्छ।

(लेखक अधिवक्ता हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell