PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

वडाध्यक्षले सार्वजनिक पोखरीको ठेक्कामा अनियमितता गरेको भन्दै न्यायिक समितिमा उजुरी



सुमित मिश्र

वडाध्यक्षले सार्वजनिक पोखरीको ठेक्कामा अनियमितता गरेको भन्दै न्यायिक समितिमा उजुरी

जनकपुरधाम : धनुषामा एक जनप्रतिनिधिले सार्वजनिक पोखरीको ठेक्कामा अनियमितता गरेको भन्दै न्यायिक समितिमा उजुरी परेको छ। जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कामेश्वर कापरले सार्वजनिक पोखरीको ठेक्काको रकम अनियमितता गरेको भन्दै न्यायिक समितिमा उजुरी परेको हो।

उनीमाथि सार्वजनिक पोखरीको ठेक्का लगाएर रकम अनियमितता गरेको आरोप लगाउदैँ स्थानीय यूवाहरुले न्यायिक समितिमा उजुरी दिएका हुन्। स्थानीयवासी दिपेन्द्रकुमार कापर र बलराम कापरले संयुक्त रुपमा वडा अध्यक्ष कापरविरुद्ध न्यायिक समितिमा उजुरी दिएका छन्।

अनाधिकृत रुपमा ठेक्का लगाइएको र ठेक्का बापतको रकम वडाध्यक्ष कामेश्वर कापरले दुरुपयोग गरेको भन्दै उनीहरुले छानबिनको माग गर्दै न्यायिक समिततिमा उजुरी दिएका हुन्। नगरपालिकाको वडा नम्बर १ मा रहेको ३ वटा पोखरी नगरपालिकाले नै ठेक्का लगाएर रकम उठाउँदै आएकोमा आर्थिक वर्ष २०७५/०७६ मै रामजानकी पोखरी, भगवानपट्टी पोखरी र गुलरीया पोखरीका लागि वडा अध्यक्ष कामेश्वर कापरले गोप्यरुपमा टेण्डर आह्वान गरेकोे आरोप लाग्दै छ।

तर, वडा अध्यक्ष कापरले नगरपालिकाले नै सार्वजनिक सूचना जारी गरी आधा दर्जन भन्दा बढी पोखरीको ठेक्का लगाएको बातएका छन्। उनले ठेक्काको रकममा कुनै अनियमितता नभएको दावी गरे।

उनले हंसपुर नगरपालिका तत्कालिन प्रशासकीय प्रमुख साधुशरण यादवले सार्वजनिक पोखरीको ठेक्काको लागि सार्वजनिक रुपमै सूचना आह्वान गरेको र टेण्डर लगाएको बताए।

‘नगरपालिकाले नै ०७५ असोज १० गते सूचना टाँस गरेर सार्वजनिक पाखेरीको लागि टेण्डर आह्वान गरेको र सोही अनुसार डाकमा बढाबढ भएपछि सो ठेक्का लगाइएको हो’, वडा अध्यक्ष कापरले भने।

आफूले कुनै पनि किसिमको रकम कसैसँग नलिएको र सो ठेक्का नगरपालिकाले नै लगाएकोले अनियमिततामा आफ्नो संलग्नता नभएको उनको दावी छ।

उनले आफूले वडा नम्बर १ को नाममा कुनै किसिमको ठेक्काको आह्वान नगरेको समेत स्पष्ट पारे। वडाध्यक्ष कामेश्वर कापरले नगरपालिकाले जे निर्णय गर्छ, त्यही आफूलाई स्वीकार हुने बताए।

यता हंसपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक रेणु झाले यस नगरपालिकाबाट सो पोखरीको टेण्डर आह्वान नै नगरिएको दावी गर्दै आएकी छन्। अहिलेसम्म राजस्वसमेत दाखिला नभएको उनले बताइन्।

उनले वडा नम्बर १ का ३ वटा सार्वजनिक पोखरी र वडा नम्बर ३ को एक पोखरीको सम्बन्धमा न्यायिक समितिमा उजुरी परेको जानकारी दिइन्। उनले यस विषयमा छानबिन हुने समेत बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell