काठमाडौं : बिहीवार राती पार्वतीले राहतमा पाएको चामल पकाइन्। दुई छोरा र आमालाई खुवाइन्। आफू पनि खाइन्। श्रीमान अजय आइपुगेका थिएनन्। साँझपख घरमा कसैलाई केही नभनी फुत्त निस्किएका थिए उनी।
घर अबेर गरेर आए। मुल ढोकाबाट भित्र पस्नासाथ भान्सा। साँघुरो भान्साको एउटा कुनामा पार्वतीकी आमाको ओच्छ्यान। त्यहीँ पल्टिएकी सासुसँग केही नबोली सरासर भित्री कोठामा पसे उनी। छोराहरू निदाइसकेका थिए। पार्वती भने जागै थिइन्। उनलाई रक्सीको दुर्गन्धको बानी परिसकेको थियो। त्यसैले केही भनिनन्। तर, सधैंजस्तै रक्सी पिएर आएपछिको कचकचको श्रृङ्खला सुरु भयो। कारण थियो पार्वतीको प्रश्न। सोधेकी थिइन् : काममा जानु भएको हो? होइन भने सधैं रक्सी पिउने पैसा कहाँबाट आउँछ?
अरु मानिसको घरमा भाँडा माझ्ने, लुगा धुने काम गर्थिन् पार्वती। अजय चाहिँ घरहरूमा रङ लगाउने काम गर्थे। लकडाउनका कारण काम ठप्प।
पैसा भएन। रासन, पानी सकियो। हरेक पटक वरपर बाढिने नि:शुल्क खाना र राहतको लाइनमा बसिन् पार्वती। यसैगरी सहयोग लिएर भए पनि परिवारलाई भोको राखिनन्।
तर, सधैं राहत कहाँबाट मिल्नु? त्यसैले श्रीमानलाई काम खोज्न भनेकी थिइन्। रक्सी नपिउन अनुरोध पनि गरेकी थिइन्। नशामा रहेका अजयले प्रश्न सहन सकेनन्। जिम्मेवारीवोध त परको कुरा। अभाव महसुस गरेनन् र आक्रोशित भएर पिट्न थाले।
खटपटले बाहिर निदाएकी आमा मीना बिउँझिन्। उनले चनाखो भएर सुनिन् – ज्वाइ कराउँदै थिए। छोरी रोइरहेकी थिइन्। केहीबेरमा नातिहरूको आवाज पनि मिसियो। ढोका ढकढक्याइन्। तर, खुलेन।
छोरीले कुटाइ खाएको यो पहिलो घटना थिएन। पाटनबाट भर्खरै डेरा सरेर अनामनगर आएका थिए उनीहरू। मध्यरातमा होहल्ला गर्दा घरबेटी अनि छिमेकी रिसाउने डरले मीना फेरि ओछ्यानमा पल्टिन्। 'केहीबेरमा ज्वाइँ नै थाक्छन् र कुट्न छाड्छ भन्ने सोचेँ। फेरि मातेर आएको मान्छेलाई एक दुई दनक त छोरीले पनि दिन्छे भन्ने लागेको थियो,' उनले सुनाइन्।
तर, मीनाको अनुमान विपरीत भयो। केही बेरपछि भित्री कोठाको ढोका खुल्यो। ज्वाइँलाई केही सोध्न नभ्याउँदै मुल ढोका खोलेर दौडिए। हत्तपत्त उठेर भित्र पस्न खोजिन्। ढोकामै पार्वती थचक्क बसेकी रहिछिन्, रगताम्य भएर।
दुई नाति आँशु, सिंगान र आमाको घाँटीबाट बगिरहेको रगतमा लत्पतिएका थिए। अर्धचेत आमालाई बोलाउँदै थिए।
छेउमा लडिरहेकी थिइन् पार्वती। उनीमाथि छुरा प्रहार भएको रहेछ।
त्यसपछि बल्ल गुहार… गुहार… भन्दै चिच्याइन् मीना। आफ्नी छोरीको ज्यान बचाउन, एम्बुलेन्स बोलाइदिन आग्रह गरिन्। रुने, कराउने गर्दागर्दै सिंहदरबार वृत्तको प्रहरी टोली आइपुग्यो।
पार्वतीलाई लिएर बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइयो। यता आमा मीनाले छरछिमेकसँग चन्दा उठाइन्। केही रकम जोहो गरिन्। छोरीको ओषधी, उपचार गराउन। तर, उनी अस्पताल पुग्नु र छोरीको मृत्यु घोषणा हुनु एकैपटक भयो।
+++
२०७३ सालमा बर्दिया बाँसगढी नगरपालिका ९ का अजय विक र काठमाडौंकै सुकुम्बासी बस्तीहरूमा जन्मे हुर्केकी पार्वती खड्काको प्रेम विवाह भयो। पार्वती मीना खड्काकी एक्ली छोरी। मीनाले छोरी जन्माएको केही वर्षमै श्रीमान गुमाइन्। त्यसपछि निकै दु:खले हुर्काएकी थिइन् पार्वतीलाई। हुर्किएपछि त पार्वती पनि आमासँगै काममा हिँड्न थालेकी थिइन्। कहिले अरुको घरमा भाडा र लुगा धोएर पेट पाले, कहिले सडकमा मकै पोलेर कोठा भाडा तिरे।
'सधैं भन्थी आमा म तपाईंलाई सुखले पाल्छु। मै काम गर्छु तपाईं आराम गर्नु', मीना छोरीको बोली सम्झन्छिन्। अनि सुनाउँछिन्, 'भनेजस्तै गरी। बिहेपछि पनि मलाई आफूसँगै राखी। एक्लो बनाएको थिइन। तर अब मलाई मात्र होइन आफ्ना दुई छोरालाई पनि टुहुरो बनाएर गइ।'
पाटनमा बस्थे उनीहरू। पाँच जनको परिवार एउटै कोठामा अटाएका थिए। बीचमा लकडाउन खुल्दा अनामनगर डेरा सरे। सस्तै रकममा दुई वटा कोठा मिलेको थियो। फराकिलो ठाउँमा सरेका उनीहरूको संसार भने एकाएक साँघुरियो।
+++
नशाको सुरमा श्रीमतीमाथि छुरा प्रहार गरे अजय डेराबाट हुर्रिँदै निस्किएका थिए। त्यहाँबाट उनी सोझै प्रहरीकहाँ पुगे र आत्मसमर्पण गरे। श्रीमतीको घाँटीमा चक्कु प्रहार गरेको उनले बताएलगत्तै प्रहरी घटनास्थल पुग्यो। घाइतेलाई अस्पताल पुर्यायो। तर, पार्वती बाँचिनन्।
१४ महिनाको दूधे छोरो भोक लाग्दा 'पाबती' भन्दै रुन्छ। निद्रामा 'मम्मी' भन्दै बर्बराउँछ।
४ वर्ष पुगेको जेठो छोराले चाहिँ एकोहोरिएको छ। नयाँ मान्छे देख्दा जानकारी दिन्छ - 'बाबाले ममीलाई चक्कु हानेर भागेको।'
उसैले हो पार्वतीको मृत शरीरमा दागबत्ती दिएको। तर, पनि घरीघरी हजुरआमालाई सोध्छ – आमा मम्मी कहिले आउने?
'उसले नदेखोस्। नआत्तियोस् भनेर छोरीको घाउ प्लास्टिकले छोपिदिएका थियौं। त्यसैले सायद पत्तो पाएन आमा खरानी भइसकी। अब आउँदिन भन्ने कुरा', मीनाले सुनाइन्।
घटना भएको भोलिपल्ट घरबेटीले सामानसहित निस्कन निर्देशन दिए। मीना दुईवटा नाति च्यापेर आफ्नो भाइको शरणमा पुगिन्। त्यहाँ एउटै कोठामा मीनाकी आमा, भाइ, बुहारी र दुई छोरी बस्छन्। सधैं खोला किनारमा जीवन बिताउँदै आएका उनीहरूसँग कोठामा तीन जना साझेदार थपिए। भान्साहितको एउटा साँघुरो कोठामा कोचिन बाध्य भए सबै।
कोरोना भाइरसको महामारी रोक्न कायम गर्नुपर्ने शारीरिक दूरी परको कुरा बन्यो। टिनको टहरामा उनीहरू आँशुसँगै पसिना पनि साट्न बाध्य भए। मजदुरी गरेर खाने परिवार लकडाउनको मारमा पर्यो। कमाउने बाटो गुमायो। अभावसँग जुँध्दाजुँध्दै खाने पेट थपियो।
सबै विवशता देख्न नसकेपछि स्थानीयले मानवसेवा आश्रममा फोन गरे। उनीहरूको अवस्थाबारे जानकारी दिए। बिहीवार बिहान आश्रमका प्रतिनिधिले मीना र उनका दुई नातिहरूको उद्धार गरे। जेठो नाति गाडी चड्न पाउँदा दङ्ग पर्यो। वरपर झुम्मिएका सबैलाई हात हल्लाउँदै बिदा भयो। छुकछुक नगर्ने निर्देशन दिइरहेकी बुढी हजुरआमा बिन्दा आचार्यलाई भन्यो – बाबालाई छिट्टै पठाइदिनु है।
मीनाकी आमा बिन्दा भने आँशु पुछ्दै बोलिन् – 'बरा यो अवोधलाई के थाहा उसकै बाबुले गर्दा आज यो हालत भएको।'