जनकपुरधाम : प्रदेश २ मा थप १ सय ३२ जनामा कोरोना भाइरसको संक्रमिण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २६ महिला र १ सय ६ पुरुष गरी कुल १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ४५ पुगेको छ।
शनिवार सर्लाहीमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्। सर्लाहीमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सप्तरीमा १६, बारामा १४, पर्सामा ९, महोत्तरीमा ७, सिरहामा ५ र धनुषामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, शनिवार यस प्रदेशमा ४२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै यस प्रदेशमा संक्रमण निको हुनेको संख्या ६ हजार ३ सय ११ पुगेको छ। जसमा ७ सय १२ महिला र ५ हजार ५ सय ९९ पुरुष अहिलेसम्म कोरोना मुक्त भएका छन्।