जनकपुरधाम : धनुषाको नगराइन नगरपालिका वडा नम्बर ७ स्थित नवटोलीमा मन्दिरमा फोहोर फालिएको विषयलाई लिएर दुई समुदायबीच झडप भएको छ।
नवटोलीस्थित दुधहा पोखरीको डीलमा रहेको श्री नवनेश्वर नाथ महादेव मन्दिर निर्माणका लागि गरिएको शिलान्यास स्थलमा मुस्लिम पक्षले फोहोर फालेको भन्दै दुइ समुदायबीच झडप भएको हिन्दु पक्षको दावी छ। यद्यपि मुस्लिम पक्षधरहरुले दुई महिलाबीचको विवादलाई साम्प्रदायिकता रंग दिइएको आरोप लगाएका छन्।
धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले दुधहा पोखरीको डीलमा मन्दिर निर्माण गर्न नदिने अडान मुस्लिम पक्षधरले लिएपछि विवादको सिर्जना भएको जानकारी दिए। दुबै पक्षको झडपलाई प्रहरीको टोलीले शान्त पारेको र अहिले गाउँमा फेरि अप्रिय घटना हुन नदिनका लागि ३० जनाको प्रहरी टोलीले गस्ती गरिरहेको डीएसपी मिश्रले बताए। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अलग अलग टोलीले गस्ती गरिरहेको छ।
दुबै पक्षबीच भएको झडपमा २ दर्जनभन्दा बढी घाइते भएका छन्। पत्थरवाजीमा हिन्दु समुदायका विनय कुमार यादव, राकेश यादव, कृष्णा यादव, सरोज यादव, संजय साफी, मकेश यादव, निभा ठाकुर घाइते भएको स्थानीयहरुले जानकारी दिएका छन्।
त्यस्तै मुस्लिम समुदायबाट जुमैदा खातुन, मैमुन खातुन, मोबारक नदाफ, गुलाम नदाफ, तस्लिम नदाफ, हसिना खातुन, हस्मत खातुन, मुमताज नदाफ, जमाहिर नदाफ, समसुद्दिन नदाफ घाइते भएका छन्। घाइतेको स्थानीय अस्पताल र प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।