PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सर्लाहीबाट ३ सय ९ किलो गाँजासहित एक ट्रक प्रहरीको नियन्त्रणमा



सुमित मिश्र

सर्लाहीबाट ३ सय ९ किलो गाँजासहित एक ट्रक प्रहरीको नियन्त्रणमा

जनकपुरधाम : सर्लाही प्रहरीले शनिवार राती जिल्लाको दक्षिण-पूर्वी भेगमा पर्ने पर्सा गाउँपालिकाबाट ३ सय ९ किलो गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ५ डोमोवा टोलमा ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। शनिवार राति ट्रक चेक गर्दा ११ वटा पोकामा राखिएको उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए।

उनका अनुसार ९ वटा पोकामा ३१ किलोका दरले २७९ किलो र २ वटामा १५ किलोका दरले ३० किलो गरी कुल ३०९ किलो गाँजा बरामद भएको छ।

सर्लाहीको पूर्वी भेगको ग्रामिण इलाका हुँदै लागुऔषध नेपाल–भारत दुवैतर्फ ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख सन्तोष सिंह राठौरको  नेतृत्वमा खटेको टोलीले ३०९ किलो गाँजा सहित एक १० चक्के ट्रक नियन्त्रणमा लिइएको कुर्मीले जानकारी दिए।

अनुगमन टोलीलाई देखेर चालक ट्रक छोडेर फरार भएको प्रहरी निरीक्षक कुर्मीले बताए। ट्रक र गाँजा नियन्त्रणमा लिई चालक एवं गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खोजी भइरहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell