जनकपुरधाम : धनुषामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको समयावधि पुनः एक हप्ताका लागि थपिएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरि कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयावधि आइतवार राति १२ बजेपछि सकिन लागेपछि पुनः असोज ४ गते आइतवार राति १२ बजेसम्मका लागि थप गरिएको जानकारी दिए।
जिल्ला स्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतवारको निर्णय अनुसार किराना, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ भने निषेधित बाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ।
यस्तै, निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ। जिल्लाभित्र सबै प्रकारका निजी सवारी साधनहरु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सैलुन, ब्युटीपार्लर, हटिया, सब्जीमण्डी, जिमखाना, सिनेमा हल, पार्टीप्यालेस तथा सपिङ मलहरु भने बन्द राख्न सूचना मार्फत जानकारी गराएको छ।
प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभर प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ७ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञाको समयावधि थपिएको जानकारी दिए।