PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

प्रदेश २ मा आइतवार थपिए ३८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु



सुमित मिश्र

प्रदेश २ मा आइतवार थपिए ३८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

जनकपुरधाम : प्रदेश २ मा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ४ महिला र ३४ पुरुष गरी ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिए।

आइतवार थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ८३ पुगेको छ।

आइतवार सर्लाहीमा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सर्लाहीमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै, धनुषामा ८ जना, बारामा ३ जना, पर्सामा ३ जना, महोत्तरीमा १ जना र सिरहामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, आइतवार यस प्रदेशमा ५३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। आइतवार प्रदेशको ४७ पुरुष र ५ महिला निको भएर घर फर्केका हुन्।

योसँगै यस प्रदेशमा निको हुनेको संख्या ६ हजार ३ सय ६४ पुगेको छ। निको हुनेहरुमा ७ सय १८ महिला र ५ हजार ६ सय ४६ जना पुरुष रहेका छन्।

कोरोनाका कारण थप एकको मृत्यु

कोरोना संक्रमणबाट प्रदेश २ मा थप एक जनाको मृत्यु भएको छ। प्रदेशको महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिका वडा नम्बर ३ तपनपुरका एक ६० वर्षीय पुरुषको कोरोना संक्रमणको कारण प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो

भदौ २३ गते प्रादेशिक अस्पताल जनकपुरको एनआइसीयोमा भर्ना भएका पुरुषको आइतवार बिहान करिब ८ बजे मृत्यु भएको कोभिड-१९ अस्पताल जनकपुरका इन्चार्ज डा रामदेव चौधरीले जानकारी दिए। मृतकमा ब्लडप्रेसरको समस्या र हेमरोटिक रोग रहेको चौधरीले जानकारी दिए।

योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ। हालसम्म प्रदेशका ९३ जना पुरुष र १६ जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाइ सकेका छन्। कोभिड-१९ बाट हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सा जिल्लामा ३९ जनाको मृत्यु भएको छ।

यस्तै बारामा १६ जना, धनुषा र महोत्तरीमा १३/१३ जना, सिरहामा १० जना, सप्तरीमा ८ जना, रौतहटमा ५ जना, सर्लाहीमा ४ जना र १ भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell