जनकपुरधाम: सडक विस्तार गर्ने भन्दै जानकी मन्दिरको फूलबारी अतिक्रमण गरी निर्माण गरिएको विवादित पर्खाल स्थानीय जनप्रतिनिधिको नेतृत्वमा भत्काइएको छ। जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दीपेन्द्र साहको नेतृत्वमा पर्खाल आइतबार साँझ भत्काइएको हो।
युवा अभियन्ताहरुले ‘जय सियाराम’को उद्घोष गर्दै डोजरले पर्खाल भत्काएका हुन्। पर्खाल भत्काउँदा उपमहानगरपालिका ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा ४ का वडाध्यक्ष सुदर्शन सिंह, ७ का वडाध्यक्ष जानकीराम साह, नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रलगायत युवा अभियन्ताको सहभागिता थियो। मन्दिरको फूलबारीलाई अतिक्रमण मुक्त गराउनकै लागि पर्खाल भत्काइएको वडाध्यक्ष दीपेन्द्र साहले बताए।
आइयुडीपीको सडक तथा नाला निर्माण परियोजना अन्तर्गत सडक विस्तार हुँदा फूलबारी अतिक्रमण गरी पर्खाल निर्माण गरिएको बताउँदै साहले भने, ‘धार्मिक सम्पदामाथिको अतिक्रमण हामीलाई सह्य छैन।’
उनले पर्खाल भत्काउने निर्णयमा कार्यपालिकाको सम्पूर्ण बोर्ड सदस्य तथा स्थानीयवासीहरुको समर्थन रहेको दाबी समेत गरे। भने ‘यसमा स्थानीयवासीको पूर्ण समर्थन छ। जग्गा अझै दिन हामी तयार छौँ तर हामी सबैको सम्पत्ति जानकी मन्दिरको फूलबारीको जग्गा अतिक्रमण सह्य हुनेछैन।’
के हो विवाद
सडक विस्तारको क्रममा उपमहानगरपालिकाका मेयर लालकिशोर साहले चलखेल गरी निजी घर बचाउँदै फूलबारीको जग्गा अतिक्रमण गरेको आरोप स्थानीयले लगाउँदै आएका छन्। स्थानीय युवाहरुले विरोध जनाएपछि सडक विस्तारको काम स्थगित भएको थियो।
त्यसपछि जानकी मन्दिरको फूलबारीमा निर्माण गरिएको सो पर्खाल विवादित रहँदै आएको थियो। सोही विवादका कारण मन्दिर अगाडि सडक निर्माणको कार्य समेत हुन सकेको थिएन।
फूलबारीको जग्गा अतिक्रमण मुक्त अभियानमा लागेका नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले जनकपुरधाम धार्मिक नगरी रहेकोले अतिक्रमण मुक्त बनाउनु सबैको दायित्व रहेको बताए।
जनकपुरधाम उपमहानगरपालिका ३ मा पर्ने मन्दिरको सिट नम्बर १३५५-२४ को कित्ता नम्बर ८ को साविक क्षेत्रफल ३ कठ्ठा १० धुर छ। सडक विस्तारको नाउँमा बगैँचाको बीचमा ०.७० मिटर चौडाई पूर्व दक्षिण कुनामा ३ मिटर तथा पूर्व उत्तरको कुनामा ४.८८ मिटर जग्गा अतिक्रमण गरिएको पाइएको थियो।
जानकी मन्दिर कुल ५ बिघा क्षेत्रफलमा फैलिएको छ। जग्गा अतिक्रमणकै विषयमा प्रतिक्रिया लिन जाँदा जनकपुरधाम उपमहानगरपालिको कार्यालयमा पत्रका समेत कुटिएका थिए।