PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

कोरोनाको बहानामा राज्यले मलाई मार्ने प्रयास गर्‍यो: पूर्वमन्त्री पासवान



सुमित मिश्र

कोरोनाको बहानामा राज्यले मलाई मार्ने प्रयास गर्‍यो: पूर्वमन्त्री पासवान

जनकपुरधाम : बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले केपी ओली नेतृत्वको सरकारले देशमा राणा शासनको जस्तो कार्यशैली प्रदर्शन गरिरहेको आरोप लगाएका छन्।

सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री पासवानले ओली नेतृत्वको सरकारले जनतालाई भेडाबाख्रा सम्झिरहेको आरोप लगाउँदै त्यसमा प्रदेश २ सरकारले पनि साथ दिइरहेको जिकिर गरे।

उनले भने, ‘जनता हत्या हिंसाको शिकार भइरहे पनि सरकारका मन्त्री र सांसदहरु आनन्दको जीवन बिताइरहेका छन्। प्रदेश २ सरकारले जनताको जीवनसँग खेलवाड गरिरहेको छ।’

सरकारले नै जनताको हत्या गराइरहेको आरोप लगाउँदै नेता पासवानले देशमा मुस्लिम, दलित, जनजाति, पिछडा वर्ग, महिला कोही सुरक्षित नरहेको जिकिर गरे। प्रहरी प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले केपी ओलीको सरकारले प्रहरीलाई गुण्डा बनाएर राखेको आरोप लगाए। मुख्यमन्त्री लालबाबु राउत रौतहट घटनामा संलग्न प्रहरी अधिकारीलाई निलम्बन गर्ने पक्षमा नरहेको भन्दै उनले मुख्यमन्त्री समेत गुण्डाको पहरेदार भई मुकदर्शक बनेर बसेको आरोप लगाए।

प्रहरीको थुनाभित्र मृत्यु भएका विजय रामको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा बसेका बेला आफूलाई प्रहरीले होटलमा बन्दी बनाएको आरोप समेत उनले लगाए। उनले कोरोनाको बहानामा आफूलाई राज्यले मार्ने प्रयास गरेको आरोप लगाए। त्यसबेला आफू घर जान खोज्दा घर समेत जान नदिएको उनको भनाई छ।

रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि आमरण अनसन बसेका उनलाई १८ भदौको राति प्रहरीको टोलीले धरान पुर्‍याएको थियो। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि प्रहरीले उनलाई धरान लगि उपचार गराएको थियो। सिरहामै स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आउँदा पनि होटलको एउटा कोठाभित्र आफूलाई जबरजस्ती राखिएको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा पूर्वमन्त्री पासवानले राज्यको यस्तो राणाशासनको जस्तो कार्यशैलीलाई आफूहरुले चाँडै परास्त गर्ने दाबी गरे। उनले राज्यसँग लड्नका लागि निकट भविष्यमै बहुजन शक्ति पार्टीले भिम सेनाको गठन गर्ने उद्घोष समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell