
जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उप-क्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा १६ महिला र ६४ पुरुष गरी कुल ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
सोमवार थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ६३ पुगेको छ।
सोमवार सिरहामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सिरहामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सप्तरीमा २१ जना, धनुषामा ३ जना, बारामा १० जना, पर्सामा ९ जना, महोत्तरीमा २ जना, र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, सोमवार यस प्रदेशमा ३८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। आज प्रदेशका २८ पुरुष र १० महिला निको भएर घर फर्केका हुन्। योसँगै यस प्रदेशमा निको हुनेको संख्या ६ हजार ४ सय १ पुगेको छ। हालसम्म निको हुनेहरुमा ७ सय २८ महिला र ५ हजार ६ सय ७३ जना पुरुष रहेका छन्।
थप २ जनाको मृत्यु, मृतकको संख्या १११ पुग्यो
कोरोना संक्रमणबाट प्रदेश २ मा सोमवार थप दुई जना महिलाको मृत्यु भएको छ। प्रदेशको पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नम्बर १० की एक ५५ वर्षीय महिलाको कोराना संक्रमणका कारण मृत्यु भएको छ।
यस्तै, सिरहाको कर्जनहा नगरपालिका वडा नम्बर २ बन्दीपुरकी एक ३५ वर्षीय महिलाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक झाले जानकारी दिए। मृतक ३५ वर्षीय महिला लामो समयदेखि निमोनियाबाट ग्रसित थिइन्।
योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ। हालसम्म प्रदेशका ९३ जना पुरुष र १८ जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको निर्देशक झाले जानकारी दिए।
कोभिड-१९ बाट हालसम्म सबैभन्दा बढी पर्सामा ४० जनाको मृत्यु भएको छ। यस्तै, बारामा १६ जना, धनुषा र महोत्तरीमा १३/१३ जना, सिरहामा ११ जना सप्तरीमा ८ जना, रौतहटमा ५ जना, सर्लाहीमा ४ जना र १ भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ।