ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई आज बुंगमती फिर्ता लगिएको छ।
लगनखेलको इटी टोलबाट तानेर ल्याएको चौथो दिनमा भोटो जात्रा गरेर मात्रै बुंगमती लग्ने परम्परा रहेकोमा यसपटक कोरोना भाइरस संक्रमणका कारण भोटोजात्रा नगरी नै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो।
बैशाखमा नै हुनुपर्ने रथयात्रा कोरोना संक्रमणका कारण रोकिएको थियो। ६ महिनासम्म जात्रा सुरु नहुँदा अन्यौलता बीच केही हप्ताअघि केही युवाहरुले पुल्चोकबाट रथ तानेका थिए। सो क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो। त्यसपछि रथयात्रासँग सरोकालवालाहरुले रथयात्रा एक दिनमा सीमित गर्दै जात्रा टुंग्याउने निर्णय गरेका थिए।
जावलाखेलबाट रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लग्दा मानिसहरुले दायाँबायाँ बसेर छ्वाली (गहुँको पराल) बाल्ने गर्थे। रातो मछिन्द्रनाथको स्वागत गर्दै बाटो देखाउन सयौंको संख्यामा मानिसहरु हातहातमा छ्वाली लिएर कुरिरहेका हुन्थे। रातो मछिन्द्रनाथको मुर्तिलाई नख्खु हुँदै बुङमतिमा रहेको मन्दिरमा प्रतिस्थापन गर्ने बेलासम्म ती छ्वालीहरु बालेर देवतालाई बाटो देखाउने गरिन्थ्यो। यसरी छ्वाली बाल्नुलाई स्थानीय भाषामा 'सवा लाख छ्वालीप्वाः च्याकाः लं स्ववनेगु' भनिन्छ। यसको अर्थ सवा लाख परालको मुठा बालेर देउताको बाटो हेर्न जाने हुन्छ।
तर यसपटक भने कोरोना संक्रमणका कारण बुंगमतीमा मात्रै छ्वाली बालेर रातो मछिन्द्रनाथलाई स्वागत गरियो।
पानेजु (रातो मछिन्द्रनाथका पुजारी) मदन शाक्यका अनुसार पहिला बत्ती नभएको बेला रातो मछिन्द्रनाथलाई खटमा राखेर ल्याउँदा छ्वाली बालेर लिन जाने गरिन्थ्यो। त्यो परम्परा हाल सम्म पनि निरन्तर चलिरहेको छ।
शाक्यका अनुसार पहिला त भक्तपुरबाट दीप बोकेर मानिसहरु रातो मछिन्द्रनाथलाई बाटो देखाउन आउँथे। अहिले भने त्यो परम्परा रोखिएको उनी बताउँछन्।
बुंगमती पुर्याइएपछि रातो मछिन्द्रनाथलाई पूजा गरेर त्यही बनाइएको अस्थायी मन्दिरमा राखिएको छ। २०७२ सालको भूकम्पमा मन्दिर भत्किएपछि पुनर्निर्माणको काम सम्पन्न नहुँदा रातो मछिन्द्रनाथलाई अस्थायी मन्दिरमा राखिँदै आएको छ।
हाल उपभोक्ता समितिमार्फत मन्दिर पुनर्निर्माणको काम भइरहेको छ।