
काठमाडौँ : लामो दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट मात्र सञ्चालनमा आउने भएका छन्। भदौ मसान्तसम्म बन्द गर्ने यसअघिको निर्णय पुरावलोकन गर्दै सरकारले असोज ५ गतेबाट लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज ५ गतेबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए। कोरोनाका कारण लकडाउन भएयता लामो दूरीका सार्वजनिक यातायात संचालन हुन सकेको छैन।
यस्तै, आन्तरिक हवाइ उडान पनि असोज ५ बाट नै सुरु हुनेछन्।
उडान कसरी संचालन गर्ने भन्ने विषयमा भने हाल छलफल भइरहेको छ।
'आन्तरिक तर्फ कुन कुन गन्तव्यमा उडान संचालन गर्ने विषय अहिले छुट्टाइएको छैन।' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भने।
यस्तै, बैठकले विद्यालय तथा फिल्म हललगायतका बढी भीड हुने बाहेकका अन्य क्षेत्रलाई सुरक्षाका योजना बनाएर असोज ५ गतेबाटै सञ्चालन गर्न दिने पनि निर्णय गरेको छ।