चैतमा लकडाउन सुरु भएयता साथीहरूले ‘फेमिली टाइम’ भन्दै अनेक फोटो/भिडियो पोस्ट गर्न थाले। कोही मीठामीठा परिकार बनाएर खाएको फोटो राख्ने, कोही बुबाआमासँगै व्यायम गरेको। त्यो सबै देख्दा डाक्टर स्टोरी पोखरेललाई डाह लाग्यो। किनकि जबदेखि कोरोना भाइरसको संक्रमण फैलियो तबदेखि उनको र परिवारको समय एउटै चलेको छैन। बुबाआमा र उनको मुहार एउटै सेल्फी फ्रेममा अटाएको छैन।
कुनै बिरामीको उपचार सफल हुँदा आमालाई अंगालेर खुशी साट्थिन् उनी। अहिले आमा परै बसेर सोध्छिन् – तिमी ठीक त छौ नि?
बुबा नजिकै आएर भलाकुसारी गर्न खोज्दा उनी आफै भन्छिन् – 'पर जानुस् पर।'
हरेक दिन अस्पताल जान निस्किँदा र कामबाट फर्कँदा छिमेकीहरूसँग साट्ने मुस्कान मास्कले छेकिदिएको छ। उसो त छिमेकीहरूलाई पनि लाग्छ – अस्पतालमा काम गर्नेले त कोरोना भाइरस बोकेर ल्याउँछन्।
मानिसको सतर्कतालाई स्वभाविक मान्छिन् स्टोरी। तर, संक्रमितसँग डराउनु कहिल्यै उचित लागेन उनलाई। त्यसैले आमाले पटकपटक बिदा बस्न गरेको आग्रहलाई सोझै नकारिन्। आफू सुरक्षित रहने विश्वास दिलाइन्। बिरामीप्रतिको आफ्नो धर्म नछाड्ने अडान लिइन्। भनिन्, ‘काम छोड्न सकुँला तर कर्तव्य छोड्न सक्दिनँ।‘ पुल्चोकस्थित निदान अस्पतालमा काम गर्छिन् उनी। अस्पताल परिसरमा आरोग्य फाउन्डेसन छ। त्यहाँ किड्नी डायलासिस हुन्छ।
साउन २० गते त्यहाँ नियमित डायलासिसको लागि आउने एक बिरामीलाई अचानक सास फेर्न गाह्रो भयो। ज्वरो बढ्दै थियो र छाती घ्यारघ्यार भइरहेको थियो। लक्षण ठ्याक्कै कोरोना भाइरससँग मिल्दो। ३२ वर्षीय ती पुरुषलाई आइसोलेसनमा राखियो। स्वाब पाटन अस्पताल पठाइयो, परीक्षणका लागि।
उनको उपचारमा खटिएका थिइन् डाक्टर स्टोरी। उनीसँगै थिए अन्य स्वास्थ्यकर्मी पनि। बिरामी शंकास्पद् भएकाले उनीसँग ‘एक्सपोज’ भएका डाक्टर नर्सलाई पनि अस्पतालमै राखियो। अन्य बिरामीको उपचारमा खट्न दिइएन, संक्रमणको जोखिम कम गर्नका लागि।
केही दिनमा बिरामीको रिपोर्ट आयो – पोजेटिभ। निदान अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदैन थियो। त्यसैले, पाटन अस्पताल रेफर गरियो। निदानकै कर्मचारीहरूमा भने त्रास छायो। किनकि अस्पतालमा दैनिक किड्नीका बिरामीहरूको घुँइचो लाग्छ। यदि संक्रमण फैलिएको रहेछ भने अवस्था थप भयावह बन्न सक्थ्यो।
साउन २५ गते डाक्टर, नर्स र बिरामी लगायतको स्वाब लिइयो। २७ गते स्टोरीले रिपोर्ट पाइन्, कोभिड-१९ पोजेटिभ।
‘खबर सुनेपछि त म रोएँ। मलाई कुनै लक्षण देखिएको थिएन। कुनै समस्या थिएन। मर्छु भन्ने डर पनि होइन। तर, अति डर लाग्यो। मैले आमाबुबासँग बिताएको समय सम्झिएँ,’ उनले चिन्ताको कारण सुनाइन्, 'मेरो कारण परिवारका कसैलाई संक्रमण भएको रहेछ भने?’
उनी चिकित्सक हुनुको जिम्मेवारी निर्वाह गर्न सधैं तयार थिइन्। तर, आफ्नो संक्रमण अरु कसैमा पनि सार्न तयार थिइनन्।
स्टोरीका परिवार सबैको स्वाब परीक्षण भयो। रिपोर्ट नआउन्जेलको त्यो पाँच दिन स्टोरीका लागि एमबीबीएस गर्दाको पाँच वर्षभन्दा लामो अनुभूति भयो। हरेक दिन ‘अब के होला?’ भन्ने त्रास रहिरह्यो।
अस्पतालको आइसोलेसनमा थिइन् उनी। स्वास्थ्यमा कुनै समस्या थिएन। तर, मनमा चैन पनि भएन। बुबाआमाको रिपोर्ट नेगेटिभ आएपछि भने राहतको सास फेरिन्।
‘सधैं सोच्थेँ संक्रमितलाई गाह्रो हुन्छ। संक्रमितको परिवारलाई पीडा हुन्छ। जब आफैले भोगेँ तब थाहा भयो सोचेभन्दा सयौं गुणा बढी अप्ठ्यारो रहेछ यो स्थिति’, उनले अनुभव सुनाइन्, 'स्वास्थ्यमा केही समस्या नपर्दा समेत म जुन मानसिक स्थितिबाट गुज्रिएँ त्यो कठीन थियो। संक्रमणकै कारण ज्यान गुमाउनेको परिवारलाई झन् कस्तो होला?’
उनले संक्रमितको पीडा समानुभूत गरेकी थिइन्। जुन बिरामीबाट आफूमा संक्रमण सर्यो उनको मृत्युको खबरले उनको बेचैनीको आगोमा घीउ थप्यो। सोचिन् – अब ती बिरामीको परिवारको ‘फेमिली टाइम’ सायदै कहिल्यै सुखद् हुनेछैन। अरु कुनै बिरामीको परिवार त्यसरी अपूरो नबनोस्, म आफूले सक्दो सहयोग गर्छु।
भदौ ५ गते संक्रमणमुक्त भएर निस्किँदा उनले सोचिन् – 'अब मेरो शरीरको एन्टिबडी मेरो उर्जाको स्रोत बन्नेछ।' त्यही उर्जा बोकेर पुन: फ्रन्ट लाइनमा आइन्।
ड्युटीमै छँदा हो – ह्याम्स अस्पतालमा एक वृद्धा संक्रमितको लागि प्लाज्मा चाहिएको खबर आयो। आफ्नो रक्त समूहसँग मिल्दो रगत आवश्यक परेको थाहा पाएपछि उनी ग्रान्डी अस्पताल पुगिन्। प्लाज्मा थेरापीका लागि रक्तदान गर्न।
‘प्लाज्मा दिनु जीवन दिनु हो। आफू जुन स्थितिबाट गुज्रिएर आएँ त्यसभन्दा भयावह स्थितिमा भएकाको उद्धार गर्नु पर्छ। म यही सन्देश दिन चाहन्थेँ,’ उनले भनिन्।
प्लाज्मा दान गर्नुले कुनै हानी गर्दैन भन्ने सन्देश प्रवाह गर्न चाहन्थिन् उनी। प्लाज्मा दिनुको अर्थ केही गुमाउनु होइन, जीवन दिनु हो भन्ने बुझाउने अभियानमा २५ वर्षीया स्टोरी एक्ली भने होइनन्।
निदान अस्पतालकै डाक्टर लक्ष्मण भण्डारीले प्लाज्मा बैंक स्थापनाका लागि पहल नै गरेका छन्।
+++
गएको मार्चमा मिसिगनस्थित हार्ट एण्ट भस्कुलर इनिसियटिभको पोस्टिङ सके डाक्टर लक्ष्मण भण्डारीले। त्यस लगत्तै न्यूयोर्क फर्किए। ठीक त्यतिखेर अमेरिकामा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लाग्दै थियो। न्यूयोर्कमा अवस्था कहाली लाग्दो भइसकेको थियो। भेन्टिलेटर त परको विषय, सामान्य शय्यैको पनि अभाव सुरु भइसकेको थियो। स्वास्थ्यकर्मीका लागि सर्जिकल मास्क समेत पर्याप्त थिएन।
स्थानीय क्लिनिकमा काम सुरु गरेका लक्ष्मणमा पनि असर देखियो, कोभिड-१९ को। उनको शरीर दुख्थ्यो। खोकी लाग्थ्यो। अस्पताल जानसक्ने अवस्था थिएन। त्यसैले आफैलाई ‘आइसोलेट’ गरे। आवश्यक औषधी खाए। करिब १५ दिन सेल्फ आइसोलेसनमा बसेपछि ‘एण्टिबडी टेस्ट’ गराए - पोजेटिभ देखियो। उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि त भयो। शरीरमा भाइरस ‘एक्टिभ’ छ कि छैन थाहा पाउन भने पीसीआर टेस्ट नै गराउनु पर्यो। नतिजा पुन: पोजेटिभ नै आयो।
‘निकै गाह्रो भएको थियो। बाँच्छु कि बाँच्दिन होला भन्ने द्वविधामा थिएँ। बिरामीको उपचारमा खट्नु पर्ने समयमा आफै बिरामी परेँ। एउटा डाक्टरको लागि त्योभन्दा दु:खद् क्षण अरु के होला,’ लक्ष्मणले चिन्ता व्यक्त गरे।
करिब १ महिना लाग्यो उनलाई संक्रमणमुक्त हुन। जुन २० को रिपोर्ट नेगेटिभ आयो। त्यसको ठीक ३ दिन पछाडि नेपाल फर्किए।
७ महिनापछि देश फर्कँदा यहाँको अवस्थाले फेरि उस्तै चिन्तित तुल्यायो उनलाई। हुन त त्यस समय नेपालमा संक्रमणको एक्टिभ केस धेरै थिएन, जतिखेर उनी फर्किए। मानिसहरू निर्धक्क हिँडिरहेका थिए। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बनेका निर्देशिकाहरू कसले पालन गर्नु? उनले न्यूयोर्कको त्यो चित्र सम्झिए जहाँ अस्पताल बाहिर मानिसहरू खुल्लमखुल्ला हिँड्थे। भित्र शैय्या नपाएरै संक्रमितहरू छट्पटाइ रहेका हुन्थे।
‘नेपालमा पनि त्यही दृश्य दोहोरिन्छ कि भन्ने डर पैदा भयो,’ उनले सुनाए। आफ्नो तर्फबाट निर्वाह गर्न सकिने जिम्मेवारीबारे भने प्रष्ट थिए। जिम्मेवारी थियो - ड्युटीमा फर्कने।
निदान अस्पतालमा ४ वर्षदेखि मेडिकल अफिसरका रुपमा कार्यरत् छन् उनी। उनमा आत्मविश्वास थियो – ममा एन्टीबडी विकास भएको छ र म निस्फिक्री बिरामीको सेवामा खट्न सक्छु। त्यसैले उनले आइसोलेसन वार्ड सम्हाल्ने जिम्मा लिए। नभन्दै अस्पतालको पहिलो कोभिड-१९ पोजेटिभ केस उनैले हेर्नु पर्यो।
२२ वर्षीय किड्नीका बिरामी युवामा संक्रमण पुष्टि भयो। डायलासिसका लागि बिरामीहरू नियमित आउने भएकाले त्यहाँ संक्रमित राख्नु जोखिमपूर्ण हुन्थ्यो। त्यसैले संक्रमित युवकलाई रेफर गर्न काठमाडौंका अधिकांश कोभिड-१९ विशेष अस्पतालमा सम्पर्क गरे। निजीदेखि सरकारी अस्पतालहरूसँग आग्रह गरे। तर, शैय्या पाएनन्। अन्तत: बिरामीलाई वीरगंजस्थित नेसनल हस्पिटल पठाइयो।
‘उपत्यकामा बेड नपाउनु निकै दु:खद् यथार्थ हो। उक्त घटनाले संक्रमण नियन्त्रणका लागि सरकारको तयारी कस्तो छ भन्ने पनि प्रष्ट पार्यो,' लक्ष्मणले सुनाए।
हरेक पटक बिरामीमा संक्रमण पुष्टि हुँदा काठमाडौंबाट वीरगंज वा अन्य ठाउँ पठाउन सम्भव हुँदैन थियो। ‘अस्पतालहरू पनि हिट एण्ड ट्रायलको फेजमा छौं। यो गरे ठीक हुन्छ कि त्यो गरेर ठीक हुन्छ प्रयास गर्दैछौं। त्यस्तै बीच प्लाज्मा थेरापीलाई विकल्प मान्न सकिने चर्चा सुरु भयो,’ उनले भने, 'संक्रमणमुक्त भएकाले मैले पनि प्लाज्मा दान गर्न पाउँछु र कसैको जीवन बचाउनसक्छु भन्ने कुराले खुशी दियो।'
प्लाज्मा थेरापी अर्थात् कुनै पनि रोगविरुद्ध प्रतिरोधी क्षमता ‘एन्टी बडी’ विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाउने उपचार पद्दती। प्लाज्मा मानिसको रगतमा हुने तरल पदार्थ हो जसले शरीरमा प्रोटिन पुर्याउँछ।
नेपालमा पहिलो पटक, साउन दोस्रो साता त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी भयो। विराट नर्सिङ होमका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको यस पद्दतीमार्फत् उपचार गरिएको थियो। उनी जटील स्वास्थ्य स्थितिबाट निस्किए।
लगत्तै दोस्रो प्लाज्मा थेरापीका लागि बी पोजेटिभ रगत समूह भएका संक्रमणमुक्त मानिसको खोजी भयो। सुरूवाती प्रयोग भएकाले चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीले नै प्लाज्मा दानका लागि सहयोग आह्वान गरिरहेका थिए। एक वरिष्ठ चिकित्सककै फेसबुक पोस्ट देखेपछि लक्ष्मण भण्डारीले मेसेज लेखे – 'म कोरोना संक्रमण मुक्त हुँ। मेरो रगत समूह बी पोजेटिभ हो। म प्लाज्मा दान गर्न तयार छु।'
नर्भिक अस्पतालमा उपचाररत् पुरुषका लागि प्लाज्मा दान गरे।
‘म ती पुरुषको स्वास्थ्यलाई लिएर निकै आशावादी थिएँ। आफूले गरेको सहयोगले फरक पार्छ भन्नेमा पनि विश्वस्त पनि,’ उनले सुनाए, 'तर संक्रमितको संख्या बढ्दो थियो। त्यस्तोमा म एक जनाले दान गरेर एक जना ठीक हुनुजस्तै प्रभावकारी बन्न सक्थ्यो, सामूहिक प्रयास। मैले कोसिस गरेँ।'
उनले आफ्नो सम्पर्कमा रहेका संक्रमितहरूको सूची बनाए। उनीहरूमा कहिले संक्रमण देखियो र कहिले संक्रमण मुक्त भए? कुन उमेर र रक्त समूहका हुन्? अरु कुनै स्वास्थ्य समस्या छ या छैन? भन्ने जानकारी टिपोट गरे। परेको खण्डमा प्लाज्मा दानका लागि तयार वा योग्य भएकाहरूको सूची बनाए।
उनको प्रयासमा जोडियो ‘हामी नेपाल’ नामक संस्था। समय र स्रोतले भ्याएसम्म लागि परे संक्रमण मुक्त भएकाहरूको जानकारी बटुल्न। रोट्र्याक्ट क्लबले पनि साथ दिने भयो। त्रिवि शिक्षण अस्पतालको पनि समन्वय रहने भएपछि उक्त प्रयासलाई संस्थागत् ढङ्गमा अघि बढाउन स्थापना गरे ‘प्लाज्मा बैंक नेपाल।’
उद्देश्य : उक्त बैंकमार्फत् देशभरका संक्रमितहरूको जानकारी संकलन गर्ने र प्लाज्मा दानका लागि आग्रह गर्ने।
प्लाज्मा दान भनेको के हो? यो किन आवश्यक छ? भन्ने प्रश्नहरूको सम्बोधन र यो रगत दान नै हो, यसले स्वास्थ्यमा कुनै असर पार्दैन भन्ने बुझाउनु उनीहरूको अर्को उद्देश्य रह्यो।
‘प्लाज्मा दान नौलो विषय भएकाले जो कोही सहयोगका लागि तत्पर हुँदैनन्। मानिसलाई राजी गराउन हामी आफै उदाहरण बन्नुपर्छ भन्ने मेरो विश्वास हो। त्यसैले मेरा चिकित्सक एवं अन्य स्वास्थ्यकर्मी साथीहरूले पनि दान गर्नुभयो,’ उनले बताए।
गत मंगलवार लक्ष्मणलाई प्लाज्मा दानको आग्रह आयो, एक संक्रमित महिलाको प्लाज्मा थेरापीका लागि। उनले यसअघि रगत दिएको तीन महिना बितेको थिएन। यस पटक उनको विकल्पका रुपमा सहयोगका लागि अगाडि आए निदान अस्पतालकै अर्का चिकित्सक प्रमोद कडरिया।
***
प्रमोद कडरिया, ३० वर्षीय डाक्टर।
साउन २३ गते राती ड्युटी सकेर घर फर्किएका थिए प्रमोद। उनलाई एक्कासी टाउको दुख्न थाल्यो। केही बेरमा ज्वरो आयो अनि शरीर काम्न थाल्यो। पटकपटक दिसा पनि लागेपछि भने उनले अनुमान गरे – 'मलाई कोभिड-१९ को संक्रमण भयो।'
‘दिउँसोसम्म छट्पटाइ रहेका बिरामीको उपचारमा संलग्न थिएँ। राती आफू छट्पटाउन थालेँ। न परिवारका कसैलाई आएर पानीपट्टी गरिदिनु भन्न सकिन्छ न सँगै बसिदिनु,’ उनले त्यो कष्टकर क्षण सेयर गरे।
आफ्नो कारण परिवारका कसैलाई संक्रमण सर्नु, हरेक पटक ड्युटीमा निस्कनु अघि ‘बाबु आज नगए हुन्न?’ भन्नु भन्दा पीडादायी बन्थ्यो। त्यसैले भोलिपल्टै अस्पताल गए। आइसोलेसनमा बसे। साउनको २५ गते परीक्षणका लागि स्वाब संकलन भयो र २६ गते रिपोर्ट आयो – पोजेटिभ।
‘त्यसपछि मैले साह्रै अप्ठ्यारो समय बिताएँ। मलाई थाहा थियो संक्रमण सहज अवस्था होइन भन्ने तर सम्हालिन गाह्रो रहेछ,’ प्रमोदले भने।
उनी बलम्बु अस्पतालको आइसोलेसनमा रहे। त्यहाँ उनको दुई पटक रगत जाँच भयो। दुई पटक एक्सरे। भर्ना भएको १२ औं दिन दोस्रो परीक्षणमा उनमा संक्रमण नेगेटिभ देखियो।
संक्रमण मुक्त हुनु भनेको अप्ठ्यारो मुक्त हुनु होइनरहेछ। उनलाई खोकी लागिरह्यो। शरीर दुखिरह्यो। करिब १ साताको घर बसाइपछि काममा फर्किए। तर, त्यो उर्जा फर्किएको थिएन जसले उनलाई चौबीसै घण्टा वार्डहरूमै सक्रिय बनाउथ्यो, आफू सुरक्षित रहेर बिरामीलाई पनि सुरक्षा दिलाउन सक्छु भन्ने आत्मविश्वास दिलाउथ्यो।
‘म प्राय समय अस्पतालमै हुन्थेँ, बिरामीसँग। वरपर कुरुवाहरू हुन्थे। कोबाट सर्यो भन्न सकिँदैन,’ डाक्टर प्रमोदले सुनाए, 'आफूले जस्तै सुरक्षा बिरामी र कुरुवाले पनि अपनाइ दिएको भए, ट्राभल हिस्ट्री वा शंकास्पद् लक्षणबारे साँचो बोलिदिएको भए सायद् त्यो अप्ठ्यारो भोग्नु पर्दैन थियो।'
पीडा भोग्दै गर्दा उनले कामना गरेका थिए – आफूलेजस्तै पीडा अरु कसैले भोग्न नपरोस्। अरु कसैलाई कोरोना भाइरसको संक्रमण नहोस्।
उनी संक्रमण मुक्त भएको दुई सातापछि हो प्लाज्मा दानको आग्रहसहित फोन आएको। उनी खुशीखुशी राजी भए। भने, 'आफूले त्यो अवस्था भोगेर निस्किएको भएर होला मैले बिरामीको पीडा समानुभूत गरेँ। मेरो ४५० एमएल रगतका कारण उनलाई सजिलो हुनसक्छ भन्ने सोचेँ। उनका लागि रगत दिएर निस्किँदा बेग्लै आनन्द मिल्यो। सायद त्यही सन्तुष्टिमात्र हो प्लाज्मा दान गर्दा पाइने। जुन सन्तुष्टि जो कोहीले कहा पाउँछ र?'
गत शुक्रवार उनलाई नचिनेको नम्बरबाट फोन आयो। जसका लागि प्लाज्मा दिएका थिए, उनकै श्रीमान रहेछन्। भने, 'मेरी श्रीमती बाँच्ने भइन्। उनी हिँड्न सक्ने भएपछि हामी तपाईंलाई भेट्न आउँछौं सर।'
‘कोरोना भाइरसको संक्रमण हटेपछि भेट्ने है?,’ उनले जवाफमा भने।
डाक्टर प्रमोदलाई थाहा छ कोरोना भाइरसको संक्रमणले उनको शरीरमा पारेको असर बाचुन्जेल रहनेछ। उनलाई यो पनि थाहा छ फोनमा बोल्ने मानिसको जीवनमा उनकी श्रीमती ठीक हुनुको खुशी पनि बाचुन्जेल नै रहन्छ। यो बराबरी भने उनलाई निकै मनपरेको छ।
सायद, उनीहरू अस्पतालबाट घर फर्किएपछि फोटो खिच्नेछन्। फेसबुकमा अपलोड गर्नेछन्। क्याप्सनमा लेख्नेछन् - फेमिली टाइम। कुराकानी सुनिरहेकी डाक्टर स्टोरीले भनिन् – 'अब म त्यस्तो फोटोहरू हेर्दा जेलस हुने छैन।'