PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

प्रदेश २ मा २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ४८ जना कैदीमात्रै



सुमित मिश्र

प्रदेश २ मा २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ४८ जना कैदीमात्रै

जनकपुरधाम : प्रदेश २ मा १ सय ४८ कैदीसहित थप २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ५१ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

मंगलवार सिरहामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सिरहामा १ सय ४८ कैदीसहित १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सप्तरीमा ४३, रौतहटमा २३, महोत्तरीमा ७, बारा र धनुषामा ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै, मंगलवार प्रदेशमा १ सय ८१ जना कोरोना मुक्त भएका छन्। ६ महिला र १ सय ७५ पुरुष निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ हजार ५ सय ८३ पुगेको छ। मंगलवार पर्सामा १ सय ६९ जना, बारामा ८ र धनुषामा ४ जना कोरोना मुक्त भएका हुन्।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बारा जिल्लाको डुमरवाना नगरपालिका वडा नम्बर १४ की ५५ वर्षीय महिलाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १२ जना पुगेको छ। हालसम्म ९३ पुरुष र १९ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell