
काठमाडौं : कोभिड-१९ संक्रमणपछि होम आइसोलेसनमै रहेका काँग्रेस महामन्त्री डा शशांक कोइरालालाई ओम अस्पताल भर्ना गरिएको छ।
मंगलवार राति ८ बजे अस्पताल भर्ना भएका काँग्रेस महामन्त्री कोइरालालाई ओम अस्पतालको विशेष निगरानी कक्षामा राखिएको छ।
ओम अस्पतालका मिडिया कोअर्डिनेटर विनोद अधिकारीका अनुसार कोइरालालाई गएराति सवा ८ बजे अस्पताल भर्ना गरिएको हो।
'उहाँ हिजो राती सवा ८ बजे उहाँ अस्पताल भर्ना हुनुभएको हो,' अधिकारीले भने, 'कोभिड-१९ पोजेटिभ देखिएपछि ज्वरो थियो अलिअलि। त्यही भएर उहाँलाई अस्पताल ल्याइएको हो। यहाँ कोभिड विशेष निगरानी कक्षा छ। यसैमा उपचाररत हुनुहुन्छ।'
तीन जना डाक्टरको निगरानीमा महामन्त्री कोइरालाको उपचार जारी रहेको उनले बताए। 'मेडिकल डाइरेक्टर डा विश्वनाथ कोइरालाको नेतृत्वमा टेस्ट फिजिसियन डा सुवोधसागर ढकाल र सघन उपचार विशेषज्ञ डा प्रमेस सुन्दर श्रेष्ठको टोलीले उहाँको उपचार गर्दै हुनुहुन्छ।'
ज्वरोबाहेक अरु स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताए।
ज्वरो बढ्न थालेपछि चिकित्सकको सुझावअनुसार कोइरालालाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।
'सात दिनदेखि लगातार ज्वरो आइरहेको थियो। अस्पताल लैजाँदा नै ठीक हुन्छ भन्ने डाक्टरको सुझाव अनुसार अस्पताल लगिएको हो। अरु अवस्था सामान्य छ,' तिवारीले भने।