काठमाडौं: मैत्रीपूर्ण फुटबल खेल खेल्न तीन देशका फुटबल टिमले नेपाल समक्ष प्रस्ताव राखेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। त्यसका लागि प्रशिक्षण र बन्द रंगशालामा खेल गराउने वातावरण बनाउन एन्फाले राष्ट्रिय खेलकुद परिषदसँग लबिङ पनि सुरु गरेको छ।
बुधवार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष शिक्षित पराजुलीले परिषदका सदस्यसचिव रमेशकुमार सिलवाललाई भेटेर प्रशिक्षण थाल्ने वातावरण मिलाउन लबिङ गरेका छन्।
‘फुटबल प्रतियोगिता गर्ने र ट्रेनिङ सुरु गर्ने भन्ने सन्दर्भमा छलफल भयो। छलफलमा मैले कन्क्रिट कार्यक्रम ल्याउनुहोस। फिफाको प्रोटोकल र नेपाल सरकारको प्रोटोकललाई मेन्टेन गर्नेगरी शुरुवात गर्नका लागि म अगाडि गर्छु। त्यो मैले छलफल पनि चलाइसकेको छु। तर कुन मितिबाट कहाँ कहिले भन्ने तपाईहरुले ल्याउनुहोस भनेको छु,’ सिलवालले भने, ‘उहाँहरुले प्रस्ताव लिएर आइसकेपछि सायद यो आइतवार सोमबार भित्रमा ल्याउनु हुन्छ होला। त्यसपछि निर्णय हुन्छ।’
मैत्रीपूर्ण खेलका लागि तीन देशको प्रस्ताव
एन्फाले नेपाली टोलीसँग खेल्नका लागि पछिल्लो समय तीन देशबाट प्रस्ताव आएको जनाएको छ।
‘मैत्रीपूर्ण खेलका लागि छलफलहरु भइरहेको छ। नेपाल सरकारको नीतिअनुसार केही नगर्नु भनेकाले समस्या भइरहेको छ,’ एन्फा प्रवक्ता किरण राईले पहिलोपोस्टसँग भने, ‘देशभर प्रशिक्षण गर्ने र बन्द रंगशालामा प्रतियोगिता गराउने गरी चाहीँ नेपाल सरकारलाई हाम्रो अनुरोध र अपिल हो। त्यसो नगर्ने हो भने विश्वका अरु देशहरु फुटबलमा अघि बढिसके। हामी चाहीँ अलि पछि पर्ने देखिएकोले फ्रेन्डली म्याचका लागि अरु देश आउन वा हामी जान प्रस्तावहरु आइरहेको हुँदा हामीले सरकारसँग अपिल गरिहेका छौं।’
प्रवक्ता राईका अनुसार धेरै देशहरु आउन चाहिरहेको भएपनि तीन देश, डोमिनिक रिपब्लिक, बंगलादेश र मंगोलियाले प्रस्ताव गरेका छन्। जसमध्ये डोमिनिकन रिपब्लिक र मंगोलियाले नेपालमै खेल्नेगरी प्रस्ताव गरेका छन भने बंगलादेशले नेपाललाई बंगलादेशमै मैत्रीपूर्ण खेल खेल्नेगरी बोलाएको हो।
सुस्त खेलकुद
युरोपमा गएको सिजनको विभिन्न लिगहरु सम्मन्न भएर नेशन्स लिगको समुह चरणका खेलहरु पनि जारी छन्। स्वास्थ्य सतर्कता अपनाउँदै अधिकांश लिगहरु चलिरहेको छ। तर नेपाल लगायत दक्षिण एसियाको अवस्था अलि फरक छ।
केही देशहरुले खेलाडीहरुलाई अभ्यासका लागि स्वीकृति दिएपनि प्रतियोगिता नै भने सुरु भएको छैन। इण्डियन प्रिमियर लिग र पाकिस्तानको इङ्ग्ल्याण्ड टुरलाई छाड्ने हो भने अरु खेलहरु भएका छैनन्। भलै यही क्षेत्रमा पनि विभिन्न देशहरुले अभ्यासलाई निरन्तरता दिएका छन् र तयारीमा छन् विभिन्न प्रतियोगिताको।
नेपाली फुटबल पनि अघिल्लो महिना केही जुर्मुराएको थियो। विश्वकप छनोट अन्तर्गतका नेपालले खेल्ने होम गेमका लागि एन्फाले खेलाडीहरुलाई बोलाएर कोरोना परीक्षण समेत गराएको थियो। तर लगत्तै विश्वकप छनोटका खेल सन् २०२१ सम्मको लागि स्थगित भइदियो। र, काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भयो। अनि त उठ्न खोज्दै गरेको फुटबललगायतका खेलहरुको प्रतियोगिता त परको कुरा अभ्यास पनि ठप्प भयो।
अरु खेलको के हुँदैछ?
राखेप सदस्यसचिव सिलवाल सरकारले अझै खेलकुद क्षेत्र संचालन गर्न स्वीकृति नदिएको भएपनि बिस्तारै यसलाई सुरक्षा मापदण्ड मिलाउँदै खोल्ने गरी पहलकदमी गरिहेको बताउँछन्।
‘अहिले खेलकुदलाई खोलेको छैन। क्रमश अब हामी सबै खेललाई वातावरण बनाउने गर्ने खोल्ने योजनामा छौं। हिजो मन्त्री ज्युसहित सचिव ज्युहरुसँग मन्त्रालयमा छलफल पनि भएको छ।,’ उनले भने, ‘मैले सिसिएमसीमा पनि कुरा गरेको छु। यसको वातावरण सहज बनाउन म लागिरहेको छु।’
