PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

जनकपुर-जयनगर रेल सञ्चालनका लागि रेल सेट र इन्जिन एक हप्ताभित्र नेपाल ल्याउने तयारी



सुमित मिश्र

जनकपुर-जयनगर रेल सञ्चालनका लागि रेल सेट र इन्जिन एक हप्ताभित्र नेपाल ल्याउने तयारी
करिब एक वर्षअघि परीक्षणको लागि जनकपुर ल्याइएको रेल।

जनकपुरधाम : कुर्था-जनकपुरदेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल ल्याउने तयारी थालिएको छ।

कुर्था-जनकपुरधाम-जयनगरसम्म रेल तत्काल सञ्चालनका लागि दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन ल्याउने तयारी थालिएको हो। नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार पारिएको ती दुवै रेल सेट जतिसक्दो छिटो नेपाल ल्याउने तयारी भइरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। रेल बगीको दुवै सेट तथा ४ वटा इन्जिन बिहारको हाजीपुर स्टेशनमा राखिएको र चाडै ल्याइने मिश्रले बताए।

मिश्रले बाधा व्यवधान केही भएन भने शुक्रवार नै रेलको दुवै सेट र चार वटै इन्जिन ल्याइने बताए। हाजीपुरबाट रेल नेपालसम्म ल्याउन ४ देखि ५ घण्टासम्म लाग्ने छ। शुक्रवारसम्म रेलको बगी नेपालसम्म नआए एक हप्ता भित्रै नेपाल आइ पुग्ने महानिर्देशक मिश्रले बताए।

रेल विभागले कुर्था-जनकपुरधाम-जयनगरसम्म रेल गुडाउनका लागि १ अर्बको लागतमा रेलको बगी तथा इन्जिनहरु खरिद गरेको छ। रेल सेटको निर्माण भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो। ती रेल सेटहरुको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको हो।

रेलका सेटहरु नेपाल ल्याउने तयारी गरिएको भएपनि अहिले उद्घाटन गर्ने कुनै योजना नरहेको महानिर्देशक मिश्रले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell