
जनकपुरधाम : कोरोना संक्रमणको बढ्दो अवस्थालाई दृष्टिगत गर्दै बिहीवार जनकपुरमा ४० बेडको सुविधा सम्पन्न आइसोलेसन बनाइएको छ। जनकपुरधाम-७ भ्रमरपुराचोकस्थित राम जानकी आधारभूत प्राथमिक विद्यालयमा आइसोलेसन बनाइएको हो।
महेन्द्र नारायण निधि मेमोरियल अस्पताल र सानो पाइलाको संयुक्त सहकार्य एवं वडा नम्बर-७ को सहयोगमा सो विद्यालय भवनमा आइसोलेसन निर्माण गरिएको हो। राम जानकी प्राथमिक विद्यालयमा बिजुली, पानी लगायतको व्यवस्थापनसहित सुविधा सम्पन्न आइसोलेसन बनाइएको विद्यार्थी नेता सुजित मिश्रले जानकारी दिए।
‘कोरोना संक्रमणको अवस्था अहिले समाप्त भएको छैन। लामो दूरीको यातायातका साधनहरु समेत सञ्चालनमा आइसकेकोले भोलिको दिनमा संक्रमित बढ्नसक्ने अवस्था आउन सक्छ, जनकपुरमा यो लेभलको आइसोलेसन पनि छैन। त्यसैले हामीले यी र यस्ता अवस्थाहरुलाई मध्यनजर गर्दै आइसोलेसन सेन्टर निर्माण गरेका छौं,’ मिश्रले भने, ‘कोरोनाको महामारी बढ्दै गएपछि महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले छुट्टै आइसोलेसन बनाएको हो। आइसोलेसनमा बस्ने संक्रमितहरुका लागि विद्युत्, खानेपानी र शौचालयको समुचित व्यवस्थापनका साथ वाइफाई समेत जडान गरिएको छ।’
आइसोलेसन बनिसकेपछि नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साह, सानो पाइलाका राहुल झालगायतका व्यक्तिहरुले नवनिर्मित आइसोलेसन सेन्टरको अवलोकन गरेका छन्।