जनकपुरधाम : रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि किनेको रेल सेट परिक्षका लागि आज जनकपुरधाम ल्याइएको छ। ६ वर्षको प्रतिक्षा पश्चात कुर्था–जनकपुरधाम –जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन परिक्षणका लागि जनकपुरधाम ल्याइएको हो।
बिहिबार भारतको जयनगर आइपुगेको नेपाली रेल आज दिउँसो करिब २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा पुगेको छ।
एक अर्बको लागतमा किनिएको सो दूबै सेट रेलको ट्रायल गरिएको तथा चाँडै नै सर्वसाधारण यात्रुका लागिसमेत रेल संचालनमा ल्याउने तयारी भई रहेको रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए।
दूबै सेट रेल जनकपुरधाम आई सकेपनि उद्घाटनको कुनै कार्यक्रम नरहेको महानिर्देशक बलराम मिश्रले बताए। मिश्रले रेल सेटको सुरक्षाका लागि फेरी भारतको जयनगर स्टेसन नै फर्काइने बताए।
दूबै रेलको सेटलाई अत्याधुनिक रुपमा डिजाइन गरिएको छ। भारतमा चल्ने इन्टर सिटी एक्सप्रेस जस्तै डिजाइन गरिएको महानिर्देशक मिश्रले बताए। नयाँ रेलमा १३०० सिट क्षमता रहेको छ। विभागका महानिर्देशक बलराम मिश्रले नयाँ रेल डिजेलबाट स्टार्ट हुने जनाए। दूबै रेल सेटमा २÷२ वटा इन्जिन लगाइएको छ। अगाडी पछाडी दूबै तर्फ इन्जिन लगाइएकोले ओहोर दोहोर गर्नका लागि इन्जिन फेर बदल गर्नुपर्ने झन्झट नरह्ने महानिर्देशक मिश्रले बताए।
रेल आएपछि सर्वसाधारणमा उत्साह
नेपाल रेलको ब्रोडगेज रेलको नयाँ इन्जिन आईरहेको समाचार सुने लगत्तै शुक्रबार बिहानैदेखि सर्वसाधारणहरुमा उत्साह देखिएको थियो। हजारौको संख्यामा सर्वसाधारणहरुको भीड देखिएको थियो। सोही भीडमा ७८ वर्षिय हासिम नदाफ पनि थिए। उनले नेपाल रेल फेरि संचालनमा आउने भएपछि हामी धेरै उत्साहित छौँ। उनले भने ‘आफ्नो जिन्दगीमा कोइलाबाट चल्ने ट्रेन देखे, स्टिम इन्जिनबला ट्रेन पनि देखे अब आधुनिक ट्रेन आउने भएपछि निक्कै उत्साहित छु।’
स्थानीय प्रताप कुमार भगतले वैदेशिक रोजगारमा गएको छोरो घर फर्केपछि जस्तो खुशी लाग्छ त्यस्तै खुशी हामीलाई लागि रहेको बताए। उनले रेल्वे संचालनमा आएपछि हामीलाई फेरी रोजगारीको सिर्जना हुनेमा आफू विश्वस्त रहेको बताए।
दुई सेट रेल आउँदा स्थानीयहरुले स्वागत गर्नका लागि हजारौँको संख्यामा जनकपुरधामस्थित प्लेटफर्ममा जम्मा भएका थिए।
तत्काल ३५ किलोमिटर रेल मात्रै चल्ने
वि.सं. १९९४ सालमा भारतमा शासन गरिरहेको इष्ट इण्डिया कम्पनीले नेपालको जंगलबाट काठ लानका लागि रेल्वे लाइनको विस्तार गरेको थियो। त्यो समयमा कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो। पछि भारत सरकारले १८ वटा बगी सहित वाष्प इन्जिन सहयोग गरेपछि २०५१ सालदेखि स्टीम इन्जिनयुक्त रेल संचालनमा आएको थियो। पछि नेरोगेज रेललाइनलाई विस्तार गर्नका लागि २०६१ साल माघ महिनादेखि रेल सेवा बन्द गरिएको थियो।
नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको रेललाइनमा पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालन गर्ने योजना मात्रै रहेको महानिर्देशक बलराम मिश्रले बताए। भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ। परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेको छ।
जस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम पनि चाँडै सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ।
व्यापार फस्टाउने आस
भारतको जयनगर हुँदै नेपालको जनकपुरसम्म चल्ने रेलसेवाले अब आम नागरिक र व्यपारीलाई केही राहत दिने विश्वास छ। सञ्चालनको काम तिब्र रुपमा भईरहेकाले जनकपुरका आम सर्वसधारणदेखि व्यपारीहरुमा आर्थिक समृद्धिको सपना पलाउन थालेको छ।
‘रेलसेवा शुरु भएपछि भारतको विभिन्न ठाउँबाट मालसमान ल्याउनमा त सहज हुन्छ नै, साथै वर्षैंदेखि ठप्प भएको व्यापार पनि फस्टाउँछ। व्यपारी अप्पु साहले भने ‘जनकपुर जयनगर रेल सञ्चालनले जनकपुरको बजार सस्तो हुनुको साथै व्यपारीहरु आर्थिक रुपले सशक्त पनि हुन्छ।’ रेल सेवा सञ्चालनमा आएपछि व्यपारीहरुको व्यपार बढ्नुको साथै बजार क्षेत्र पनि फस्टाउने र स्वरोजगारीको अवसरहरु सिर्जना हुने उनको भनाई छ।