
जनकपुरधाम : प्रदेश २ मा थप १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ३६ महिला र १ सय ४ पुरुष गरी कुल १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
शुक्रवार थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ४४ पुगेको छ। हालसम्म प्रदेशका २ हजार महिला र १० हजार ७ सय ४४ पुरुषमा कोरोना संक्रमण देखिएको छ।
शुक्रवार प्रदेशको बारा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। बारामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, सप्तरीमा २९ जना, पर्सामा १५ जना, सिरहामा ८ जना, धनुषामा ६ जना, रौतहटमा ४ जना र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
साथै, शुक्रवार यस प्रदेशमा ६६ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन्। शुक्रवार प्रदेशको ५६ पुरुष र १० महिला निको भएर घर फर्केका हुन्। योसँगै यस प्रदेशमा निको हुनेको संख्या ६ हजार ९ सय १६ पुगेको छ। निको हुनेहरुमा ७ सय ९१ महिला र ६ हजार १ सय २५ जना पुरुष रहेका छन्।
थप दुई जनाको मृत्यु, मृतकको संख्या ११५ पुग्यो
कोरोना संक्रमणबाट प्रदेश २ मा शुक्रवार थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा धनुषा जिल्लाका दुई जना पुरुष रहेका छन्।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ३ का एक ६८ वर्षीय पुरुष र बटेश्वर गाउँपालिका वडा नम्बर ५ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट कोभिड विशेष अस्पताल जनकपुरमा मृत्यु भएको कोभिड विशेष अस्पताल जनकपुरका संयोजक रामदेव चौधरीले जानकारी दिए। मृतकहरुमध्ये एक जनामा मृगौलाको समस्या थियो भने एक जना मानसिक र मधुमेहका बिरामी रहेको चौधरी ले बताए।
शुक्रवार थपिएका मृतकसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ। हालसम्म प्रदेशको ९६ जना पुरुष र १९ जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको निर्देशक झाले जानकारी दिए। कोभिड-१९ बाट हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सा जिल्लामा ४० जनाको मृत्यु भएको छ।
यस्तै, बारामा १७ जना, धनुषामा १५ जना, महोत्तरीमा १३ जना, सिरहामा ११ जना सप्तरीमा ९ जना, रौतहटमा ५ जना, सर्लाहीमा ४ जना र १ भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ।