PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

संविधान दिवस : प्रदेश २ को राजधानीमा कतै दीप प्रज्वलन त कतै विरोध प्रदर्शन



सुमित मिश्र

संविधान दिवस : प्रदेश २ को राजधानीमा कतै दीप प्रज्वलन त कतै विरोध प्रदर्शन

जनकपुरधाम : संविधान दिवसको अवसरमा जनकपुरधाममा शनिवार कतै दीप प्रज्वलन गरियो त कतै विरोध प्रदर्शन। २०७२ सालमा जारी भएको नेपालको संविधानमा मधेशी जनताहरुको हकअधिकार सुनिश्चित नभएको भन्दै प्रदेश २ को अस्थाई राजधानी जनकपुरधाममा जनता समाजवादी पार्टी नेपालले विरोध प्रदर्शन गरेको छ। यता, जनकपुरको जानकी चौकमा स्थानीय युवाहरुले संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरेका छन्।

संविधानको विरोधमा जसपाले विरोध प्रदर्शन गरेको हो। उनीहरुले असोज तीन, कालो दिन भन्दै जनक चोकदेखि विरोध र्‍याली निकाल्दै नगरका विभिन्न भागको परिक्रमा गरी पुनः जनक चोकमा आएर कोणसभा गरेका थिए।

विरोध प्रदर्शनमा सहभागीहरुले यो विभेदपूर्ण संविधानले मधेशी जनताको हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेशका जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको आरोप लगाएका थिए।

मधेशीको अधिकार खोसेर मधेशी, मुस्लिम, आदीवासी, जनजातीको छाती र  टाउकोमा गोली ठोक्दै असोज ३ गतेका दिन संविधान जारी गरिएकोले यो संविधान आफूहरुलाई मान्य नरहेको प्रदर्शनमा सहभागी प्रशान्त झाले बताए।

प्रदर्शनमा सहभागीहरुले वर्तमान संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग समेत गरे।

सो क्रममा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल, जसपाका संघीय सांसद उमाशंकर अरगरिया, प्रदेश सभा सदस्य रामअशिष यादव, परमेश्वर साह लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

पहिलो पटक संविधान दिवस मनाइयो

संविधान जारी भएको ५ वर्षमा पहिलो पटक जनकपुरमा संविधान दिवस मनाइएको छ। जनकपुरको जानकी चौकमा मधेश आन्दोलनकारीको एक समूहले नेपालको झण्डोत्तोलनसहित दीप प्रज्वलन गरी संविधान दिवस मनाएका हुन्।

संविधान जारी भएको  ५ वर्षपछि यूवाले सार्वजनिक रुपमा सार्वजनिक स्थलमा कालो दिवसको विरोध गर्दै औपचारिक रुपमै प्रदेश सरकार र जसपा नेपाललाई चुनौती दिँदै संविधान दिवस मनाएका हुन्। जनता समाजवादी पार्टी नेपालका यूवा नेता सुशिल कर्णको अगुवाईमा संविधान दिवसको कार्यक्रम मनाइएको हो।

‘संविधानमा केहि त्रुटी रहेको छ तर प्रदेश नम्बर २ को सरकारले सोही संविधानलाई टेकेर सत्तामा रहेर संविधानको विरुद्धमा बोल्नु लज्जास्पद कुरा हो’, युवा नेता सुशिल कर्णले भने, ‘संविधानको विभिन्न धारा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्ने गरेकाले हामीले सो कार्यको विरोध गरेका हौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell