PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'कोरोनाको कहानी' सकिएको छैन, डाक्टर भगवान कोइराला भन्छन् : हौवा नभनौं, विज्ञानलाई पत्याउँ



स्वेच्छा राउत

'कोरोनाको कहानी' सकिएको छैन, डाक्टर भगवान कोइराला भन्छन् : हौवा नभनौं, विज्ञानलाई पत्याउँ

काठमाडौं : सरकारले तेस्रोपटक थप गरेको निषेधाज्ञा गत साताबाट खुकुलो भयो। चैत ११ गतेदेखि लकडाउन लागू भएसँगै प्रभावित व्यापार व्यवसाय निषेधाज्ञा खुकुलो भएसँगै सञ्चालनमा आए। बजारमा चहलपहल देखिन थाल्यो। सडकमा सवारी साधनको चाप बढ्यो।

सरकारले देशमा दैनिक संक्रमण दर बढ्दै जाँदा निषेधाज्ञा खुकुलो बनाएको हो। दैनिक दुई हजारसम्म संक्रमण पुष्टि भइरहेको छ जसमध्ये ४२ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा मात्रै देखिएका छन्।

यस्तै, बीच ‘कोरोना भाइरस केही होइन’ भन्ने विषयमा सामाजिक सञ्जालमा चर्चामा ल्याइयो। टेलिभिजन कार्यक्रममा बहस भयो। सरकारले कोभिड-१९ लाई अतिरञ्जित गरेको तर्कहरू समेत सुनिए। तर्क साबित गर्न केही मानिसले यूरोपमा कोरोना भाइरस अफवाह हो भन्दै गरेका विरोध प्रदर्शनको उदाहरण दिए।

तर, विज्ञहरू भने यस्ता प्रचारले कोरोना भाइरस संक्रमण फैलन थप मद्दत गर्ने बताइरहेका छन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइरालाले यस्ता अफवाहले झनै भयावहको अवस्था सिर्जना गर्ने खतरा देखेका छन्।

हौवा नभनौं, विज्ञानलाई पत्याउँ

‘हामीले विज्ञानलाई पत्याउनु पर्छ र मान्नुपर्छ। नमान्दा क्षतिको अनुमान गर्न सक्दैनौं,’ डाक्टर कोइरालाले भने, 'सबैले आ-आफैँ समाधान खोजेर हुँदैन, कोरोना भाइरसका बारेमा हामीले अधिकारिक व्यक्ति वा विज्ञलाई पत्याउने हो। किनकि उनीहरूले प्रमाणका आधारमा बोल्छन्।'

आधिकारिक विज्ञको कुरा नपत्याउँदा भोलिका दिन अझ भयावह हुन सक्ने उनको कथन रह्यो।

'अरु रोगलाई पनि साधन स्रोत चाहिन्‍छ। कोभिड-१९ फैलनुअघि पनि आम मानिसले भर्नासमेत नपाएर दु:ख भोगेकै थिए। त्यो क्रम यथावत नै छ। त्यसमाथि कोरोनाका कारण हजारौं मानिस सिकिस्त बिरामी परे भने कहाँ लैजाने?,’ उनको प्रश्न छ।

संक्रमणबारे सतर्क नहुँदा त्यसको प्रभाव समग्र मुलुककै स्वास्थ्य प्रणालीमा पर्छ। अस्पतालहरूमा संक्रमितको चाप बढ्छ। अन्य स्वास्थ्य सेवा पनि ठप्प रहन्छ। ‘निषेधाज्ञा खुकुलो भएको छुट दुरुपयोग गर्ने वा जनताले जानी नजानी दूरी कायम नगर्ने हो भने संक्रमण बढ्छ नै। त्यो अवस्थामा सरकारले लक्डाउन जस्तो चरम उपाय लागू गर्ने हो,’ डाक्टर कोइरालाले भने, 'बाध्यात्मक त सधैं गर्ने कुरा हुँदैन। त्यसैले सामान्य अवस्थामै मानिस अनुशासनमा बसे, दूरी कायम गरे निषेधाज्ञा गर्नुपर्दैन थियो।'

त्यसैले कोरोनालाई ‘हौवा’ भन्ने भ्रममा नपर्न डाक्टर कोइरालाले आग्रह गरे।

लकडाउन र निषेधाज्ञाले केही हदसम्म रोक्यो संक्रमण

नेपालमा चैत १० गते दोस्रो व्यक्तिमा संक्रमण पुष्टि भए लगत्तै लकडाउन घोषणा गर्‍यो। प्राय मानिसका लागि ‘लकडाउन’ शब्द नौलो थियो। कोरोना भाइरसबारे बुझाइ र अनुभव थिएन। संक्रमण नियन्त्रणका लागि तयारी पनि शून्य। त्यतिखेर केही थियो भने, त्रासमात्र। मानिसहरु आत्तिएका थिए। त्यसैले पनि सरकारको निर्देशनअनुरुप देश ठप्प रह्यो। त्यतिन्जेल देशमा संक्रमण दर सीमित रह्यो।

जब रोगबाट बच्न भारतमा मजदुरी गरिरहेकाहरू देश फर्कन सीमामा आएर बसे। चौतर्फी दबाव पछि ठप्प गड्डाचौकी, गौरिफन्टा, खलङ्गा, झुलाघाट, जमुना नाका, बेलहैया, काँकडभित्तालगायत नाका एक पछि अर्को गर्दै खुले। यसरी नाका खुला गर्दा के हुन्छ भन्ने पूर्णतयारी हुन सकेन।

'जब सीमा खुल्यो तब भारतबाट आएकालाई दु:ख, सुख क्वारेन्टाइनमा राखियो। क्वारेन्टाइनमा राख्ने प्रावधानले कोरोना भाइरस संक्रमण समूदायमा जान ढिला भएकै हो,' कोइरालाले भने।

आज भाइरस संक्रमण दर उकालो लाग्दै गर्दा पनि मृत्युदर कम हुनुको कारण क्वारेन्टाइन, आइसोलेसन र एसएमएस अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानीटाइजलाई मान्छन् उनी। लक्डाउनले धेरै दु:ख पनि ल्यायो तर संक्रमण नियन्त्रणमा सघायो पनि।

'लकडाउनका कारण मानिसहरू घरभित्रै रहे र त्यो अवधिमा संक्रमण फैलने एउटा साइकलको अन्त्य भयो। जुन गतिमा संक्रमण फैलन सक्थ्यो त्यो सम्भावना रहेन,' उनले भने,

रोगले मर्नु भएन, भोकले पनि मर्नु भएन

लकडाउनका कारण कोभिड-१९ संक्रमण दरमा केही हदको नियन्त्रण रह्यो। तर, करिब ६ महिनादेखि ठप्प आर्थिक गतिविधिले देशको 'आर्थिक स्वास्थ्य'मा भने गम्भीर असर गर्‍यो। सिंगो मुलुक र यहाँका जनताको आर्थिक चक्र असन्तुलित भयो। खुलामञ्चमा खानका लागि लाम लाग्नेको संख्या बढ्न थाल्यो, खानाकै लागि झगडा भएको पनि देखियो। माइतीघर मण्डललगायतका क्षेत्रमा ‘कि काम देउ, कि माम देउ’ भन्दै कपाल काट्ने नाईंहरूसमेत प्रदर्शनमा उत्रिए। निम्न वर्गका नागरिक सबैभन्दा बढी प्रताडित रहे।

त्यसमाथि महामारी कतिन्जेल रहन्छ, निश्चित छैन। महामारीका कारण रोजगारी, पर्यटन, कृषि, साना तथा मझौला उद्योग, व्यापार व्यवसाय लगायत क्षेत्रमा निम्तिएको संकट र त्यसको असर कतिन्जेल रहन्छ, त्यो पनि टुङ्गो भएन।

लकडाउनको अवधिभर देशभर यातायात बन्द भयो। जसका कारण नन- कोभिड बिरामीसमेत उपचारका लागि एक ठाउँबाट अर्को ठाउँमा पुग्न पाएनन्। कोभिड-१९ कै बिरामी पनि सिकिस्त हुँदा सजहै अस्पताल पुग्ने वातावरण बनेन। धादिङका एक संक्रमित त एम्बुलेन्स चालकले आफूलाई सवारी सेवा नदिएको भन्दै मोटरसाइकलमै काठमाडौंसम्म धाए, उपचारका लागि।

काठमाडौंभित्रै पनि चैत १३ गते किड्नीका बिरामी छवि गुरुङले ज्यान गुमाए। उनको स्वास्थ्यमा समस्या देखिएपछि पटकपटक एम्बुलेन्स बोलाए पनि मिलेन। लकडाउनका कारण ट्याक्सी पाइने कुरा थिएन। हेमकुमारी गुरुङले डायलासिसको पालो रहेकै दिन श्रीमान गुमाइन्, रोगभन्दा पनि साधनको अभावमा।

काठमाडौंमै डम्बरबहादुर सिम्खडाले ठेलागाडामा राखेर श्रीमतीलाई डायलासिसका लागि अस्पताल लग्दै गरेको दृश्य धेरैको मन छुने खालको थियो। यी त रहे सतहमा आएका केही उदाहरण। लकडाउनले अनगिन्ति अस्तव्यस्तता छरपस्ट पार्‍यो। बजारसम्म सहज पहुँच नभएकै कारण किसानहरूले सडकमा दूध पोखे, तरकारी मल खाल्डामा हालेर लकडाउनको विरोध जनाए। यी सबै घटनाक्रम नियालिरहेका डाक्टर कोइराला कम्तीमा कृषि उत्पादन बजारसम्म ल्याइदिने र गाउँगाउँका बिरामीलाई स्थानीय सरकारमार्फत् एम्बुलेन्स सेवा परिचालन गरेर अस्पतालसम्म पुर्‍याउने लगायत व्यवस्थापन सरकारबाट हुनुपर्ने बताउँछन्।

 

'अझै पनि अवस्था सुधार्न ढिला भएको छैन। महिनौंदेखि ठप्प ठूला उद्योग, मझौला व्यवसायीदेखि दैनिक मजदुरी गरेर जीवन चलाउनेहरूका लागि लकडाउन खुल्नु खुशीको विषय बन्यो। मानिस रोगले मर्नु भएन। भोकले पनि मर्नु भएन, ' डाक्टर कोइरालाले भने।

कृषि र स्वास्थ्य क्षेत्रबाहेक दैनिक ज्याला मजदुरी गर्ने एवं साना तथा मझौला उद्योग सञ्चालन गर्नेहरूका लागि सीमित मजदुर/कर्मचारी परिचालन गर्न दिइनु पर्ने उनको तर्क छ। सीमित मानिसहरूबीच ‘ट्रेसिङ/टेस्टिङ’ र सुरक्षा मापदण्ड पुर्‍याउन सम्भव हुनसक्छ। 'सीमित कर्मचारीलाई बस्न, खानको व्यवस्थासहित एकै ठाउँमा राख्न र संक्रमणको जोखिम हटाउन सकिन्छ। यसरी अत्यावश्यक सेवा, सुविधा सूचारू राख्दा बजार पनि चल्ने र आर्थिक/सामाजिक पाटोमा पर्ने असर कम हुन्छ,' उनले भने।

ब्यालेन्समा अघि बढ्न सक्नुपर्छ सरकार

अहिले तीन साता लामो निषेधाज्ञा पनि खुलेको छ। प्रभावित भएका ठूला उद्योगहरू पुन: सञ्चालनमा आएका छन्। तर, संक्रमणको जोखिम तिनै ठूला उद्योगहरूमा धेरै छ। किनकि त्यहाँ कामदारको संख्या धेरै हुन्छ। जति धेरै मानिस त्यति नै ठूलो जोखिम। त्यसैले उद्योग सञ्चालकहरूले आफ्ना कामदार/कर्मचारीहरूको जिम्मा लिन, जोखिम कम गर्नका लागि सुरक्षा मापदण्ड पूरा गर्न आवश्यक छ।

‘बारबार गरे पनि लकडाउन आवश्यक थियो। तर, लकडाउनकै कारण मान्छे भोकै मर्न चाहिँ भएन। यस्ता समस्या समाधानका लागि सरकार योजनावद्ध ढङ्गमा अघि बढ्नुपर्‍यो। सुरक्षा मापदण्डहरूको कडाइ र अर्थतन्त्रको संकुचनलाई कसरी ‘ब्यालेन्स’ गर्न सकिन्छ भन्ने सुझावहरू अर्थविदहरुले दिनु भएकै होला,' उनले भने।

डाक्टर भगवान कोइरालाले नेपाल मेडिकल काउन्सिलको अध्यक्षको हैसियतले कोरोना भाइरस नियन्त्रणका लागि कसरी अघि बढ्न सकिन्छ? विज्ञहरूसँग छलफल गरेका थिए। कोभिड-१९ बाहेक अन्य बिरामीहरू समेत स्वास्थ्य सेवाबाट बञ्चित भइरहेको अवस्थामा जनस्वास्थ्य कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने कोइरालाको चासो थियो। उनी लगायत धेरै विज्ञहरुले सरकारलाई सल्लाह दिए। तर, सरकार फरक धारणा राख्ने थरिथरिका विज्ञहरूको सल्लाह सुनेर अलमलियो। कसैले सामाजिक र आर्थिक विकासलाई बढी महत्व दिए त कसैले कोरोना भाइरस हौवा हो भनिरहे।

त्यसो त नेपालमा पहिलेदेखि नै अस्पतालहरूको व्यवस्थापन राम्रो छैन। जनशक्तिदेखि स्रोत, साधनको अभाव छ। औषधिको आपूर्ती पर्याप्त छैन। यस्तो अवस्थामा महामारीविरुद्ध कुनै पनि तयारी पूर्ण नहुनेमा सचेत छन् उनी।

सुरुदेखि नै स्वास्थ्य प्रणाली कम्जोर भएको ठाउँमा स्वास्थ्य क्षेत्रको बेथिति बाहिर आउनु स्वभाविक हो। तर यतिबेला नै हो स्वास्थ्य क्षेत्रले आफ्नो महत्व सावित गर्ने। स्वास्थ्यलाई प्राथमिक एजेण्डाका रुपमा अगाडि लैजाने र भोलिका लागि स्वास्थ्य प्रणालीलाई सुधार्ने।

त्यसो त महामारी नियन्त्रणमा सरकारको तयारीसँगै समाजको चेत, शिक्षा, बुझाइ जिम्मेवारीले पनि असर गर्ने उनको ठम्याइ छ।

हाल उनलाई कोरोना भाइरसको संक्रमण फैलन सुरु हुँदाको अवस्थाले जस्तै पिरोल्न थालेको छ। कोभिड-१९ संक्रमित र नन कोभिड बिरामी एकै ठाउँमा राखेर उपचार गर्न थालियो। त्यसले संक्रमण फैलाउन मद्दत गर्ने डर छ। जुन डर विदेशी अस्पतालमा संक्रमितहरू छट्पटाइ रहेको, शैय्या नपुगेर भुईंभरी लडेको, मृत्युपछि गाड्न ठाउँ नपुगेका विभत्स दृश्य देख्दा लागेको थियो। 

‘त्यस्तो हुन नदिन सरकारले संसारका विज्ञहरूको अनुभव के छ। ती अध्ययन, अनुभव हेरेर हाम्रा विज्ञहरूले कस्ता धारणा बनाएका छन् सुन्ने र त्यसलाई लागू गर्दा कम गल्ती हुन्छ। गल्ती नै नहुने भन्ने चाहिँ होइन,’ डाक्टर कोइरालाले भने, 'जनस्वास्थ्यका कुरा गर्न गाह्रो छ।'

अस्पतालहरूको आर्थिक पाटोको बिषयमा बहस भएन

विज्ञान तथा संसारको अनुभवका आधारमा निर्णय लिनुपर्ने तर्क गर्ने डाक्टर कोइरालाका लागि अर्को चासोको विषय बनेको छ चिकित्सक एवं स्वास्थ्यकर्मीको मनोबल। किनकि उनले सधैं जनस्वास्थ्य सेवामा सक्रिय रहन स्वास्थ्यकर्मीलाई आग्रह गरे। देशमा संक्रमितको संख्या बढ्दै गएपछि अग्रपङ्तिमा उभिएका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूको ‘स्ट्रेस’ बढ्दै गयो। कतै बिरामीको शारीरिक स्थिति कमजोर बन्नुको कारण चिकित्सकको हेलचकर्‍याइ भन्दै उनीहरूमाथि प्रहार भयो त कतै संक्रमण बोकेर आएका भन्दै चिकित्सक एवं अन्य स्वास्थ्यकर्मी बसेको घर घेराउ नै भयो। मनोबल गिरेको छ। जसोतसो ड्युटीमा खटिएका छन्।

‘किनकि स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीको रोजगार आदि विषय पनि प्रत्यक्ष रुपमा जनस्वास्थ्य सेवासँग जोडिएको हुन्छ,’ कोइरालाले भने, 'यस्तो बेला निजी र सरकारी दुवै क्षेत्रका अस्पतालहरूको आर्थिक पाटोको कुरा जति बहस हुनुपर्ने हो, त्यति भएको छैन। हुन जरुरी छ किनकि यो कहानी सकिएको छैन। त्यस्तै स्वास्थ्यकर्मीहरुको स्वास्थ्यको बारेमा पनि त्यत्तिकै चनाखो हुनुपर्दछ।'

विश्वभर कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न देशले विभिन्न रणनीति अपनाएका छन्। कुनै देशमा लकडाउन नगरी भाइरस नियन्त्रणमा आएको छ। कति ठाउँमा कडा लकडाउन गर्दा पनि धेरै क्षति पनि कडै भएको छ। के गरेको भए क्षति कम हुन्थ्यो? भन्ने विषयमा प्रमाणित तथ्याङ्कको अभाव छ। देशलाई कति हानी भयो भन्ने अनुमानमात्र गर्न सकिन्छ। त्यसैले, महामारीविरुद्ध वैज्ञानिक सिद्धान्तमा आधारित भएर नीति बनाउने र त्यसको कार्यान्वयनमा जोड दिनु पर्ने कोइरालाको ठहर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell