जनकपुरधाम : प्रदेश २ मा आइतवार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १२ महिला र ७० पुरुष गरी कुल ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
आइतवार थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय ४६ पुगेको छ। हालसम्म प्रदेशका २ हजार ३१ महिला र १० हजार ९ सय १५ पुरुषमा कोरोना संक्रमण देखिएको छ।
आइतवार प्रदेशको रौतहट जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, सप्तरी र सिरहामा १८/१८ जना, पर्षामा १२ जना र सर्लाहीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
साथै, आइतवार यस प्रदेशमा ३४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। जसमध्ये ३२ पुरुष र २ महिला रहेका छन्। योसँगै यस प्रदेशमा निको हुनेको संख्या ७ हजार ४४ पुगेको छ।
थप ४ जनाको मृत्यु, मृतकको संख्या १ सय २० पुग्यो
कोरोना संक्रमणबाट प्रदेश २ मा आइतवार थप ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुरका एक ६५ वर्षीय पुरुष, रौतहटको गौर नगरपालिका वडा नम्बर १ का ६१ वर्षीय पुरुष, पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ४ विर्ताका ७८ वर्षीय पुरुष र सोही नगरपालिका वडा नम्बर ६ रेशम कोठीका एक ८८ वर्षीय पुरुष रहेका छन्।
योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ। हालसम्म प्रदेशका १०१ जना पुरुष र १९ जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको निर्देशक झाले जानकारी दिए।
कोभिड १९ बाट हालसम्म सबैभन्दा बढि प्रदेशको पर्सा जिल्लामा ४२ जनाको मृत्यु भएको छ। यस्तै, बारामा १८ जना, धनुषामा १५ जना, महोत्तरीमा १३ जना, सिरहामा ११ जना सप्तरीमा ९ जना, रौतहटमा ६ जना, सर्लाहीमा ५ जना र १ भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ।