PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

संरक्षणको पर्खाइमा जनकपुर रेल्वेका इन्जिन, बन्ला त संग्रहालय?



सुमित मिश्र

संरक्षणको पर्खाइमा जनकपुर रेल्वेका इन्जिन, बन्ला त संग्रहालय?
सबै तस्विर गुरु भट्टराईको फेसबुक पेजबाट

जनकपुरधाम: भारतको जयनगरदेखि नेपालको जनकपुरधामसम्म ब्रोडगेज रेल चलाउने तयारी अन्तिम चरणमा पुगिसकेको छ। ‘नेपाल रेल्वे’ अन्तर्गत सञ्चालनमा आउने रेल दसैँअघि नै चलाउने सरकारको योजना छ।

सञ्चालनमा आउन तयार रहेको ब्रोडगेज रेल, रेलमार्गलगायत भौतिक संरचना भारतले नेपाल सरकारलाई हस्तान्तरण समेत गरिसकेको छ। रेलको परीक्षण भइसकेको छ।

एकातिर नयाँ रेलको चर्चा छ अर्कोतिर भने वर्षौँअघि जनकपुर जयनगर चल्ने ‘जनकपुर रेल्वे’का पुराना इन्जिन संरक्षण अभावमा कवाडीमा परिणत भइरहेका छन्। यसअघि सञ्चालनमा रहेको न्यारोगेज रेलका कयौँ सामान संरक्षणको अभावमा चोरी भइसकेका छन्।

राज्यले पुरानो सम्पत्ति बचाउन चासो नदिँदा वाष्प इन्जिन, बोगीलगायतका सामान लथालिंग अवस्थामा छन्। ब्रोडगेज निर्माणकै क्रममा रेल सेवा बन्द भएका पुराना इन्जिन, बोगी र अन्य महत्त्वपूर्ण समान संरक्षण नहुँदा खिया लागेर नष्ट भइरहेका छन्।

सम्पत्तिको संरक्षणका लागि नेपाल सरकारले १६ जना कर्मचारी समेत खटाएको थियो। तर, संरक्षणमा खटिएका कर्मचारीहरूको अत्तोपत्तो नहुँदा ती सामान दिनदिनै चोरी भइरहेका छन्।

जनकपुरधामबाट १५ किलोमिटरको दूरीमा पर्ने खजुरी रेल्वे स्टेसनमा थन्काइएका विष्णु, ब्रह्मा, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीर नामक रेल इन्जिनको संरक्षण हुन सकेको छैन। २०५० सालसम्म वाष्प इन्जिनले सेवा दिँदै आएका नेपाल रेल्वेलाई २०५१ सालमा भारत सरकारले १८ बोगीसहितको डिजेल इन्जिन सहयोग गरेपछि जनकपुरधाम-जयनगर रेल मार्गमा आधुनिक रेल सञ्चालनमा आएको थियो। तर, समय क्रममा उक्त १८ बोगीसहितको उक्त डिजेल इन्जिन भएको रेल पनि बन्द हुँदा रेलको इतिहास नै संकटमा परेको छ।

बन्ला त संग्रहालय?

विश्वभरि नै विस्थापित हुने अवस्थामा पुगिसकेको वाष्प इन्जिन (स्टिम लोकोमोटिभ) रेलका सामानहरूलाई संरक्षण गरेर संग्रहालयको स्वरूप प्रदान गर्नुपर्ने माग उठिरहेको छ। यस विषयमा नेपाल सरकार पनि सकारात्मक देखिएको छ। तर, कुनै ठोस् कदम भने अहिलेसम्म उठाइएको छैन।

महत्त्वपूर्ण र ऐतिहासिक सम्पत्तिको रूपमा रहे पनि यसको संरक्षण र संग्रहालय निर्माणतर्फ कुनै निकायले ध्यान नदिएको आरोप स्थानीय आनन्द झाले लगाए।

झा भन्छन्, ‘सरकारले कुनै ठोस् कदम चालेर पुराना रेलका इन्जिनलाई संरक्षण गर्नुपर्छ।’

यी पुराना इन्जिनलाई संरक्षण संवर्द्धन गर्न सकिए खजुरीलाई एउटा पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने स्थानीय बताउँछन्।

खजुरीमा नेपाल रेल्वेको १० विघाभन्दा बढी जग्गा रहेको छ। त्यही जग्गालाई उपयोग गरेर संग्रहालय निर्माण गर्न सकिने स्थानीयको मत छ।

यता, नेपाल रेल्वेका महाप्रबन्धक गुरु भट्टराई खजुरीमा रहेका पुराना इन्जिन संरक्षणका लागि स्थानीय सरकारसँग पहल गरेको बताउँछन्।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ब्रिटिसले चलाएको स्टिम इन्जिन जसको इतिहास २०० वर्ष छ, यो इन्जिन जर्मनीमा निर्माण भएको हो र यो दुनियाँमा नेपाल बाहेक अन्त कहीँ छैन। यो इन्जिन अहिले जनकनन्दनी गाउँपालिका, खजुरीमा रहेको छ। यसलाई संग्रहालयको रूपमा विकास गर्न स्थानीय सरकार र नेपाल रेल्वेको संयुक्त पहलमा स्थानीय तहसँग पहल गरेको छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell