PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

रौतहटमा २६ जनासहित प्रदेश २ मा थपिए ७६ कोरोना संक्रमित, दुई जना संक्रमितको मृत्यु



सुमित मिश्र

रौतहटमा २६ जनासहित प्रदेश २ मा थपिए ७६ कोरोना संक्रमित, दुई जना संक्रमितको मृत्यु

जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजविराजमा मा गरिएको परीक्षणमा १८ महिला र ५८ पुरुष गरी कुल ७६ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार २२ पुगेको छ। हालसम्म प्रदेशका २ हजार ४९ महिला र १० हजार ९ सय ७३ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

सोमवार प्रदेशको रौतहट जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटमा सोमवार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, सप्तरीमा २४ जना, महोत्तरीमा १४ जना, सर्लाहीमा ७ जना, बारामा २ जना, पर्सामा १ जना र एक भारतीयमा संक्रमण पुष्टि भएको छ।

साथै सोमवार यस प्रदेशमा ४९ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन्। जसमध्ये ४३ पुरुष र ६ जना महिला रहेका छन्। योसँगै यस प्रदेशमा निको हुनेको संख्या ७ हजार ९३ पुगेको छ। निको हुनेहरुमा ८ सय १० महिला र ६ हजार २ सय ८३ जना पुरुष रहेका छन्।

थप २ जनाको मृत्यु, मृतकको संख्या १ सय २२ पुग्यो

कोरोना संक्रमणबाट प्रदेश २ मा सोमवार थप २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ३ का ६२ वर्षीया एक महिला र सोही गाउँपालिका वडा नम्बर १ पर्साहीका ५५ वर्षीय एक पुरुष रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।

योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ। हाल सम्म प्रदेशका १०२ जना पुरुष र २० जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको निर्देशक झाले जानकारी दिए।

कोभिड १९ बाट हालसम्म सबैभन्दा बढि पर्सामा ४२ जनाको मृत्यु भएको छ। यस्तै, बारामा १८ जना, धनुषामा १५ जना, महोत्तरीमा १३ जना, सिरहामा ११ जना सप्तरीमा ११ जना, रौतहटमा ६ जना, सर्लाहीमा ५ जना र १ भारतीय नागरिकको कोरोनाका कारण मृत्यु   भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell