जनकपुरधाम : प्रदेश २ का ८ वटै जिल्लाका पत्रकारहरुको लागि प्रदेश राजधानी जनकपुरधाममा प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणको काम शुरु भएको छ। विभागले साउनदेखि नै हुलाक कार्यालयलाई प्रेस प्रतिनिधि कार्ड नविकरण गर्न सक्ने अधिकार दिएपनि उपकरणको अभावमा जनकपुरधाममा सेवा शुरु हुन सकेको थिएन।
प्रेस प्रतिनिधि प्रमाणपत्र छपाईका लागि नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले आफ्नो व्यत्तिगत तर्फबाट हुलाक कार्यालयलाई एकथान प्रिन्टर उपलब्ध गराएपछि प्रेस प्रतिनिधि प्रमाणपत्रको नविकरणको काम शुरु भएको छ। विभागले प्रमाण पत्र वितरण गर्ने अधिकार दिएपनि प्रिन्टरको आभावमा महिनौंदेखि काम रोकिएको हुलाक कार्यालय जनकपुरधामका प्रमुख रामउदगार अधिकारीले बताए।
हुलाक कार्यालयमा प्रिन्टर उपलब्ध भएसँगै यहाँ नविकरणको काम शुरु भएको हो। पहिलो प्रेस प्रतिनिधि प्रमाण पत्र जानकी साप्ताहिकका सम्पादक एवं वरिष्ठ पत्रकार मदनलाल श्रेष्ठलाई प्रदान गर्दै वितरण कार्यको उद्घाटन गरिएको छ। वरिष्ठ पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको उपस्थितिमा हुलाक कार्यालय जनकपुरधामका प्रमुख रामउदगार अधिकारीले प्रदान गरेका हुन्।
यसअघि पत्रकारलाई नवीकरणका लागि काठमाडौं तथा हेटौँडा जानु पर्थ्यो। सो अधिकार हुलाक कार्यालयलाई दिइएपछि अब काठमाडौं धाउनुपर्ने समस्या अन्त्य भएको नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष अवधेश कामतले बताए। उनले नविकरणको काम जनकपुरमा शुरु भएपछि ८ वटै जिल्लाका पत्रकार यसबाट लभान्वित हुने समेत बताए।