1.jpg)
इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण चलिरहेको छ। कोभिड महामारीका बीच पटकपटक स्थगित भएर हाल युएईमा खेलहरु संचालन भइरहेका छन्। कोरोना कहरका कारण प्रतियोगितामा खेलाडीहरुलाई बायो बबलमा राख्नेदेखि लिएर स्वास्थ्य सुरक्षाको मामलामा कडाइ गरिएको छ।
कोभिड १९ महामारीका बीच खेलाडीहरु विपक्षी टिमका खेलाडीहरुसँगमात्र सामना गरिरहेका छैनन्। खेलाडीहरुले युएईको मौसमसङ्गग पनि जुध्न परिरहेको छ। अबुधावी, दुबइ र शारजाहको गर्मी र ओसले पनि खेलाडीहरुको मुस्किललाई बढाएको छ। किनभने धेरैजसो खेलहरुमा खेलाडीले ४० डिग्री सेल्सियस आसपासको तापक्रममा खेल्नु परिरहेको छ।
यही अफ्ठ्यारोको चर्चा केही दिनअघि एबि डिभिलियर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोर (आरसीबी)को ट्वीटर ह्याण्डलबाट जारी गरिएको भिडियोमा गरेका थिए।
'इमानदार भएर भन्ने हो भने म यस्तो परिस्थितिमा खेल्न अभ्यस्त छैन। यहाँ एकदमै गर्मी छ। यो मौसमले मलाई चेन्नइमा जुलाईको महिनामा टेस्ट म्याच खेलेको याद दिलाउँछ। जसमा वीरेन्द्र सेहभागले हामीविरुद्ध ३०० रन प्रहार गरेका थिए। जीवनमा मलाई त्यो भन्दा गर्मीको अनुभव कहिल्यै भएको थिएन,' डिभिलियर्सले भनेका छन्।
युएईमा लामो समय एउटा स्पोर्टस् च्यानलमा पत्रकारिता गरेका वरिष्ठ पत्रकार युएईमा गर्मी धेरै हुने भएकाले खेलाडीलाई तालमेल बनाउन ठूलो चुनौति हुने बताउँछन्।
'एक त तापक्रम ४० डिग्रीको आसपास हुन्छ। अझ त्यो भन्दा पनि गाह्रो भनेको स्टेडियम बाहिरको बालुवाको क्षेत्र छ। जहाँ गर्मीमा हावा चल्दा अझ धेरै गर्मी हुन्छ। खेलाडीका अगाडि तालमेल बनाउने चुनौती हुनेछ,' उनी भन्छन्।
गर्मीबाहेक पनि तीनै स्टेडियम समुन्द्रको छेउमा हुनाले ह्युमिडिटीको अवस्था पनि धेरै हुने देखिन्छ। जसका कारण खेलाडीहरुलाई डिहाइड्रेसन हुने पनि सम्भावना रहन्छ।
यद्यपि अर्का वरिष्ठ खेल पत्रकार विजय लोकपल्ली युएईको यो अवस्था भारतको अवस्थाभन्दा धेरै फरक नभएकाले भारतीय खेलाडीको सन्दर्भमा ठूलो असर नहुने दाबी गर्छन्।
'आईपीएलको आयोजना भारतमा अप्रिल र मेको गर्मी महिनामा पनि भइसकेको छ। त्यही भएर अवस्था धेरथोर भारतकै जस्तो हुन्छ,' उनले भने, 'जहाँसम्म ह्युमिडिटीको कुरा छ, भारतमा कोलकता, चेन्नइ, मुम्बइ या कोच्चीजस्ता शहरमा हुने म्याचमा पनि खेलाडीहरुले यसको सामना गरिरहेकै हुन्छन्।'
अझ युएईका स्टेडियम त पाकिस्तानले घरेलु मैदानका रुपमा प्रयोग गरिरहेको छ। सन् २००९ मा श्रीलंकाको टिममाथि हमला भएयता पाकिस्तानले अन्तर्राष्ट्रिय म्याचहरुमा युएईका स्टेडियमलाई घरेलु मैदानका रुपमा प्रयोग गर्दै आएको छ। भारत र पाकिस्तानबीचको विवादका कारण पाकिस्तानका खेलाडीहरुलाई आईपीएलमा समावेश नगरिएको धेरै भइसक्यो।
आईपीएलको क्रममा भारतीय खेलाडीलाई धेरै समस्या नभए पनि अन्य विदेशी खेलाडीको सन्दर्भमा कठिन हुने तर्क छ झा को।
'पाकिस्तानमात्र होइन भारतीय उपमहाद्वीपका खेलाडीहरुलाई युएईको मैदानमा खासै गाह्रो नहोला तर विदेशी खेलाडीहरुलाई भने कठिन हुनेछ,' झाले भने।
आईपीएल २०२० मा ५० भन्दा बढी विदेशी खेलाडीले सहभागिता जनाउँदैछन्। उनीहरुलाई युएईको मैदानमा तालमेल मिलाउन कठिन हुने देखिन्छ।
एबि डिभिलियर्सले आरसीबीको उक्त भिडियोमा ह्युमिडिटीको पनि चर्चा गरेका थिए।
'रातिको १० बजे पनि यहाँ ज्यादा ह्युमिडिटी हुन्छ। म यहाँ आएर अघिल्लो महिनाको सँग तुलना गर्दा स्थिति राम्रो त भएको छ तर आफूभित्रको उर्जालाई खेलको अन्तिमसम्म टिकाएर राख्ने चुनौति भने हुनेछ।
पत्रकार लोकपल्लीले भने भारतीय खेलाडीले टिममा स्थान बनाउँदै गर्दा गर्मी, ह्युमिडिटीलगायतका समस्यासँग सामान्य सुविधामै जुधेर टिममा स्थान बनाएका हुनाले मानसिक रुपमा योसँग जुध्न खेलाडीहरुलाई खास कठिन नहुने बताएका छन्।
यद्यपि आईपिएलका लागि राहतको कुरा यो हो कि सबै खेलहरु साँझको समयमा हुँदैछन्, जतिबेला तापक्रम केही भए पनि कम हुन्छ। त्यसमा पनि आईपीएल छोटो फर्म्याट भएकाले लामो समय मेहेनत गर्नुपर्ने पनि हुँदैन।
निरझ झा त्यहाँका स्टेडियममा हुने लामो फर्म्याटका खेलहरुको उदाहरण दिँदै आईपीएलमा तुलनात्मक रुपमा कठिन नहुने बताउँछन्।
'हेर्नुहोस यिनै मैदानमा टेस्ट पनि आयोजना भएका छन्। वान डे क्रिकेट आयोजना भएका छन्। जुन १० बजे सुरु हुन्थ्यो र १२ बजेको कडा घाममा पनि खेलाडीहरु मैदानमै हुन्थे। जबकी यहाँ मार्चदेखि लिएर अक्टोबरको बीचमा ११ बजेदेखि साँझसम्मै मानिसहरु घरमै बस्छन्। यो हिसाबले हेर्ने हो भने त खेलाडीले केही घण्टामात्र मेहेनत गर्नुपर्ने हुन्छ,' उनले भने।
तेन्दुलकरको डेजर्ट स्ट्रोम
त्यसो त आईपीएलको धेरै म्याचहरु अक्टोबरमा हुनेछ। सेप्टेम्बर पनि युएईको तापक्रम पनि कम हुन थाल्छ। यसले खेलाडीलाई राहत मिल्नेछ।
आईपीएलको सिजन ७ को क्रममा अप्रिल महिनामा युएईमा केही खेलहरु भएका थिए। जुन अहिलेको भन्दा धेरै गर्मी तापक्रममा खेलाइएको थियो।
सन् १९९८ मा शारजहाँकै स्टेडियममा गर्मी र ह्युमिडिटीका बीच सचिन तेन्दुल्करले त्यतिबेला दुईवटा उत्कृष्ट शतक बनाएका थिए। सचिनको उक्त शतकलाई 'डेजर्ट स्ट्रोम' भनेर पनि सम्झिइन्छ। किनभने उनको त्यो शतकपछि स्टेडियममा बालुवाको आँधी आयो र खेल रोकियो।
यद्यपि सेप्टेम्बर अक्टोबरमा पनि त्यस्तै आँधी आउन सक्ने सम्भावनालाई युएईको मौसम विभागले नकारेको छैन।