PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

स्थलगत रिपोर्ट नआउँदै सरकारले चीनकै भूमि भन्नु गलत : काँग्रेस



स्थलगत रिपोर्ट नआउँदै सरकारले चीनकै भूमि भन्नु गलत : काँग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हुम्लाको लाप्चास्थित सीमामा चीनले बनाएको भवनबारे सरकारले दिएको धारणाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

बिहीवार पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै जिल्लाको  स्थलगत टोलीको रिपोर्ट नआउँदै सरकारले चीनकै भूमि भन्नु गलत भएको जनाएको हो।

'सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ,' काँग्रेसको विज्ञप्तिमा भनिएको छ, 'सरकारको जिल्लास्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासमेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन।'

स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको काँग्रेसले दाबी गरेको छ।

अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो/होइन भन्नेबारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको काँग्रेसले जनाएको छ।

काँग्रेसले सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने सुझावसमेत सरकारलाई दिएको छ।

'बिहीवार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किए पश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रिया मार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउँदछौं,' काँग्रेसले भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell