जनकपुरधाम : कोरोना महामारी नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनको करिब ७ महिनापछि होटेल व्यवसाय पूर्ण रुपमा खुलेपनि पाहुना नआउँदा व्यवसायी चिन्तित देखिएका छन्। एक सातादेखि होटेल व्यवसाय पूर्ण रुपमा खुल्ला भएपनि होटेल क्षेत्रको करिव ९० प्रतिशत कारोबार हिस्सा ओगटेको पर्यटन क्षेत्र, सभा, गोष्ठी र समारोह जस्ता कार्यक्रमहरु नहुँदा व्यवसाय ठप्प भएको हो।
स्वास्थ्य सम्बन्धी आवश्यक सुरक्षा मापदण्ड पालना गरेर होटेल खोलिएपनि पर्यटन र सामूहिक भेला हुन नसक्दा होटेलमा पाहुना नआएको होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले बताए।
‘सरकारले आवश्यक सतर्कता अपनाएर होटेल खुला गर्न अनुमति दिएको छ। अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका लागि खुला गरेका छन्। रेस्टुरेन्ट सेवा पनि दिएकै छन्’, गौतमले भने, ‘तर, पर्यटक क्षेत्र नजुर्मुराउँदा पाहुना आउन गति लिन सकेको छैन।’
मासिक डेढ अर्ब घाटा
प्रदेश २ मा साना/ठूला गरी करिब १ हजार २ सय जति होटेल सञ्चालनमा छन्। अध्यक्ष गौतमका अनुसार एक होटेललाई मासिक करिब २ लाखसम्म घाटा भइरहेको छ। यस हिसाबले प्रदेश २ को होटेल क्षेत्रले करिब डेढ अर्ब जति मासिक घाटा बेहोरिरहेका छ।
निषेधाज्ञा भन्दा पहिले होटेलहरुलाई नाफा पनि यहि आधारमा भइरहेको गौतमले बताए।
‘लकडाउन भन्दा पहिला कुनै–कुनै होटेल १० लाखदेखि १५ लाखसम्म पनि आम्दानी गर्ने गरेका थिए’, गौतमले भने, ‘सानो होटेल फेरि ३० हजारदेखि ५० हजार रुपैयाँसम्म मात्र आम्दानी गरेका थिए।’
खर्च लाखमा, आम्दानी शुन्य
जनकपुरधामस्थित रामानन्द चौकमा रहेको होटेल सिता प्यालेसका सञ्चालक जीवनाथ चौधरीले मासिक २ लाख खर्च भइरहेको र आमदानी शून्य रहेको बताए। उनले लकडाउन अघि होटेल सञ्चालनमा रहँदा मासिक ८ देखि १० लाख रुपैयाँ आम्दानी हुँदै आएको बताए।
आम्दानी ८ देखि १० लाखसम्म हुँदा सबै खर्च काटेर करिब ४ देखि ५ लाखसम्म बचत हुने गरेको चौधरीले बताए। उनले लकडाउनपछि होटेल पूर्णरुपमा बन्द हुँदा मासिक २ देखि ३ लाख रुपैयाँसम्म खर्च भएपनि आमदानी शून्य रहेको बताए।
‘लकडाउनपछि होटेल खुलेको एक साता बित्न लाग्यो तर पाहुना भने अझै आएका छैनन्। अझै अब पाहुना पर्खदै छौँ’, चौधरीले भने, ‘बैंकको ब्याज नै ६ महिनामा ३० लाख रुपैयाँ तिर्नुपरेको छ। होटेल सञ्चालन भए पनि नभए पनि बिजुलीको बिलदेखि कर्मचारीसहित अन्य खर्च हुने नै गरेको छ।’
होटेलको न्यूनतम बिजुली बिलमा माग शुल्कको आधारमा खपत भए पनि नभए पनि ३० देखि ५० हजार रुपैयाँसम्म बिल तिर्नुपर्ने उनले बताए।
यस्तै, जनकपुरधामको भैरव चोकमा रहेको होटेल शुभमका सञ्चालक सुरेन्द्र भण्डारीलाई पनि चौधरीलाई झैँ पीडा छ। पर्यटक आगमन शुरु नभइ कुनै पनि होटेल व्यवसायीले आम्दानी गर्न नसक्ने भण्डारीले बताए।
‘होटेलको प्रमुख व्यापार नै रुम बिजनेश र बैन्क्वेट सञ्चालन हो’, भण्डारीले भने, ‘ठूला होटेलको ९० प्रतिशत व्यापारिक हिस्सा ओगटेका यी दुवै क्षेत्र नचल्ने अवस्थमा अरु १० प्रतिशतको लागि रेस्टुरेन्ट मात्रै सञ्चालन गरेर फाइदा हुँदैन। ’
होटेल व्यवसायीलाई गति लिन निषेधाज्ञा नभए अझै ४/५ महिना लाग्ने उनको अनुमान छ।