
जनकपुरधाम : प्रदेश २ मा बिहीवार थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १३ महिला र ३० पुरुष गरी कुल ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ५१ पुगेको छ। हालसम्म प्रदेशका २ हजार ७५ महिला र ११ हजार ७६ पुरुषमा कोराना संक्रमण देखिएको छ।
बिहीवार प्रदेशको पर्सा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, सप्तरीमा १० जना, बारा, सिरहा र धनुषामा ५/५ तथा सर्लाही र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
साथै, बिहीवार ३१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन्। बिहीवार प्रदेशका २६ पुरुष र ५ जना महिला निको भएर घर फर्केका हुन्। योसँगै यस प्रदेशमा निको हुनेको संख्या ७ हजार २ सय १३ पुगेको छ। निको हुनेहरुमा ८ सय २५ महिला र ६ हजार ३ सय ८८ जना पुरुष रहेका छन्।
थप एक जनाको मृत्यु, मतकको संख्या १ सय २४ पुग्यो
प्रदेश २ मा कोरोना संक्रमणबाट बिहीवार थप एक जनाको मृत्यु भएको छ। बिहीवार प्रदेशको सप्तरी जिल्लाको जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत रहेका ६६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको निमित्त निर्देशक झाले जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २४ पुगेको छ। हालसम्म प्रदेशका १०५ जना पुरुष र १९ जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको निर्देशक झाले जानकारी दिए।
कोभिड-१९ बाट हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सामा ४२ जनाको मृत्यु भएको छ। यस्तै, बारामा १८ जना, धनुषामा १५ जना, महोत्तरीमा १३ जना, सिरहामा १२ जना, सप्तरीमा १२ जना, रौतहटमा ६ जना, सर्लाहीमा ५ जना र १ भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ।