
जनकपुरधाम : प्रदेश २ मा शुक्रवार थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १२ महिला र ८३ पुरुष गरी कुल ९५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का नमित्त निर्देशक विजय झाले जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४६ पुगेको छ। हालसम्म प्रदेशका २ हजार ८७ महिला र ११ हजार १ सय ५९ पुरुषमा कोरोना संक्रमण देखिएको छ।
शुक्रवार प्रदेशको रौतहटमा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रवार रौतहटमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, सप्तरीमा ९ जना, सर्लाहीमा १३ जना, पर्सामा १२ जना, बारामा ६ जना, सिरहामा ९ जना धनुषामा १० जना र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
साथै शुक्रवार यस प्रदेशका जम्मा २४३ जना संक्रमणमुक्त भएर घर फर्केका छन्। शुक्रवार प्रदेशको १९८ जना पुरुष र ४५ जना महिला निको भएर घर फर्केका हुन्। योसँगै यस प्रदेशमा निको हुनेको संख्या ७ हजार ४ सय ५६ पुगेको छ। निको हुनेहरुमा ८ सय ७० महिला र ६ हजार ५सय ८६ जना पुरुष रहेका छन्।
थप एक जनाको मृत्यु, मतकको संख्या १२५ पुग्यो
प्रदेश २ मा कोरोना संक्रमणबाट शुक्रवार थप एक जनाको मृत्यु भएको छ। शुक्रवार पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बंकटवा टोलका एक ७७ वर्षीय पुरुषकोे कोरोना संक्रमणबाट ज्यान गएको निमित्त निर्देशक झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ।
हालसम्म प्रदेशको १०६ जना पुरुष र १९ जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको निर्देशक झाले जानकारी दिए। कोभिड १९ बाट हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सामा ४३ जनाको मृत्यु भएको छ। यस्तै, बारामा १८ जना, धनुषामा १५ जना, महोत्तरीमा १३ जना, सिरहामा १२ जना सप्तरीमा १२ जना, रौतहटमा ६ जना, सर्लाहीमा ५ जना र १ भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ।