- विष्णु तामाङ-
भदौ ३१ गते दिनको ३ बज्नै लाग्दो हो, मोबाइलमा घण्टी बज्यो। हेरें, 'आफ्नै गोपालजी'ले फोन गर्नुभएको रहेछ।
गोपालजी अर्थात् मेरा श्रीमान गोपाल तामाङ।
कुराकानीपछि झस्कें म। 'मेरो रिपोर्ट पोजेटिभ आयो' उहाँले भन्नुभयो।
फेरि थप्नुभयो - तिमीहरु तुरुन्तै स्वाब दिन जैन भवन जाउ।
तुरुन्तै दुई छोरालाई सुनाए। उनीहरु पनि चकित परे।
श्रीमानलाई कोरोना पुष्टि भयो र हामी कन्ट्याक्ट ट्रेसिङमा पर्यौं भन्ने बुझियो। र, हामी गयौं जैन भवन।
हामी विराटनगर महानगरपालिका वडा ५ का बासिन्दा। महानगरपालिकाले स्वाब संकलन गर्ने ठाउँ हो जैन भवन।
गोपालजीले ५ दिनअघि स्वाब दिनुभएको थियो। उहाँका सहकर्मीहरु अधिकांशमा कोरोना संक्रमण देखिएको र कोही होम आइसोलेसन त कोही प्रदेश र स्थानीय सरकारले व्यवस्थापन गरेका आइसोलेसन केन्द्रहरुमा उपचाररत थिए। त्यसैले पनि गोपालजी आफ्नो स्वाब परीक्षणका लागि दिएपनि ड्युटीमा खटिइरहनु भएको थियो।
महानगरपालिकाका सवारी चालकको रुपमा कार्यरत हुनुहुन्छ उहाँ।
स्वाब दिए पनि रिपोर्ट नआउँदै काममा खटिइरहेको बिषयमा हामीबीच धेरैपटक विवाद पनि हुन्थ्यो। एक त स्वाब दिएको, अर्को कार्यालय पनि पाँच दिनका लागि बन्द भएकाले घरमै बस्नु हामी भन्थ्यौ। तर उहाँलाई कार्यालयबाट कामका लागि फोन आइरहने। ड्युटीमा जानै पर्ने।
भदौ २४ गतेसँगै काम गर्ने साथीलाई कोरोना पुष्टि भएपछि भने उहाँ प्रत्यक्ष कन्ट्याक्ट ट्रेसिङमा पर्नुभयो। तर उहाँलाई कुनै पनि लक्षण देखिएको थिएन। र, अहिले पनि छैन|
दुई दिनअघि सँगै बसी कुराकानी गरेको साथीलाई जरो, रुघा लागेको रहेछ। यता पिनासको समस्या भएकाले गोपालजीलाई पनि धेरैजसो रुघाले नै सताउने गर्थ्यो। पिनासले बाह्रै महिना नाक बन्द हुने समस्या त थियो नै।
जोगिएर काम गर्दागर्दै लागिहल्यो कोरोना। पहिले सावधानी अपनाएकै थियौं। उनको लागि बैठक कोठा छुट्याएका थियौं। पोजेटिभ देखिए बरन्डामा सुत्ने व्यवस्था गरेका थियौं।
अहिले सोच्दा लाग्छ हामीले सावधानी अपनाएर ठीकै गरेछौं। किनकी हाम्रा दुइ छोराहरु पनि छन्। उनीहरुलाई संक्रमित हुनबाट बचाउनु हाम्रो मुख्य उद्देश्य हो। कर्तव्य पनि हो।
त्यसबेलादेखि नै खाना बाहिर, सुत्ने बाहिर अनि लगाउने लताकपडा त पहिलेदेखि नै बाहिर हुन्थ्यो उहाँको।
बेड छुट्टै, ट्वाइलेट छुट्टै, थालभाडा छुट्टै प्रयोग गरिन्थ्यो।
ड्युटी नै त्यस्तै। प्राय रातको ११/१२ बज्थ्यो घर आइपुग्ने। दिनभरी संक्रमितको घरघरमा स्प्रे गर्न, उनीहरुलाई विभिन्न औषधि पुर्याउने अनि पीसीआर परीक्षणका लागि स्वाब संकलक टोलीसँगै खटिनुपर्ने।
समुदायस्तरमै संक्रमण फैलिसकेकाले फ्रन्टलाइनमा खटिने मान्छे भएकाले कुनै न कुनै दिन उहाँमा संक्रमण देखिने छ भन्ने कुरामा म पहिलेदेखि नै मानसिक रुपमा तयार थिएँ।
फरक यति थियो कि हाम्रो छोराहरुलाई कसरी सुरक्षित राख्ने?
उनी संक्रमित भएपछि सोही दिन हामीले स्वाब दिएका थियौं। रिपोर्ट के आउला भन्ने चिन्ताले छटपटी।
गोपालजी पटकपटक रिपोर्टका लागि सम्बन्धित निकायमा फोन गरेर सोध्नुहुन्थ्यो। उनमा संक्रमणको लक्षण नदेखिएकोले हामीमा संक्रमण छैन होला भन्ने लाग्थ्यो। तर कतै मलाई पो पोजेटिभ देखिने हो कि जस्तो पनि लाग्थ्यो।
किनकी म त उनको लागि आवश्यक व्यवस्थापनमा तल्लिन थिएँ। म नै उहाँको कपडा धुने अनि खाना खाएको भाडाहरू सफा गर्छु। तर, पनि मेरा छोराहरु सुरक्षित छन् भन्नेमा विश्वस्त थिएँ।
उनको रिपोर्टको प्रतिक्षाले बेलाबेलामा तनावमा हुने हामी पछि हाम्रै रिपोर्टको पर्खाइमा तनावग्रस्त बन्न पुग्यौं।
छोराहरु, आफन्त सबै सोधिरहन्थे, 'के भो हाम्रो रिपोर्ट' ?
असोज १ गते राति ८ बजेतिर रिपोर्ट आउँछ भनिएको थियो। तर, मैले गोपालजीलाई भो छाडिदिनु राति नासोधुम, बरु बिहान बुझौंला भने।
उहाँले पनि मैले भने झैँ गर्नुभयो। तर म भने छटपटीले सुत्न सकेको थिइनँ। असोज २ गते बिहान १० बजेतिर हामी (दुई छोरा र मेरो) सबैको रिपोर्ट नेगेटिभ भन्ने खबर आयो। बच्चाहरु त खुसी भए। हाम्रो रिपोर्ट नेगेटिभ आएकोमा एक मन खुसी भयो अर्को मन खुसी हुन सकेन। किनकि गोपालजीको रिपोर्ट पोजेटिभ थियो।
घरमै राख्ने कि आइसोलेसनमा पठाउने?
सामाजिक विकास मन्त्रालय र उहाँ आफै काम गर्ने कार्यालयबाट फोन आयो- आइसोलेसनमा जान भनेर। घरमा बस्ने व्यवस्था छ र केही समस्या भए सम्पर्कमा रहन्छु भनी १० दिनदेखि उनी भने होम आइसोलेसनमै हुनुहुन्छ।
मैले पनि यसअघि नै कोरोनालाई जितिसकेका साथीहरुसँग होम आइसोलेसन र यसका सावधानीका बारेमा खोजी गरेँ। उनीहरुले सुझाएअनुसार नै गरिरहेको छु।
गोपालजीसँग भौतिक दुरी बनाए पनि भावनात्मक रुपमा झनै नजिक भएका छौं हामी। परैबाट एकछिन एकछिन बोल्छु। पहिले सामाजिक सञ्जालमा हामीले कुरा गर्दैन थियौं। तर अहिले कोठाभित्रबाट घरीघरी त फेसबुकमा च्याटिङ नै गर्छु।
एक अर्काको मन भुलाउन। केही हुदैन ठीक हुन्छ तनाव नलिनु भनेर सम्झाउँछु।
यतिसम्म की राम्रो नाच्नुहुन्छ भन्दै गोपालजीलाई टिकटक बनाउन पनि उत्साहित गर्छु।
@theenggopal ♬ original sound - Simrat Chhabra
कोरोनाको औषधि नभए पनि पारिवारिक साथ, सहयोग, माया, खानपान, शारीरिक व्यायाम, सरसफाई, तातोपानी, बाफ लिने अनि आफ्ना आफन्त, छरछिमेकी र शुभचिन्तकले यस्तो बेला देखाउने व्यवहार नै यसको ठूलो औषधि रहेछजस्तो लाग्छ।
साथीभाई, आफ्ना आफन्तहरुले, छिमेकीले पनि केही काम परे हामीलाई भन्नु नि भनेमात्र पनि मनमा धेरै खुसी हुने रहेछ।