जनकपुरधाम : चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवा नेपाल समितिले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ।
विरोध र्याली जनकपुरधामको रामानन्द चोकबाट शुरु भई जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। समितिको प्रदेश २ का अध्यक्ष मोहन सिंहको नेतृत्वमा भएको प्रदर्शनमा युवाले ‘ब्याक अफ चाइना’, ‘चिनियाँ अतिक्रमण बन्द गर’, ‘मिचिएको नेपाली भूमि फिर्ता गर’, ‘चिनियाँ साम्राज्यवाद मुर्दावाद’ लगायतका नारा लगाएका थिए। उनीहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीविरुद्ध समेत नारा लगाएका थिए।
सो क्रममा नेपाल विद्यार्थी संघ महोत्तरीका अध्यक्ष आशुतोस झाले चिनियाँ अतिक्रमणविरुद्ध नेपाल सरकार समेत मौन रहेको समयमा चिनियाँ साम्राज्यवादविरुद्ध आफूहरु प्रदर्शन गर्न बाध्य हुनु परेको बताए।
यस्तै, युवा गुड्डु पाण्डेले नेपाली भूमिको अतिक्रमण आफूहरुका लागि सह्य नरहेको बताए। उनले भारततर्फबाट होस् वा चीनतर्फबाट नेपाली भूमिको अतिक्रमणविरुद्ध आवाज उठाउन आफूहरु सदैव तयार रहेको बताए।
अर्का युवा नेता राकेश बिक्रम साहले नेपाली भूमि अतिक्रमण भइरहँदा समेत सरकारले त्यसको विरोध गर्नुको साटो उल्टै अनभिज्ञयता प्रकट गर्नु लज्जास्पद रहेको बताए।
केही दिन अगाडी मात्रै हुम्लास्थित नेपाली भूमिमा चीनले निर्माण कार्य गरिरहेको समाचार बाहिरिएको थियो। यद्यपि नेपाल सरकारले नेपाली भूमिमा चीनको तर्फबाट अतिक्रमण नभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्पष्ट पारेका थिए।