जनकपुरधाम : प्रदेश २ मा शनिवार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १२ महिला र ४५ पुरुष गरी कुल ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का नमित्त निर्देशक विजय झाले जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ३ सय ३ पुगेको छ। हालसम्म प्रदेशका २ हजार ९९ जना महिला र ११ हजार २ सय ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।
शनिवार प्रदेशको पर्सा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, सप्तरीमा १० जना, रौतहटमा १६ जना, बारा र धनुषामा ३/३ जना र सिरहामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
साथै, शनिवार यस प्रदेशका जम्मा ७० जना संक्रमणमुक्त भएर घर फर्केका छन्। शनिवार प्रदेशको ६३ जना पुरुष र ७ जना महिला निको भएर घर फर्केका हुन्। योसँगै यस प्रदेशमा निको हुनेको संख्या ७ हजार ५ सय २६ पुगेको छ। निको हुनेहरुमा ८ सय ७७ महिला र ६ हजार ६ सय ४९ जना पुरुष रहेका छन्।
थप दुई जनाको मृत्यु, मतकको संख्या १२७ पुग्यो
प्रदेश २ मा कोरोना संक्रमणबाट शनिवार थप दुई जनाको मृत्यु भएको छ। शनिवार प्रदेशको सप्तरी जिल्लाको राजबिराज नगरपालिका वडा नम्बर ३ का ६३ र ७१ वर्षीय पुरुषकोे कोरोना संक्रमणबाट मृत्यु भएको निमित्त निर्देशक झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २७ पुगेको छ।
हालसम्म प्रदेशका १०७ जना पुरुष र २० जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको निर्देशक झाले जानकारी दिए। कोभिड १९ बाट हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सा जिल्लामा ४३ जनाको मृत्यु भएको छ। यस्तै, बारामा १८ जना, धनुषामा १५ जना, महोत्तरीमा १३ जना, सिरहामा १२ जना सप्तरीमा १४ जना, रौतहटमा ६ जना, सर्लाहीमा ५ जना र १ भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ।