PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

रंगबहादुरको बेरंग जिन्दगी : जब ५ वर्षीय छोराको दुवै किड्नी बिग्रियो…



स्वेच्छा राउत

रंगबहादुरको बेरंग जिन्दगी : जब ५ वर्षीय छोराको दुवै किड्नी बिग्रियो…

खुट्टाको बन्धन खुले कस्तो हुँदो हो? रंगबहादुरले यस्तो सोच्न थालेको ६ महिना बढी भयो।

कालीकोटको अनकन्टार गाउँ लालूबाट छोराको उपचारका लागि आएका उनी गत फागुनदेखि काठमाडौंमा छन्।

काठमाडौंको बसाई उनका लागि कुनै बन्धनभन्दा कम छैन। नहोस् पनि किन?

एकातर्फ पाँच वर्षको छोरो जीवन र मृत्युको दोसाँधमा छ। अर्कोतिर उनको जीवनका कयौँ उद्देश्य अलपत्र।

रंगबहादुर विश्वकर्माको विवाह २०६९ सालमा भयो। चार वर्षपछि २०७१ सालमा छोरो जन्मियो। त्यतिबेला उनी भारतको बैङ्गलोरमा थिए, सेक्युरिटी गार्डको जागिरे। श्रीमती गर्भवती भएपछि आइपर्ने जिम्मेवारी निभाउनै उनी मुग्लान पसेका थिए. धन कमाउने आशामा। जसका कारण उनले प्लस टू पछिको पढाई त्याग्नु पर्‍यो।

छोरो जन्मिएको दुई वर्षपछिमात्र उनी कालीकोट फिरे। छोरो बोल्ने भैसकेको थियो। त्यतिबेला सम्म उनले छोरोको फोटो देखेका थिए त्यो पनि गाउँकै साथीहरूले खिचेर पठाइदिएका।

तर, गाउँ फर्कँदा उनलाई छोरोले चिनेन। रंगबहादुरको मन थोरै खिन्न भयो। त्यो भन्दा बढी मन त उनलाई छोराबाट टाढा हुन बाध्य पारेको गरिबीले पोलेको थियो। छोरो त केही समय पछि बुबा भन्दै लुटपुटिन आयो। तर, गाउँ फर्किएका रंगबहादुरमा उदासिनताको अर्को श्रृङ्खला सुरु भयो।

दुई वर्षको छोरो कहिले ज्वरोले थलिन्थ्यो। कहिले सास नै रोकिएलाझै घ्यारघ्यार गर्थ्यो। शरीरभरी डाबरैडाबर हुन्थ्यो तर भन्न सक्दैनथ्यो – बाबा दुख्यो।

बिरामी छोरो बोकेर कहिले स्वास्थ्य चौकी धाए। कहिले घण्टौं हिँडेर मेडिकलसम्म पुर्‍याए। हरेक पटक उस्तै भयो – उनी छोरोसँगै औषधीको पोको च्यापेर फर्किए। छोरो ठीक हुने आशा बोकेर फर्किए।

रंगबहादुर त्यतिबेला बाँकी रहेको पढाई अगाडि बढाउन चाहन्थे। पढ्न सके पैसा राम्रो आम्दानी हुने जागिर मिल्थ्यो। पैसा कमाउन सके छोरालाई राम्रो स्कूलमा पढाउन सकिन्छ। छोराले राम्रो पढ्न सके आफूजस्तै कहिले स्याउका भारी बोक्न हिमाञ्चल प्रदेश त कहिले बैंगलोरमा बडेबडे भवनहरूको पहरेदार बन्न जानु पर्दैन भन्ने कुरा उनको मनमा गडेको थियो।

त्यसैले उनी काठमाडौं आए। बालाजुमा स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा कम्प्युटर इन्जिनियरिङको परीक्षा दिए। सरकारी छात्रवृत्तीको कोटामा नाम निस्कियो।

पढ्नका लागि धरान जानुपर्‍यो। कलेजको शुल्क तिर्नु पर्दैन थियो। बस्न र खान भारत गएर कमाएको पैसाले पुग्ने आशा थियो उनको। तर, महिना दिन नबित्दै उनको मनगडन्ते हिसाब बिग्रियो। पहिलो महिना होटलमा बसेको बिल नै १० हजार निस्कियो।

‘घरमा नपठाई जोगाएको पैसाले मेरो ६ महिना पनि नधान्ने देखेँ। इन्जिनियरिङको लामो कोर्स कसरी पूरा गर्न सक्थेँ र ! बरु बाँकी पैसा छोराकै उपचारमा खर्चन्छु भन्नेँ सोचेँ,' उनले भने।

उनी पढाई छोडेर फेरि कालीकोट फर्किए। छोरा बोकेर २०७६ को भदौमा सुर्खेत झरे। कोठा भाडामा लिए। उपचार मात्र अघि बढाएनन्, छोरालाई बोर्डिङ स्कूलमा भर्ना गराए। आफ्नो पढाईको सपना छोरामा फूल्दै गरेको देख्थे। मनमनै रमाउँथे।

तर, छोरा रसिम ठीक भएनन्। उसका समस्या हरेक पटक औषधी रित्तिदै जाँदा फर्कदै आउँथ्यो। सुर्खेत अस्पतालका नामी बाल विशेषज्ञ डाक्टरलाई देखाए। तर अहँ! रोग पत्तो लागेन।

गत दशैं ताकादेखि रसिमको शरीर एलर्जीले फुस्रो हुँदै गयो। बेलाबेला शरीरका अंगहरू सुन्निन्थे। एक दुई डोज औषधी चढाए पछि घट्थ्यो। रंगबहादुर भने त्यति बेला भारत पुगेका थिए। छोराको उपचारका लागि पैसा जुटाउनु थियो। दशैं मनाउन प्राय नेपाली घर फर्कन्थे। भारतमा रोजगारीको अवसर बन्थ्यो। दुईचार पैसा हात लाग्थ्यो। पैसा जुटे छोरालाई महँगो अस्पतालमा उपचार गर्न लैजाउँला भन्ने थियो।

तर, फर्कँदा छोरो रोगले गलेको देखे।

एकातर्फ उनको पढाईको सपना टुटिसकेको थियो। अर्कोतर्फ छोराको स्वास्थ्य जटिल बन्दै गइरहेको। उनी भौतारिँदै सुर्खेतस्थित नेपाल बाल क्लिनिक पुगे। उनले राम्रा डाक्टरले महङ्गो शुल्कमा भए पनि क्लिनिकमा उपचार गर्छन् भन्ने सुनेका थिए।

त्यहाँ पनि छोरालाई ठीक बनाउने सपनामा धक्का लाग्यो। डाक्टरले उनलाई त्यहाँ उपचार नहुने रोग लागेको बताए। अवस्था गम्भीर भएको जनाउ दिँदै काठमाडौं लगेर उपचार गराउन सुझाए।

कालिकोटको नरनाथ गाउँपालिकाबाट ३ घण्टा उकाली-ओराली। कालेखोलामा पुगेपछि मान्माबाट आएको बस भेटे। मध्यरातमा सुर्खेत पुगे। भोलिपल्ट बिहान चारै बजेको गाडी छोपे।

झण्डै ४ सय किलोमिटर दूर छोराको गलेको शरीर तङ्ग्राउन हिँडेका थिए। यात्राको २ दिनले उनैलाई गाल्यो।

२०७६ को फागुन २३ मा काठमाडौं आइपुग्दा दिउँसोको २ बजेको थियो। कान्ति बाल अस्पताल बाहिर उभिएर सोचेका थिए – यहाँ त बच्चाका डाक्टर धेरै छन्। उनीहरूले मेरो छोरालाई हेर्छन्। समस्या पत्ता लगाउँछन्। उपचार हुन्छ। अनि छोरा फेरि स्कूल जान्छ। ए, बी, सी, डी… चिन्न बाँकी अक्षरहरू सिक्छ।

‘तर काठमाडौंमा त उपचार गर्न कालिकोटमाभन्दा गाह्रो रहेछ,’ उनले काठमाडौंमा ५२ घुस्सा ५३ ठक्कर कसरी सुरु भयो सुनाए।

रसिमको शरीर फुलेर फुट्न लागेको बेलुनजस्तै भइसकेको थियो। रंगबहादुर कान्ति अस्पतालको ढोकैमा उभिएका थिए, छोरो च्यापेर। उनको औंला घरीघरी छोराको नाक मुन्तिर पुग्थ्यो। सासको गति जाँच्न। जुन निकै धिमा भइसकेको थियो।

तर, अस्पतालको इमर्जेन्सी वार्डमा रसिमलाई राखिएन। ओपीडीमा पालो कुरेर जचाइसक्दा स्थिति आइसीयूमा राख्नुपर्ने भइसकेको थियो। अस्पतालले भन्यो - आइसीयु खाली छैन। आफै व्यवस्था गर्नु। हामी जिम्मा लिन सक्दैनौं।

‘अस्पताल पन्छियो। काखमा छोरा मरे त्यसको जिम्मेवार केवल म हुन्थेँ। छोरालाई त जसरी पनि बचाउनु थियो। तर, कहाँ जाने? मलाई कान्तिभन्दा परको बाटो थाहा थिएन,’ रंगबहादुरले सुनाए।

रंगबहादुर विकल्प खोज्न थाले। उनी अस्पतालका नम्बरहरूमा फोन हान्थे। तर, सम्पर्क हुन सक्दैनथे। किनभने उनलाई फोन गर्दा अगाडि ०१ डायल गर्नुपर्छ भन्ने नै थाहा थिएन। अस्पतालका पालेले उनलाई फोन गर्न सिकाए।

यस पटक फोनमा घण्टी गयो। केही अस्पतालको फोन त उठ्यो। तर, फोन उठाउने कसैले पनि आइसीयू खाली छ भनेन।

हार गुहार गर्दागर्दै कान्तिकै एक डाक्टरले मेट्रो अस्पताल, महाराजगंज जान सुझाए। ती डाक्टरले आफूले त्यहाँ पनि जचाउने आश्वासन दिएका थिए।

रसिम मेट्रो अस्पतालको आइसीयू पुगे। घरबाट बोकेर हिँडेको खर्च त भर्ना गर्नासाथ सकियो। त्यसपछि बैंकमा जम्मा गरेको रकम झिक्दै गए। हरेक पटक औंषधी पुर्‍याउन ढोकामा पुग्दा सोधे – मेरो छोरा ठीक हुन्छ त?

तीन दिन आइसीयूमा राख्दा साढे २ लाख सके। अस्पतालले उनलाई किड्नीको समस्या हुनसक्ने सम्मको सूचना दियो। तर, यकिन भन्न सकेन।

उनी चौथो दिन डाक्टरकै सुझावमा रिपोर्ट देखाउन पाटन अस्पताल पुगे।

किड्नी रोग विशेषज्ञ फिरोज अन्जुमले रिपोर्ट हेरे। भने, ‘छोरालाई पनि अब यतै लिएर आउनुस्।' उनले रसिमको किड्नीमै समस्या भएको बताए। रंगबहादुर रिपोर्ट मात्र बोकेर पाटन पुगेका थिए। फिरोजले नै उनलाई निजी अस्पतालमा किड्नीको उपचार महङ्गो हुने भएकाले पाटनमै आउन भनेका थिए। सरकारी अस्पतालमा विपन्नका लागि किड्नी उपचारमा पाइने सहुलियतबारे जानकारी दिए।

फागुन २७ देखि यता रंगबहादुर छोरासहित पाटन अस्पतालमा छन्।

पाटनमा रसिमलाई पहिलो एक साता आइसीयूमै राखियो। आइसीयूबाट निकालेपछि हो डायलासिस सुरु भएको। पहिलो पटक डायलासिस सकेर निस्कँदा रसिमले सोधेका थिए : ‘बाबा मलाई त धेरै दुख्यो। मेरो घाउ ठूलो छ हो?’

रंगबहादुरलाई त्यो दुखाई मुटुमा महसुस भयो। तर, उनले गर्न सक्ने केही थिएन। जिम्मेवारी ज्यूका त्यूँ। त्यसैले लागे, खर्च जुटाउन। कहिले खाडीमा क्वारेन्टाइनमा बसेका साथीभाइ गुहारे। कहिले भारतमा भएका चिनेजानेका मान्छेसँग सहयोगको हात फैलाए।

जसो तसो पैसा त जुटाइरहेका थिए। तर छोराको घाउ कहिले कता बल्झन्थ्यो त कहिले कता। रसिमको घाँटीमा रगत छिराउन प्वाल पारिएको थियो। त्यसमा क्याथेटर राखिएको थियो। क्याथेटर बिग्रन्थ्यो। इन्फेक्सनको पीडा अबोध बालकले भोग्नुपर्थ्यो। दुख्थ्यो रंगबहादुरलाई। कहिले शरीरमा हाल्दा हाल्दैको रगत पाइपबाट फर्कन्थ्यो। छोरा दुखाईले उफ्रन्थ्यो। बेहोसीमा रंगबहादुर पुग्थे।

छोराको पीडाका बीच अर्को पीडा थप्यो, लकडाउनले।

‘रगत त पाइन्थ्यो तर रगत लिन जान ट्याक्सीले २ हजारको भाडा माग्थ्यो। मसँग कहाँबाट पैसा हुनु?,' उनले सुनाए।

एकपटक छोराको घाँटीमा राखेको क्याथेटर फेर्ने बेला भयो। ८ हजार पर्ने सामान लिन पुग्नुपर्थ्यो, शिक्षण अस्ताल। त्यहाँसम्मको ट्याक्सी भाडा जोड्दा करिब १२ हजार चाहिन्छ। उनको गोजीमा जम्मा ४ हजार मात्र थियो।

अस्पतालकी डाक्टर निर्मला सहयोगी निस्किइन्। उनले क्याथेटर किन्न नपुगेको पैसा हालिदिइन्। साथै अस्पतालमै क्याथेटर मगाइदिइन्। त्यसले उनको ट्याक्सी भाडा जोगियो।

‘देउता जस्तै मान्छेहरू पनि देखेँ,’ रंगबहादुरले सन्तोषको सास फेरे। त्यसो त उनका बाबुछोरालाई बस्न र खानको व्यवस्था पनि पाटन अस्पतालकै डाक्टर र नर्सहरूले गरिदिएका छन्।

उनीहरूकै सिफारिसमा रसिमको फिस्टुलाको शल्यक्रिया भयो। त्यसैले अब उसको शरीरमा महङ्गो क्याथेटर पटकपटक फेर्नु पर्दैन। नफेर्दा हुने इन्फेक्सन हुँदैन। रसिमको दु:खाई केही कम हुन्छ। नत्र २० हजार पर्ने फिस्टुला शल्यक्रिया गराउन पनि रंगबहादुर हात उठाइ सकेका थिए।

डाक्टर र नर्सको सहयोग नपाएको भए रंगबहादुर उहिल्यै छोरा बोकेर कालीकोट फर्कन्थे। कालीकोटमा रसिमको डायलासिस हुँदैन थियो। किड्नीका बिरामीका लागि डायलासिस सास फेर्नु जत्तिकै आवश्यक हुन्छ।

रंगबहादुरसँग काठमाडौंमा कोठा भाडामा लिएर, बसेर, खाएर हरेक साता तीन पटक छोराको डायलासिस गराउन बस्ने खर्च कहाँबाट हुनु?

‘खाना खान समेत पैसा नभए पछि डाक्टर सापलाई डिस्चार्ज लेखिदिन भनेको थिएँ, मुटुमा ढुङ्गा राखेर। तर उहाँहरूले त्यसो गर्न दिनु भएन। कोरोनाले गर्दा खाली भएको अस्पतालमा बस्न दिनु भयो। खान दिनुभयो,’ उनले सुनाए।

चैतमा बायोस्पीका लागि रसिमको शरीरबाट मासु झिकिएको थियो। लकडाउनका कारण उक्त परीक्षणको रिपोर्ट असारमा मात्र आयो। चार महिना नियमित डायलासिस गरेपछि रंगबहादुरले थाहा पाएका थिए – छोरालाई कहिल्यै ठीक नहुने रोग लागेको छ। उसको पीडाको विकल्प जिन्दगीभर डायलासिस गर्नुमात्र हो। र, डायलासिसको विकल्प किड्नी ‘ट्रान्सप्लान्ट’।

यो सबै थाहा पाए यता रंगबहादुर कति पटक भक्कानिए? हिसाब छैन। रसिम त डायलासिस पछि हाँस्छन्, खेल्छन्। मन लागेको खानेकुरा माग्छन्। मोबाइलमा कार्टुन हेरेर खित्खिताउँछन्। खेल्दाखेल्दै थाके पछि कलम कापी माग्छन्। बाङ्गा टिङ्गा धर्साहरू कोर्दाकोर्दै निदाउँछन्।

छोरा निदाउँदा हो रंगबहादुरले आफ्नो जीवन अनि सपना बारे सोच्ने। त्यही बेला हो जिम्मेवारी र यथार्थहरूले तर्साउने।

फागुनमा छोरालाई उपचारका लागि लिएर हिँडेको केही दिन पछि नै उनको राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदका लागि परीक्षा थियो। आफ्नो ‘भाग्य’ ठान्छन्, परीक्षा स्थगित हुनु। परीक्षाको तयारीका लागि गाउँबाटै उनले किताब बोकेर आएका थिए। जब छोरोले नमिल्दा भए पनि अक्षरहरू कोर्छ रंगबहादुरमा पढ्ने उर्जा बढ्छ। तर पढेका कुरा सम्झन सक्ने अवस्था कहाँ छ र? उनलाई त भोलि फेरि कुन औषधीको डोज किन्नुपर्छ। किन्नका लागि को सँग ऋण माग्नुपर्छ भन्ने कुराले नै बढी सताउँछ।

तर, उनलाई यो जागिर खानैपर्छ भन्ने लाग्छ। उनलाई थाहा छ स्थायी जागिर भएन भने जिन्दगी पनि स्थायी हुन्न। जब जब उनी किताब समात्छन् गरिबीबाट उम्कने एकमात्र बाटो देख्छन्।

रंगबहादुर दोधारमा छन्। श्रीमतीलाई कालीकोटबाट काठमाडौं बोलाएर छोरा हेर्न लगाउन र आफू पढ्न चाहान्छन्। तर, फेरि उनको काखमा खेलिरहेको सानो छोरा सम्झन्छन्।

अर्कोतर्फ उनी छोराको किड्नी ट्रान्सप्लान्टबारे पनि सोचिरहेका छन्। त्यसका लागि पाँच देखि ६ लाखसम्म पैसा आवश्यक हुने जानकारी अस्पतालले गराएको छ। तर, पैसाको जोहो गर्न सकेका छैनन्। ऋण दिने मान्छे बाँकी छैनन्।

उनी छोरालाई आफ्नै किड्नी दिन चाहान्छन्। तर, जसरी उनी छोरा रसिमलाई माया गर्छन् त्यसैगरी रंगबहादुरलाई उनकी आमाले माया गर्छिन्। बिरामी नातिलाई किड्नी दिँदा कतै दुवैको ज्यान जोखिममा पर्ने त हैन भन्ने डर उनकी आमालाई छ। रंगबहादुरले आमाको माया र डर बुझेका छन्। आमासँग फोनमा कुरा गर्दा उनलाई बुबा हुनभन्दा बढी गाह्रो छोरा हुन लाग्छ।

यसरी रंगबहादुरको जीवन अहिले बेरंग बनेको छ। डर र पीडा मात्र छ। आशा मारेको छोरा पाँच महिना बढी बाँच्नु वर्षौँ बाच्नु सरह भएको छ। तर कहिलेसम्म? उनी आफैँलाई प्रश्न गर्छन् – सँधै त अस्पतालले पनि कहाँ राख्छ र!

अस्पतालमा बसेर उनको जागिरे बन्ने। मुगलान नभासिने सपना पूरा हुँदैन।

उनी सजिलै हार मान्ने मान्छे भने होइनन्। दुई वर्षअघि उनी सशस्त्र प्रहरीमा भिँडेका थिए। सबै तह पार गर्दै गएका उनी अन्तिम अन्तर्वातामा पुगेर फालिए। कारण – हातमा खोपेको ट्याटु। रहरले खोपेको ट्याटु जागिरकै लागि मेटाउँदै थिए, १० हजार खर्चेर। त्यो रकम जुटाउन पनि उनी सीमा पारी पुगेका थिए। भारी बोकेका थिए। ‘दुर्भाग्य’ धुमिल हुँदै गएको रंगबहादुरको ट्याटु रहरको रंग छर्लङ्गै देखियो।

‘त्यसपछि त झन् जसरी पनि सरकारी जागिर खाने नै हो भन्ने अठोट लिएँ,’ उनले भने।

उनी जागिर खाएर आफ्नो परिवारलाई त्यस्तो ठाउँमा बसाइ सार्न चाहन्छन् जहाँ स्वास्थ्य सेवा र शिक्षाको पहुँच सहज हुन्छ।

‘त्यो ठाउँकै कारण मैले पढाई पूरा गर्न पाइँन। काम पाइँन। मेरो छोराले जन्मदै भोगेको निमोनियाको उपचार पाएन। अहिले छोरा पीडाले छट्पटाउँदा मलाई दुख्छ। श्रीमतीसँग दु:ख साट्न फोन गर्छु, सम्पर्क समेत सहजै हुन सक्दैन,’ उनी गाउँमा अझै बिजुली र बाटोको पहुँच नहुनुलाई अभिषाप मान्छन्।

एक पछि अर्को परिस्थितिको बन्धनमा परेका उनी त्यो क्षणको पर्खाइमा छन् जब छोरा रसिमको उपचार कसरी अघि बढाउने? टुङ्गो लाग्छ। जीवनभर गर्नका लागि डायलासिस त नि:शुल्छ छ। रंगबहादुरका लागि त बाँच्न नै महङ्गो भएको छ यो शहर।

भन्छन्, 'छोरा त हरेक पटक डायलासिस पछि कतै नदुखे सरह रमाउन थाल्छ। तर, मेरो एउटै पर्खाइ छ, यो बन्धनबाट कहिले बाहिर निस्कन सकुँला?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell