जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, कोरोना संक्रमणबाट २ जनाको मृत्यु समेत भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १० महिला र २६ पुरुष गरी कुल ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय २९ पुगेको छ। हालसम्म प्रदेशका २ हजार १ सय १४ महिला र ११ हजार ३ सय १५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमवार प्रदेशको बारा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। बारामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, पर्सा र धनुषामा ६/६ जना, रौतहटमा ३ जना, सिरहामा २ जना, सप्तरी, सर्लाही र महोत्तरीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमवार यस प्रदेशमा अहिले सम्मकै सबैभन्दा बढी कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन्। सोमवार प्रदेशका ९ सय ८७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका हुन्। जसमध्ये २ सय २७ जना महिला र ७ सय ६० जना पुरुष रहेका छन्।
योसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८ हजार ७ सय ३६ पुगेको छ। हालसम्म प्रदेशका ७ हजार ६ सय ८ पुरुष र १ हजार १ सय २८ महिला कोरोना जितेर घर फर्किसकेका छन्।
थप दुई जनाको मृत्यु, मृतकको संख्या १२९ पुग्यो
प्रदेश २ मा कोरोना संक्रमणबाट सोमवार थप दुई जनाको मृत्यु भएको छ। प्रदेशको धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर १ का ६५ वर्षीय पुरुष र सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर ३ की ७२ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको निमित्त निर्देशक झाले जानकारी दिए।
दुवै जनाको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो। योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ। हाल सम्म प्रदेशका १०८ जना पुरुष र २१ जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको निर्देशक झाले जानकारी दिए।
कोभिड-१९ बाट हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सा जिल्लामा ४३ जनाको मृत्यु भएको छ। यस्तै, बारामा १८ जना, धनुषामा १६ जना, महोत्तरीमा १३ जना, सिरहामा १२ जना, सप्तरीमा १४ जना, रौतहटमा ६ जना, सर्लाहीमा ६ जना र १ भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ।