PahiloPost

Jun 15, 2026 | १ असार २०८३

हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय खारेजको माग गर्दै कर्मचारी कालोपट्टी बाधेर विरोधमा



हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय खारेजको माग गर्दै कर्मचारी कालोपट्टी बाधेर विरोधमा

काठमाडौं: विदेशी लगानीमा रहेको निजी कम्पनी हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सुविधा दिने निर्णय खारेजीको माग गर्दै नेपाल वायुसेवा निगम (नेवानि)का कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।

वायुसेवा निगम कर्मचारी संघको अगुवाईमा निर्णय खारेजीको माग गर्दै कर्मचारीहरुले मंगलवार कालोपट्टी बाधेर कार्यालयमै विरोध जनाएका छन्।

संघले सोमवार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

पहिलो चरणका कार्यक्रममा सम्पूर्ण कर्मचारीले कालोपट्टी बाँधेर कार्यालयको काम गर्ने, सञ्चालक समिति, कार्यकारी अध्यक्ष र नायव महाप्रबन्धकको कार्यकक्ष घेराउ तथा तालाबन्दी, विभागीय प्रमुखहरुको कार्यकक्ष घेराउ र दोस्रो चरणको कार्यक्रममार्फत सेवा ठप्प पार्ने संघले जनाएको छ।

संघका अध्यक्ष मान बहादुर कुँवरले विज्ञप्ति जारी गरेर निर्णय सच्याउन माग गरेका छन्। ‘मन्त्रीको ठाडो निर्देशनमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको नाममा एकलौटी रुपमा विदेशी लगानीमा सञ्चालित हिमालय एयरलाइन्सलाई दिने निर्णय गलत छ। राष्ट्र र राष्ट्रिय हित विपरीत छ। परिस्थितिको आँकलन गरी सो निर्णय तत्काल सच्याउन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले मापदण्ड पुरा नगरेरै हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सुविधा दिएको भन्दै आलोचना भइरहेको छ। हिमालयलाई यो सुविधान दिँदा नेपाल एयरलाइन्सको आम्दानीमा प्रभाव पर्नेछ। वार्षिक ४ अर्बभन्दा बढी नेवानिले गुमाउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell