PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश २ मा ४९ जना कोरोना संक्रमित थपिए, १ हजार २०९ जना डिस्चार्ज



सुमित मिश्र

प्रदेश २ मा ४९ जना कोरोना संक्रमित थपिए, १ हजार २०९ जना डिस्चार्ज

जनकपुरधाम : प्रदेश २ मा मंगलवार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, मंगलवार प्रदेशमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु समेत भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ६ जना महिला र ४३ जना पुरुष गरी कुल ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ७८ पुगेको छ। हालसम्म प्रदेशका २ हजार १ सय २० महिला र ११ हजार ३ सय ५८ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

मंगलवार प्रदेशको पर्सा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, सप्तरीमा ६ जना, सिरहामा ५ जना, धनुषा, महोत्तरी र सर्लाहीमा ३/३ जना तथा रौतहट र बारामा १/१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो। यस्तै, अन्य प्रदेशका झापा, बर्दिया र गुल्मी जिल्लाका १/१ जना गरी ३ जनामा समेत संक्रमण पुष्टि भएको छ।

मंगलवार यस प्रदेशमा अहिले सम्मकै सबैभन्दा बढी कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन्। मंगलवार प्रदेशको १ हजार २ सय ९ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका हुन्। जसमा १ सय ७८ जना महिला र १ हजार ३१ जना पुरुष रहेका छन्।

योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ हजार ९ सय ४५ पुगेको छ। अहिले सम्म प्रदेशका ८ हजार ६ सय ३९ पुरुष र १ हजार ३ सय ६ जना महिला कोरोना जितेर घर फर्केका हुुन्।

थप दुई जनाको मृत्यु, मतकको संख्या १३१ पुग्यो

प्रदेश २ मा कोरोना संक्रमणबाट मंगलवार थप दुई जनाको मृत्यु भएको छ। प्रदेशको महोत्तरी जिल्लाका एक पुरुष र एक महिलाको कोरोनाका कारण ज्यान गएको हो।

मंगलवार महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ की एक ७५ वर्षीय महिला र मनरा सिसवा नगरपालिका वडा नम्बर ७ सरपल्लो घर भइ हाल पर्साको जगरनाथपुर गाउँपालिकामा स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहेका ५८ वर्षीय पुरुषको कोभिड १९ संक्रमणबाट मृत्यु भएको निमित्त निर्देशक झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको छ।

हालसम्म प्रदेशका १०९ जना पुरुष र २२ जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको निर्देशक झाले जानकारी दिए। कोभिड १९ बाट हालसम्म सबैभन्दा बढि प्रदेशको पर्सा जिल्लामा ४३ जनाको मृत्यु भएको छ। यस्तै, बारामा १८ जना, धनुषामा १६ जना, महोत्तरीमा १५ जना, सिरहामा १२ जना, सप्तरीमा १४ जना, रौतहटमा ६ जना, सर्लाहीमा ६ जना र १ भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell