मोबाइलमा धमाधम ‘नोटिफिकेसन’ आइरहेको थियो। उनलाई हेर्ने फुर्सद थिएन। १५ महिनादेखि साउदी अरबमा फसेका १० नेपालीको उद्धारको प्रयास अन्तिम चरणमा थियो। साउदीमा रहेको कम्पनीसँग नेपाली कामदारको पसिनाको मूल्य माग्नमा व्यस्त थिइन् उनी। कहिले पीडित नेपालीलाई विदेश पठाउने म्यानपावर सञ्चालकलाई प्रश्न गर्दै थिइन् त कहिले पटकपटक फोन गर्ने पीडितलाई आश्वासन दिँदै थिइन्।
असोज ११ गते साँझ ती नेपालीहरू देश फर्कने टुंगो लाग्यो। उनले राहतको सास फेरिन्। र, फेसबुक खोलिन्। टाइमलाइन भरी छरपस्ट खबरले उनको आँखा बिझायो। समाचार पत्याउनै मुस्किल पर्यो उनलाई। शीर्षकमै लेखिएको थियो – यस वर्षको पद्म श्री साधना सम्मान मोदनाथ प्रश्रितलाई।
कसैले पाउन लागेको सम्मानको खबरले रन्थनिनु स्वभाविक नसुनिन सक्छ। तर, जसका कारण आफूले जीवर भर परिवारकै अपमान सहनु पर्यो, ‘बहुलाही’को पगरी भिर्नु पर्यो, उसको उन्नती खुशीको बहाना बन्न सकेन। उनको खाटा बसेकको घाउ उप्कियो। त्यो कालो विगतलाई फेरि एक पटक फर्केर हेर्नुपर्यो शारदा भुषालले।
+++
उमेरले भर्खर १३ वर्षकी थिइन् शारदा। उनका बुवा धनाढ्य थिए। छोराछोरी काठमाडौंमा बसेर कलेज पढ्थे। तर, बुबाले अरु कसैको विश्वासमा उनलाई काठमाडौं पठाउने भए, पढाउन। उनी छक्क परिन्। किनकि त्यसअघि पोखराको एक बोर्डिङ स्कूलमा पढ्ने मौका पाउँदा बुबाले नै रोक लगाएका थिए।
शारदा भुषाल।
उनका बुबा गुणनिधि भुषाल अर्घाखाँचीका तत्कालीन एमाले नेता। उनी निजी स्कूलको खुलेर विरोध गर्थे। जसका कारण शारदाले आफ्नो बोर्डिङ स्कूलमा पढ्ने सपना त्याग्नु परेको थियो। यस पटक बुबाले पार्टीका मानिसको जिम्मा लगाइ पठाए, बोर्डिङमा पढाउन। एक सरो कपडाको भरमा।
सन् २०४७ सालको वैसाख १ गते निस्किएकी थिइन् उनी। तर, विभिन्न जिल्लामा राजनीतिक कार्यक्रमहरूमा सहभागी बनाउँदै वैसाख दोस्रो साता मात्र काठमाडौं आइपुगिन्। नयाँ ठाउँमा नयाँ स्कूल, किताव, कापी र नयाँ साथीहरू कल्पँदै हिँडेकी थिइन् उनी। सोचेकी थिइनन् जसको पाइला पच्छ्याउँदै थिइन् उसैले पाइतालामुनि पार्छ भन्ने।
उज्वल भविष्य कल्पिएकी उनले आफू अन्धकारमा गाँजिएको तब थाहा पाइन् जब सहनै नसक्ने शारीरिक, मानसिक दुखाई भोग्नु पर्यो। उनका बुवाले विश्वास गरेर पठाएका ती व्यक्तिले डल्लुस्थित एक घरमा लगेर राखिदिए। त्यहीँबाट उनको दुर्दशा सुरु भयो।
ठूलो शहरमा ठूला सपना बोकेर आएकी उनी साँघुरो कोठामा बन्धक बन्न पुगिन्। जसले ल्यायो त्यसले त्यो एकान्त अनि अन्धकारको फाइदा उठायो। त्यो अवोध शरीरसँग खेल्यो। शारदाकै भाषामा भन्दा – 'यौन दासी बनायो। एक डेढ महिना डल्लु र त्यसपछि स्वयम्भुको डेरामा करिब ७ महिना सुईं र ट्याब्लेट खुवाएर लठ्याएर राख्यो। पटकपटक बलात्कार गर्यो।'
सोही वर्षको कार्तिक अन्तिममा उनी त्यहाँबाट भागिन्। बुटवलसम्म एक्लै पुगेकी थिइन् उनी। बुवाको साथी उनलाई एक्लै भौतारिरहेको देखेपछि आफ्नो घरमा लगे। शारदाका दाजु पाल्पामा बसेर पढ्दै थिए। उनलाई बोलाएर शारदाको जिम्मा लगाइ पठाएको कथन छ शारदाको।
‘घरमा त पुगेँ। तर, मलाई कसैले भागरे आउनुको कारण सोधेनन्। उल्टै दोष खेप्नु पर्यो। शारीरिक र मानसिक यातनाबीच कठिन समय सहनु पर्यो,’ उनले सुनाइन्, 'मेरो भोगाइमाथि कसैले विश्वास गरेन। उल्टै मेरो चरित्र र मानसिक स्थितिमाथि प्रश्न उठ्यो। पीडकविरुद्ध कतै केही नबोल्न चेतावनी दिइयो।'
घर फर्किएकी उनी फेरि परिबन्धमा परिन्। साथीसंगी कसैसँग भेट्न पाइनन्। घरभित्रै थुनिइन्।
किनकि उनीविरुद्ध हिंसा गर्ने व्यक्ति थिए – पूर्वमन्त्री मोदनाथ प्रश्रित।
परिवार र समाजले उनलाई सुनेन। १३ वर्षीया उनले कसलाई गएर व्यथा सुनाउनु?
‘आजसम्म पनि मेरा भोगाइहरूमाथि प्रश्न गर्ने, प्रमाणसहित बोल् भन्नेहरू छन्। आजभन्दा ३ दशकअघि अवस्था कस्तो थियो होला? त्यो पनि गाउँघरको परिवेशमा,’ उनले भनिन्, 'छोरी हुनुको साह्रै पीडादायी मूल्य चुकाउनु पर्यो मैले।'
शारदाको किशोर मनोविज्ञान कसैले बुझेनन्। बुझेनन् – अनुभूतिहरूको प्रमाण हुँदैनन्, चाहे ती असल हुन् या खराब। झन् सत्ता र शक्तिको आडमा रहेका मोदनाथ प्रश्रितहरूविरुद्ध त भएका प्रमाण पनि कमजोर साबित हुन्छन् भन्ने बुझेनन्।
+++
परिवारले असह्य पीडा दिएपछि शारदाकी हजुरआमाले नातिनीलाई आफूसँग लिएर गइन्। बुवाले त मर्ने वा घर छाडेर जानु हुकुम दिइसकेका थिए। अर्घाखाँचीकै स्थानीय निकायमा कार्यरत् नवलकिशोर झाले शारदालाई पढाउने र उपचार गराउने आश्वासन दिए। उनले आफ्नो जहाँजहाँ सरुवा भयो त्यहाँत्यहाँ शारदालाई लगे। उपचार गराए। विद्यालय भर्ना गराए। पढाइलाई अघि बढाइन्।
'त्यतिन्जेल मैले आफ्ना भोगाइहरू दुर्व्यवहार हो भन्ने बुझेको थिइँन। समाजले, परिवारले मलाई सहन, चुप लाग्न सिकायो। मैले त्यही सिकेँ,' उनले भनिन्।
झासँग ४ वर्ष सोलुखुम्बु बसाइपछि २०५१ सालमा शारदा महोत्तरी पुगिन्। त्यहाँ महिला हक- अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी भएपछि बल्ल थाहा भयो – आफू सानैदेखि यौन दुर्व्यवहारको शिकार हुँदै आएको यथार्थ।
‘त्यो कार्यक्रमले मलाई आफूभित्रको म चिनायो। मैले समाजको वास्तविकता बुझेँ जुन कदापि स्वीकार्य थिएन,’ भुषालले भनिन्, 'त्यसपछि म सारा विभेद र हिंसाविरुद्ध लड्न तयार भएँ।'
शारदाले बाल्यावस्थादेखि जसको दमन सहनु पर्यो, तीसँग राजनीतिक शक्ति वा पैसाको आड थियो। उनी बस्ने महोत्तरीको बनौली दनौली गाउँका महिलाले पनि पुरुषबाट हिंसामा पर्नु पर्थ्यो। ती पुरुषको शक्ति श्रोतको सम्बन्ध प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भ्रष्टाचारसँग जोडिन्थ्यो। त्यसैले उनले समस्याको जड ‘भ्रष्ट्राचार’ विरुद्धको अभियान सुरु गरिन्।
अभियान अन्तर्गत पहिलो पटक २०६८, भदौ २५ गतेदेखि असोज ६ गतेसम्म आमरण अनसन बसिन्। दोस्रो अनसन काठमाडौंमा, २०६९ साल फागुन ११ गतेदेखि १९ गतेसम्म बसिन्। ‘न्याय मर्यो’ भन्ने नारासहित २०७० साल माघ ६ गतेदेखि १८ गतेसम्म कपाल मुण्डन गरी कोरामा समेत बसेकी थिइन् उनी।
सूचनाको हकका लागि समेत आवाज बुलन्द बनाएर उभिएकी उनीविरुद्ध भने अझै पनि ‘पागल’को पगरी भिराउने जमात उत्तिकै छ।
+++
२०७२ सालमा उनले पुस्तक ‘धरातल’ सार्वजनिक गरिन्। त्यसमा उनले प्रश्रितसहित आफ्नो परिवार, आफन्तबाट भोग्नु परेको दुर्व्यवहारको नालीबेली उतारिन्। त्यसपछि उनको चरित्र र उद्देश्यमाथि प्रश्न गर्नेहरूको जमात नै उर्लियो।
‘त्यसरी प्रश्न उठ्छ भन्ने थाहा हुँदाहुँदै मैले जे गरें। ठीक गरें भन्ने भयो। पीडक जिउँदो छँदै उसको कुकृत्यबारे बोल्दा त अनेक लाच्छना सहनु पर्यो। उ नरहेपछि मैले आफ्नो अनुभव सुनाएको भए कसले विश्वास गर्नु? ,’ उनले प्रश्न गरिन्।
पुस्तक सार्वजनिक भएपछिको केही समय उनी जुन तनावबाट गुज्रनु पर्यो त्यो सम्झन चाहन्नन्। तर, बिर्सन पनि सक्दिनन्। उनको आत्मकथालाई प्रश्रितले ‘अश्लिल साहित्य’ करार गरे। पत्रकार सम्मेलन गरेरै आफूले ती पुस्तक नियन्त्रणमा लिन प्रशासनसँग आग्रह गरेको बताए।
प्रत्यारोपको गर्जन चर्को बन्दै जाँदा शारदाको चिच्याहट धुमिल भयो।
पहिल्यैदेखि परिवारको साथ नपाएकी शारदा आफ्नो दावीबाट डगमगाइनन्। ‘प्रमाण पेश गर्’ भन्ने पीडकलाई उनले दिएको यातनाको चोट देखाउन सकिनन्। तर, सँगै चुनौती दिइन् – 'आउनुस् पोलिग्राफी मेसिनमा चढौं।'
मेरो चरित्र हत्या गर्न खोजियो : मोदनाथ प्रश्रित
फेरि एक पटक शारदा भुषालको दु:खद् आत्मवृत्तान्त ‘चर्चा’मा आयो। कारण-मोदनाथ प्रश्रित एक प्रतिष्ठित बन्दै गइरहेको पुरस्कारबाट सम्मानित हुने खबर सार्वजनिक भएबाट। प्रश्रितलाई खेमलाल हरिकलालामिछाने प्रतिष्ठानले ३ लाख नगद राशीसहित सम्मान गर्ने बतायो। कारण – उनले नेपाली साहित्यमा पुर्याएको योगदान।
तर, ‘व्यभिचार’को आरोपलागको व्यक्तिको सम्मान गर्ने? भन्दै प्रश्न उठ्यो। सामाजिक सञ्जालमा पद्मश्री साधना सम्मान प्रदान गर्ने प्रतिष्ठानको विरोध भयो।
सँगै घोषणा भएको थियो - पद्मश्री साहित्यकार पुरस्कार, डाक्टर सञ्जीव उप्रेतीलाई। उपन्यास ‘हंश’का लागि। उनले आफूसँगै मोदनाथ प्रश्रित सम्मानित हुन लागेको थाहा पाए पछि पुरस्कार नलिने निर्णय गरे।
‘सञ्जिव उप्रेतीको हिम्मतिलो निर्णय मेरा लागि वर्षौदेखि नपाएको साथ र समर्थन सरह भयो,’ शारदा भुषालले खुशी व्यक्त गरिन्, 'त्यो निर्णयले मलाईमात्र होइन पीडकलाई पनि पक्कै छोयो। उसले अभिव्यक्त गर्ला नगर्ला तर आत्मआलोचना गर्यो कि?’
एकपछि अर्को गर्दै आफ्नो पक्षमा स्टाटस र लेखहरू आएको देखेपछि उनको छट्पटाहट केही कम भयो। बिस्तारै घोषित सम्मानबारे अध्ययन गरिन्। आयोजक उही रहेछन् जसले उनलाई सन् २०१३ मा सोल्टी होटलमा आयोजित ‘महिलाका लागि महिला’ नामक कार्यक्रममा सम्मान प्रदान गरेका थिए।
महिलाका लागि महिला सम्मानमा जीवा लामिछानेसहित सम्मानित महिलाहरु।
प्रश्रित भने आफ्नो नियोजित रुपमा चरित्रहत्या गर्न खोजिएको बताए। उनले आफूविरुद्धको आरोप सबै झुटा भएको दावी पनि गरे। आफू सम्मानित हुन लागेको देखेर कुनै समूह आफूविरुद्ध खनिएको उनको तर्क छ।
घटना चर्किएपछि प्रश्रितले पनि पुरस्कार नलिने निर्णय गरे।
पहिलोपोस्टसँगको कुराकानीमा भने, 'अर्का लेखकले मसँगै नलिने भन्नुभएछ। एउटै मञ्चमा एउटाले लिनेर अर्कोले नलिने राम्रो भएन। मैलेमात्र लिँदा लोभी देखिन्छु।'
एकाएक विवादको घेरामा पर्न पुगे गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा लेखक जीवा लामिछाने पनि।
'पुरस्कार र सम्मान कसलाई गर्ने? भन्ने व्यक्तिगत नभइ सामूहिक निर्णय थियो। तर, कसैको पनि भावना वा संवेदनामा ठेस पुर्याउन चाहेका थिएनौं। हामी प्रतिष्ठानको तर्फबाट क्षमा याचना गर्छौं,' जीवाले भने।
यो विषयमाथि बहस केन्द्रित भइरहँदा प्रतिष्ठानले पुरस्कार नै स्थगित गर्यो।
यो सबै घटनाबीच शारदालाई भने ढिलो चाँडो सत्यको पक्षमा मानिस उभिन्छन् भन्नेमा विश्वास जागेको छ।
सामाजिक अभियानका क्रममा शारदा।
‘त्यस समय पनि मेरो पक्षमा बोलिदिने कोही हुन्थ्यो भने सायद पीडकले सजाय भोग्थ्यो। ढिला भए पनि मानिसहरू बोलिदिए। मविरुद्धको अन्याय सामाजिक मुद्दा बनेको छ। म खुशी छु। बोलिरहन आँट मिलेको छ,’ उनले भनिन्।
शारदा स्वयं भने अन्यायमा परेका र अन्य हिंसाका पीडितहरूको पक्षमा वकालत र उद्धार गर्न सधैं तत्पर छिन्। मंगलवार मात्र साउदीमा फसेका १० मध्ये ७ जना नेपालीलाई नेपाल भित्र्याइन्। बाँकी ३ जना आउँदो साता देश फर्कँदै छन्।
मोदनाथ प्रश्रित सम्बन्धमा प्रश्न गर्दै विभिन्न मेसेज र फोन आइरहेका छन्। तर, उनले जवाफ दिन भ्याएकी छैनन्। नेपाल फर्किएकाहरूको स्वास्थ्य परीक्षण र व्यवस्थापनमा व्यस्त छिन् उनी।
'सबै कुराको जवाफ समयले दिँदै जाँदो रहेछ, त्यसैले धेरै बोलिँन। म बोलेर भन्दा पनि गरेर लैङ्गिक, सामाजिक विभेद विरुद्धको युद्ध जित्न चाहन्छु,’ उनले भनिन्।